काठमाडौं । दोस्रो दिनको प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीले प्रमुख दलका प्रमुख नेतृत्व निवास लक्षित गरेका छन् ।
प्रशासनले बिहानैदेखि कर्फ्यु आदेश जारी गरेपनि प्रदर्शनकारीले अवज्ञा गरेका छन् । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास अघि प्रदर्शन भएको छ ।
देउवा निवास बुढानीलकण्ठस्थित देउवा चोकमा र प्रचण्ड निवास खुमलटारमा प्रदर्शन गरेका छन् । सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङ निवास सुनाकोठीमा पनि प्रदर्शन भइरहेको छ ।
सरकारको दमनमा १९ जनाको ज्यान जानेगरी भएको घटनाको विरोधमा देशव्यापी प्रदर्शन भइरहेको छ । प्रदर्शनकारीहरुले सबै सहरका चोक चोकमा टायर बालेर प्रदर्शन गरेका छन् । उनीहरुले नेता निवास र सरकारी कार्यालयहरुलाई निसाना बनाइरहेका छन् ।
मंगलबार बिहान सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङको ललितपुर सुनाकोठीस्थित घरमा आन्दोलनकारीले आगजनी गरेका छन् । माओवादी अध्यक्ष पुष्पकमल दाहालको निवास खुमलटारमा तोडफोड भएको छ । उनको निवास अघिको प्रहरी बिटमा आगजनी गरेका छन् ।
रौतहटको चन्द्रपुर नगरपालिकामा आन्दोलनकारीले आगजनी गरेका छन् । सोमबार सुनसरीको इटहरी नगरपालिकामा आन्दोलनकारी आगजनी गरेका थिए ।
काठमाडौं, भक्तपुर, ललितपुर लगायतका धेरै जिल्लाहरुमा कर्फ्यू तोड्दै आन्दोलनकारीले प्रदर्शन गरिरहेका छन् । चोक(चोकमा टायर बालेर सरकारविरुद्ध नाराबाजी गरिरहेका छन् ।