डडेल्धुरा । सुदूरपश्चिमका सात पहाडी जिल्ला जोड्ने मुख्य महाकाली राजमार्गको भीमदत्त राजमार्ग खण्ड एकतर्फी रुपमा सञ्चालनमा आएको छ । राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुदूरपश्चिमले दिएको जानकारी अनुसार पहिरोले ठाँउठाउँमा अवरुद्ध भएको राजमार्ग एक तर्फी रुपमा सञ्चालनमा आएको हो ।
यस राजमार्गको कैलाली खण्डमा फल्टुडे, भासु भीर, खानीडाडा लगायतका क्षेत्रमा पहिरो गएको थियो । यस्तै डडेल्धुरा खण्डमा पनि राजमार्ग एकतर्फी रुपमा सुचारु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ । डडेल्धुरा खण्डमा साहुखर्क, मेलखर्क लगायत क्षेत्रमा पहिरो गएको थियो ।
यस्तै डडेल्धुरा डोटी जोड्ने सेती राजगर्मा अन्तरगत केआईसिंह खण्ड भने अहिले पनि पूर्ण रुपमा बन्द रहेको छ । यस राजमार्ग अन्तरगत डडेल्धुराको रडुवामा पहिरो खसेको थियो । पहिलो हटाउन नसक्दा राजमार्ग खुल्न सकेको छैन । यस्तै डोटीको बुडरदेखि जोगबुढा जोड्ने सडक पनि पूर्ण रुपमा बन्द छ । डडेल्धुराको आलिताल गाउँपालिकाको सुनखोलामा पहिरो गएपछि सडक अवरुद्ध भएको थियो ।
यस्तै डडेल्धुराबाट बझाङ र बैतडी जोड्ने सडक भने एकतर्फी रुपमा सुचारु भएका छन । बुधबार रातिदेखि सुरु भएको वर्षा शुक्रबार दिउसोदेखि भने धेरै स्थानमा रोकिएको छ । वर्षा रोकिएपछि तराईका जिल्लामा बाढीको जोखिम पनि कम भएको छ । जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीका अनुसार सबै नदीको बहाव पनि घटेको छ ।