प्रधानमन्त्री ओलीलाई फोन गरि देउवाले भने सामाजिक सञ्जाल खोलेको निर्णय गर्नू

Image

काठमाडौं । सत्तारूढ नेपाली कांग्रेसले सामाजिक सञ्जाल पुनः सञ्चालन गर्नुपर्ने निर्णय गरेको छ । सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा सोमबार साँझ बसेको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकले गत बिहीबार बन्द गरिएका सामाजिक सञ्जाल सरकारले पूर्ववत अवस्थामा चल्न दिने निर्णय गर्नुपर्ने निर्णय गरेको हो ।

महामन्त्री विश्वप्रकाश शर्माका अनुसार सामाजिक सञ्जाल पूर्ववत अवस्थामा चल्न दिनुपर्ने निर्णय कांग्रेसले गरेको छ र यो निर्णय प्रधानमन्त्री केपी शर्मा ओलीलाई जानकारीसमेत गराइसकिएको छ । सभापति देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई फोन गरेर सामाजिक सञ्जाल पूर्ववत अवस्थामा चल्न दिने निर्णय गर्न आग्रह गरेका हुन् ।

सभापति देउवाले आजकै मन्त्रिपरिषद बैठकबाट सामाजिक सञ्जाल पूर्ववत अवस्थामा चल्न दिने निर्णय लिन प्रधानमन्त्री ओलीलाई आग्रह गरिसकेको महामन्त्री शर्माले जानकारी दिए । मन्त्रिपरिषदको बैठक अहिले बालुवाटारमा बसिरहेको छ।

गत बिहीबार सरकारले नेपालमा दर्ता गर्न नआएका फेसबुकसहित २६ सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेको थियो । त्यसविरूद्ध र भ्रष्टाचारविरूद्ध जेनजीले काठमाडौं र देशका प्रमुख सहरहरूमा सोमबार प्रदर्शन गरेका थिए । उक्त प्रदर्शनमा काठमाडौं र इटहरीमा गरी अहिलेसम्म १९ जनाको मृत्यु भइसकेको छ।

साथै कांग्रेस बैठकमा गृहमन्त्री रमेश लेखकबारे पनि छलफल भएको छ। केही नेताहरूले गृहमन्त्री लेखकले पदबाट राजीनामा दिनुपर्ने बताइरहेका छन् । यसबारे कांग्रेसले छलफल गरिरहेको र आजै केही निर्णय लिन सक्ने एक पदाधिकारीले जानकारी दिए।

केन्द्रीय सदस्य गोविन्दराज पोखरेलले गृहमन्त्रीको राजीनामा मागेका छन् । ‘गृहमन्त्रीले तुरून्तै राजीनामा दिनुपर्‍यो । यदि नदिए पार्टीले तुरून्तै फिर्ता बोलाउनु पर्यो,’ उनले भने । पोखरेलले ओली नेतृत्वको सरकार छाड्नुपर्नेसमेत बताएका थिए ।