गन्यापको प्रसिद्ध शिखर जाँत आज राती, सर्पको भेसमा गणेश भगवान भएको किंवदन्ती

Image

डडेल्धुरा । प्रत्येक वर्ष भाद्र शुक्लपक्ष पुर्णिमाका धुमधामसंग पूजाआजाका साथ मनाईने लाटा गन्यापधुरा मेलाको औलौगिक धार्मिक आस्था अहिले पनि निसन्तानलाई सन्तान बर्दान हुने जन विश्वास रहिआएको छ । गन्यापधुरा गाउँपालिकाको मुकाम बडालबाट करिब दुई घण्टाको पैदल दुरीमा पुगिने गन्यापधुरा देवस्थलको मेलाका समयमा पुगेर पुजाआजा गर्नाले मनोकामना पुरा हुने गाउँपालिका अध्यक्ष ईन्द्र बहादुर कार्कीले बताए ।

गन्याप देवतालाई बली नचढ्ने भएकाले एक पवित्र धार्मिक स्थलका रुपमा चिनिन्छ । उनले भने, दुधधारी देवता हुन । गन्यापलाई शिवजीको रुपमा लिईन्छ । हामिलाई थाहा छ । सबैले सुनेका पनि छौ सारा सृष्टिको रचयिता भगवान शिव हुन भने उहाँको यस पवित्र देवभुमिमा पुगी पूजाआजा गर्नाले सबै दुःख कष्ट नास भएर जान्छन । भगवानको प्रशादका रुपमा चिताएको फल प्राप्त हुन्छ ।

गन्यापधुरामा रहेको लाटा गन्याप देवतालाई शक्तिशाली देवताका रुपमा लिईन्छ । वडा नं. ४ मा अवस्थित महाभारत पर्वतको अग्लो पहाड र घना जंगलमा बिशाल शिला मूनी रहेको लाटा गन्याप गणेश भगवानले आफ्नो रूप प्रकट गरेको किम्बदन्ति छ । भगवान गणेशले मानव बस्ती गन्यापधुरा–४ रुमायल गाउँबाट उहाँको डोली सजाएर महाभारत श्रृङ्खला शिखरतिर गएको किंवदन्ती सुन्न पाईन्छ ।

डाणागन्तिका हिसाबले गनेर लाग्ने मेला विशेष गरि प्रत्येक वर्ष भाद्र चतुर्दशीको दिन लाग्ने गर्दछ । राती लाग्ने धार्मिक शिखर मेलाको आफ्नै महत्व र गौरव छ । शिखरको गात ‘ठूलो ढुंगा’ सम्म पुग्नुभन्दा अगाडि विभिन्न ठाउँ–ठाउँमा दूध ढाल्नेमा दूध, अगरबत्ती तथा फूलपाती चढाएर पूजाआजा गरेर जाने विशेष परम्परा रहेको छ । शिखर पुग्नु अगाडि गणेपानी ‘खोलामा’ हात खुट्टा धोएर जाने गरिन्छ भने बिहान हिँडेका दर्शनार्थी साँझ ७-८ बजे तिर गात शिखरमा पुग्ने गर्दछन ।

शिखरमा ६ गाउँबाट देउरो जाने गर्दछन । गन्यापधुरा गाउँपालिकास्थित मालिगाउँ, रुमायल, जैसेरा, रेल, डोटीको शिखर नगरपालिकाको थप्सा र बान्डुग्रीशैनबाट संयुक्त रुपमा देउरो जाने परम्परा रहेको छ । नेजा ध्वजासहितको देउरो लैजाँदा विभिन्न ठाउँहरूमा दाइन, दमाहा, शंक, घण्टा, बिगुल तथा भोक्करहरू बजाएर लैजाने गरिन्छ । दमाहा पनि लाटागन्याप देवताबाट विशेषाधिकार प्राप्त दमाइ जातिका व्यक्तिहरूले मात्रै बजाउने गरेको गन्यापका धामी जयराज भट्टले जानकारी दिए ।

मेला भर्नकालागि जाने दर्शनार्थीले साता अगाडिदेखि नै शुद्ध खानेकुरा खाने गर्दछन । माछा, मासु, अण्डा, प्याज, लसुनसमेत नखाई चोखो खाना खाएर उपासना गरि मेलामा सहभागी भइ चोखो मनले मागेको वरदान पूरा हुने धार्मिक विश्वास रही आएको छ ।

मेला भर्नको लागि डडेल्धुरा, डोटी लगायत सुदूरपश्चिम तथा देशका विभिन्न ठाउँहरूबाट भक्तजनहरू आउने गरेको गन्यापका दोरिया हरिलाल भट्टले बताए । जाँतमा गाइने देउडा, फाग, चैत, धुमारी पनि लाटागन्यापको गाथामा आधारित हुने गरेका उनको भनाइ छ ।

गन्याप मन्दिरको किंवदन्ती

पहिलेदेखि नै यो क्षेत्र कान्छो खप्तड भनरे चिनिन्छ । गन्याप मन्दिरको निर्माण कहिले भएको हो भन्ने प्रमाण छैन । तर, किंवदन्ती अनुसार रुमाइल गाउँमा भगवान गणेशको जन्म भएको र पछि गणेश ठूलो भएर त्यस क्षेत्रबाट सर्पको भेषमा हाल गन्याप मन्दिर भएको ठाउँ शिखरमा गई विलिन भएको बताइन्छ । शिखरमा भएको बिशाल शिलाको चारै तिर अहिले पनि सर्पको आकृति देख्न सकिन्छ ।

