डडेल्धुरा । महाभारत पर्वत श्रृंखलाको घना जंगलमा अवस्थित विसाल शिला भएको मन्दिर लाटा गन्यापको शिखर जाँत यस वर्ष भदौ ३१ गते हुने भएको छ । गन्यापधुरा गाउँपालिकामा पर्ने शिखर जाँत प्रत्येक वर्ष भाद्र चतुर्दशीको राति हुने गरेको छ । लाटा गन्यापको विशाल शिला रहेको क्षेत्र गन्यापधुरा गाउँपालिका–४ मा पर्दछ । शिखरको जाँत लाग्ने ‘ठूलो ढुंगा’सम्म पुग्नुभन्दा अगाडि विभिन्न ठाउँ–ठाउँमा दूध ढाल्नेमा दूध, अगरबत्ती तथा फूलपाती चढाएर पूजाआजा गरेर जाने विशेष परम्परा रहेको वडा अध्यक्ष नरेश भट्टले जानकारी दिए ।
शिखर पुग्नु अगाडि गणेपानी ‘खोलामा’ हात खुट्टा धोएर जाने गरिन्छ भने बिहान हिँडेका दर्शनार्थी साँझ ७/८ बजे तिर शिखरको गात भएको मन्दिरमा प’दछन । शिखर जाँतमा ६ वटा गाउँबाट देउरो लैजाने धार्मिक चलन छ । गन्यापधुरा गाउँपालिकाको मालिगाउँ, रुमायलगाउँ, जैसेरागाउँर रेलगाउँ संगै डोटी जिल्लाको शिखर नगरपालिकाको थप्सा र बानी डुग्रेसैनगाउँ बाट संयुक्त रुपमा देउरो लैजाने धार्मिक परम्परा छ । मूल देउरो भने रुमाइल गाउँबाट लगिन्छ ।
देउरो लैजाने क्रममा पनि विभिन्न ठाउँहरूमा दाइन, दमाहा, बंक, घण्टा, भोक्कर, बिगुल बाजागाँजा बजाईन्छन । दमाहा पनि लाटागन्याप देवताबाट विशेष अधिकार प्राप्त दमाइ जातिका व्यक्तिहरूले मात्रै बजाउने गरेका छन्। मेला भर्न जाने दर्शनार्थीले एक साता अगाडिदेखि नै शुद्ध भोजन गर्ने गर्दछन् । यसरी चोखो भोजन संगै उपास बसेर गरि मेलामा सहभागी भइ चोखो मनले मागेको बरदान पूरा हुने धार्मिक विश्वास छ ।
मेला भर्नका लागि डडेल्धुरा, डोटी लगायत सुदूरपश्चिम तथा देशका विभिन्न ठाउँहरूबाट भक्तजनहरू पुग्ने गरेका छन् । जात्रामा गाइने डेउडा, फाग, चैत, धुमारी पनि लाटागन्यापको गाथामा आधारित हुने गरेका छन् ।
सर्पको रुपमा देवता प्रकट भएको किंवदन्ती
पौराणिक मान्यताअनुसार रुमाइल गाउँका आदि पुरुष फुल भाटले पत्नीसहित द्यौझालको घना जंगलमा गएर तपस्या गर्दा ईश्वर खुशी भएर पहेलो सर्पको रुपमा प्रकट भएका थिए । फुल भाटकी श्रीमतीले सर्पलाई कहाँ राख्ने भनी विचार गर्दा धान राख्ने भकारी उपयुक्त हुने ठानी त्यहीँ राखिदिएका थिए ।
त्यसपछि फुल भाटको घरमा अन्नको कमी कहिल्यै नभएको मानिन्छ । फुल भाटकी श्रीमती निष्ठावान भएकाले एकदिन एक जना गाउँले के नै गर्ने रहेछन् भनी जाँच्नका लागि फुल भाटको लौरो चोरेर फुल भाटकी श्रीमतीलाई खाना नकुर्नु भनी खबर पठाएको र प्रमाणका रुपमा लौरो ल्याएको भनी लौरो देखाएको भनिन्छ ।
फुल भाटकी श्रीमतीले विश्वास गरेर खान सुरु गर्दा पति घर पुगेछन् । अनि हतार–हतार थाली कता लुकाउने भनी खोज्दा त्यही धानको भकारीमा हाल्न पुगिन्। त्यसपछि देवताले अपमान भएको ठानी त्यहाँबाट बाहिरिएर गएको किंवदन्ती रहेको स्थानीय बताउँछन् । फेरि दुवै पतिपत्नी पछिपछि माफी माग्दै हिँडेका, देवता शिखरको शिलामा पुगी बिलीन भएका र त्यहीँ भाट दम्पतीले पनि मुक्ति पाएको किंवदन्ती छ ।