राष्ट्रपति चयनका लागि श्रीलङ्कामा भएको मतदान शान्तिपूर्ण रुपमा सम्पन्न

Image
People wait in line to enter a polling station during voting in Sri Lanka's presidential election in Colombo on September 21, 2024. Cash-strapped Sri Lanka began voting for its next president September 21 in an effective referendum on an unpopular International Monetary Fund austerity plan enacted after the island nation's unprecedented financial crisis. (Photo by Ishara S. KODIKARA / AFP)

कोलम्बो। श्रीलङ्कामा राष्ट्रपति निर्वाचनका लागि शनिबार भएको मतदान शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ । स्थानीय समय अनुसार शनिबार बिहान ७ बजेदेखि शुरु भएको मतदान अपराह्न ४ बजे सम्पन्न भएको हो ।

मतदानका लागि १३ हजारभन्दा बढी मतदान केन्द्र तोकिएको थियो । स्थानीय सञ्चारमाध्यमका अनुसार मतदान प्रक्रियालाई सहज र सुरक्षित बनाउन देशभर व्यापक सुरक्षा व्यवस्था मिलाइएको थियो । यसका लागि करिब ६३ हजार प्रहरी अधिकारीलाई निर्वाचनको लागि तैनाथ गरिएको थियो ।

राष्ट्रपति चुनावमा एक करोड ७० लाखभन्दा बढी व्यक्ति मतदान गर्न योग्य रहेका थिए । यस वर्षको राष्ट्रपतीय निर्वाचनमा वर्तमान राष्ट्रपति रानिल विक्रमासिङ्घे, विपक्षी सामागी जना बलवेगाका साजिथ प्रेमदासा र नेसनल पिपुल्स पावरका अनुरा कुमारा दिसानायकेसहित कुल ३८ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।

कुनै पनि उम्मेदवारलाई चुनाव जित्नका लागि ५० प्रतिशतभन्दा बढी मत आवश्यक पर्छ । यदि कुनै पनि उम्मेदवारले त्यस्तो बहुमत प्राप्त गरेन भने दोस्रो चरणको मतगणना हुन्छ । दोस्रो चरणको मत गणनामा पहिलो चरणको मतदानमा शीर्ष मत पाएका दुई उम्मेदवार मध्ये मतदाताहरुको दोस्रो वा तेस्रो प्राथमिकता सूचीमा रहेका उम्मेदवारको मतगणना गरिन्छ ।

सन् २०१९ को नोभेम्बरमा राष्ट्रपतिको चुनाव जितेका गोटबाया राजपाक्षले सन् २०२२ को जुलाईमा देशमा गम्भीर आर्थिक सङ्कटका बीच भएको आन्दोलनपछि पदबाट राजीनामा दिएका थिए । राजपाक्षेको राजीनामापछि संसदमा भएको निर्वाचनबाट विक्रमासिङ्घे राष्ट्रपति निर्वाचित भएका थिए । राससरसिन्ह्वा