पछि गन्यापधुरा गाउँपालिकाको रेल भन्ने गाउँका एक जना पार्की जाती स्थानीय निगालो काट्न जाँदा त्यहाँ रहेको ढुङ्गामा हसिँया रगड्दै आरन लगाउँदा ढुङगोबाट लगातार रगत बगेको र त्यही भगवान उत्पत्ति भएको किंवदन्ती रहेको छ ।

ढुङ्गोबाट लगातार रगत बगेपछि ती पार्की गाउँमा गएर आफन्तलाई बोलाए । त्यहाँ गएर एक जना स्थानीयले त्यस ढुङ्गोमा फूल चढाए । ती पार्कीले आफूले लगाएको टोपीले ढुङ्गोबाट बगिरहेको रगत रोके । रेल र रुमाइल गाउँका सबै भेला भएर त्यो ठाउँमा त्यस दिनदेखि पूजापाठ सुरु गरेको किम्बदन्ति छ ।

डडेल्धुरा मात्रै नभई डोटीको घण्टेश्वरदेखि लोखाडी गाडसम्मका बासिन्दालेसमेत आराध्य देवताका रुपमा पूजाअर्चना गर्ने गन्याप मन्दिर महाभारत पर्वत श्रृंखलाको अति रमणीय स्थलमा रहेको छ । गन्यापको पूजा गर्नका लागि रेलका पुजारी, रुमाइल र मालीगाउँबाट धामी अहिले पनि आउने गरेको वडा नं. ४ का वडा अध्यक्ष नरेश भट्टले जानकारी दिए ।

यो परम्परा अहिले नभएर पुर्खौ देखि नै चल्दै आईरहेको उनको भनाइ छ । उनका अनुसार यो मन्दिरमा पूजापाठ गर्न त्यहाँका देउवा र बाह्विसी बलायरहरुको आफ्नै महत्व छ ।

दर्शन गरे मनोकामना पूर्ण हुने

गन्याप मन्दिरको दर्शन गरे मनोकामना पूरा हुने जनविश्वास रहिआएको छ । कसैको सन्तान नभएमा त्यहाँ गएर पूजापाठ गरे सन्तान प्रदान हुने जनविश्वास छ । अहिले पनि छोरा नभएकोले त्यहाँ गएर भगवानसँग छोरा माग्ने गरेको स्थानीय बताउँछन ।

डोटीको बानडुग्रीसैनका कुनै पनि बलायरको छोरा थिएनन् । त्यहाँ गएर पूजापाठ गर्दा छोरा भएको इतिहास छ । अहिले पनि ‘क्यारु पुसाई अपुती रैगई कोल’ भन्ने टुक्का त्यस क्षेत्रका स्थानीयले खेल खेल्ने बेला पनि गाउने गरेका छन । गन्याप मन्दिरको दर्शन गरे मनोकामना पूरा भएपछि अहिले पनि पूजापाठ गर्न दैनिक थुप्रै आस्थावान श्रद्धालु भक्तजन हिँडेर त्यहाँ पुग्ने गरेका छन ।

यहाँ मेला भर्न डोटी, डडेल्धुरा, बैतडी, अछाम, बझाङलगायत सुदूरपहाडका विभिन्न जिल्ला तथा भारतबाट समेत हजारौँ दर्शनार्थी मेला भर्न आउने गरेका छन । रुमायलबाट मूल देउरो मन्दिरमा आउँछ र देउरो आएपछि यहाँ पूजापाठ हुने गर्दछ । पूजा सकिएको दोस्रो दिन फेरी देउरो आ–आफ्नो भ्राण (भण्डार)मा फिर्ता हुने स्थानीय लोकेन्द्र पनेरुले बताउनुभयो । उहाँका अनुसार यहाँ बाह्विसी र छविसीको फरकफरक पूजापाठ लाग्ने गर्दछ ।

भाट–भटेनीको विशेष महत्व

‘भाट भटेनीको छोडेछ नाउँ’
चल गोसाईं गणपति शिखर जाउँ’

पौराणिक मान्यता अनुसार रुमाइलगाउँका आदि पुरुष फूल भाटले पत्नीसहित द्यौझालको घना जंगलमा गएर तपस्या गर्दा ईश्वर खुशी भएर पहेलो सर्पको रुपमा प्रकट भएको विश्वास छ । अनि फूल भाटकी श्रीमतिले सर्पलाई कहाँ राख्ने भनि विचार गर्दा धान राख्ने भकारी उपयुक्त हुने ठानी त्यहिँ राखि दिईन । त्यसपछि फूलभाटको घरमा अन्नको कमी कहिल्यै नभएको मानिन्छ ।

फूल भाटकी श्रीमती निष्ठावान थिईन । एकदिन एकजना गाउँलेले के नै गर्ने रहेछन् भनी जाँच्न फूल भाटको लौरो चोरेर लगे । फूल भाटकी श्रीमतीलाई फूलभाटले खाना नकुर्नु भनी खबर पठाएको थियो । प्रमाणका रुपमा लौरो ल्याएको भनी लौरो देखाएछन । फूल भाटकी श्रीमतिले विश्वास गरेर एक्लै खाना खान सुरु गर्दा पति घर पुगेछन । अनि हतार–हतार जुठो थाल कता लुकाउने भनि खोज्दा त्यही धानको भकारीमा हाल्न पुगिन । त्यसपछि देवताले अपमान भएको भनी ठानेर त्यहाँबाट बाहिरिएर गएको किंवदन्ती रहेको स्थानीय बताउँछन ।

फेरि दुबै पतिपत्नी पछिपछि माफी माग्दै हिँडेछन । अनि देवता शिखरको शिलामा पुगी बिलीन भएछन । त्यहीं भाट दम्पतीले पनि मुक्ति पाएको किंवदन्ती छ । शिखरको गात ‘ठूलो ढुंगामा’ अझै पनि नाग देवता हिँडेको छाप देख्न सकिन्छ ।