नेपालीलाई भारत प्रवेशमा रोक

Image

कैलाली । सुदूरपश्चिको प्रमुख नाका गौरीफन्टाबाट भारत प्रवेशमा नेपालीलाई रोक लगाइएको छ । नेपालमा भएको पछिल्लो घटनाका कारण गौरीफन्टा नाकाबाट नेपाली नागरिकलाई भारत प्रवेशमा रोक लगाइएको हो ।

गड्डाचौकी र गौरीफन्टा नाकाबाट भारत प्रवेश गर्न खोजेका नेपालीलाई भारतीय सशस्त्र सीमा बल (एसएसबी) ले फर्काएको भारत जाँदैगरेका अछामका दीपक साउँदले बताए । नेपालको पछिल्लो स्थितिलाई मध्यनजर गर्दै भारतले नेपाली नाकाहरूमा कडाइ गरेको छ । नेपालसँग जोडिएका नाकाहरूबाट आधार कार्डबिना प्रवेशमा रोक लगाएको हो ।

भारत तर्फबाट प्राप्त आदेशका आधारमा रोक लगाइएको र नेपालका विभिन्न कारागारबाट कैदीबन्दी भागेपछि उनीहरू सीमा हुँदै भारत पस्न सक्ने आशङ्काले सुरक्षामा कडाइ गरिएको बताइन्छ । जसका कारण विभिन्न कामले भारत प्रवेश गर्ने नेपालीहरू नाकामै रोकिएका छन् । भारतमै बसोवास गरिरहेका नेपालीहरू गन्तव्य तर्फ जान नपाएपछि समस्यामा परेका छन् ।

भारतबाट नेपाल प्रवेश गर्नेहरूलाई समेत कडा चेकजाँच गरिन थालिएको छ । नेपालको पछिल्लो परिस्थितिलाई मध्यनजर गर्दै नेपाल आउनेहरूमाथि कडा चेकजाँच गरिएको स्वदेश फर्किएका नेपालीको गुनासो छ ।

यसैबिच कैलालीमा सेना परिचालन गरिएको छ । बुधबार बिहानैदेखि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले संयुक्त रूपमा बजार तथा आसपासका क्षेत्रमा गस्ती बढाएका छन् । अत्यावश्यक काम बाहेक सर्वसाधारणलाई घरबाहिर ननिस्कन आग्रह गरिएको छ ।