काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो महिना साउनमा नेपालमा उपभोक्ता मुद्रास्फीति ५.९६ प्रतिशत पुगेको छ। गत वर्षको साउनमा यस्तो मुद्रास्फीति १.६८ प्रतिशत मात्रै थियो। एक वर्षको अवधिमा उपभोक्ता मुद्रास्फीतिको दर उल्लेख्य रूपमा बढेको हो।
नेपाल राष्ट्र बैंकका अनुसार साउनमा खाद्य तथा पेय पदार्थसँगै गैरखाद्य वस्तु तथा सेवाको मूल्यसमेत बढेको छ। विशेषगरी दैनिक उपभोग्य खाद्यवस्तु र यातायात क्षेत्रको मूल्यवृद्धिले उपभोक्तामाथि थप दबाब सिर्जना गरेको छ।
राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार साउनमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ६.७७ प्रतिशत पुगेको छ। गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति ५.५२ प्रतिशत रहेको छ।
खाद्य तथा पेय पदार्थअन्तर्गत सबैभन्दा धेरै घिउ तथा तेलको मूल्य बढेको छ। घिउ तथा तेलको मूल्य १५.६२ प्रतिशतले वृद्धि भएको राष्ट्र बैंकको तथ्यांक छ। त्यस्तै फलफूलको मूल्य १५.३९ प्रतिशत, माछा तथा मासुको ८.६५ प्रतिशत, तरकारीको ६.९० प्रतिशत र मरमसलाको मूल्य ४.८० प्रतिशतले बढेको छ।
दैनिक भान्सामा प्रयोग हुने वस्तुको मूल्य बढ्दा यसको प्रत्यक्ष असर उपभोक्ताको खर्चमा परेको छ। विशेषगरी घिउ–तेल, फलफूल, माछा–मासु र तरकारीको मूल्यवृद्धिले खाद्य खर्च बढाएको देखिन्छ।
यातायातमा सबैभन्दा बढी दबाब
गैरखाद्य तथा सेवा समूहमा यातायात क्षेत्रको मूल्यवृद्धि सबैभन्दा धेरै छ। साउनमा यातायातसम्बन्धी मूल्य १३.१७ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ।
त्यस्तै मदिराजन्य पेय पदार्थको मूल्य ७.२० प्रतिशत, कपडा तथा जुत्ताचप्पलको ५.५२ प्रतिशत र सुर्तीजन्य पदार्थको मूल्य ४.९७ प्रतिशतले बढेको छ।
यातायातको मूल्यवृद्धिले यात्रु भाडादेखि मालसामान ढुवानीसम्मको खर्चमा प्रभाव पार्ने भएकाले यसको अप्रत्यक्ष असर अन्य वस्तु तथा सेवाको मूल्यमा समेत पर्न सक्छ।
सहरभन्दा गाउँमा महँगी बढी
राष्ट्र बैंकको तथ्यांकले सहरी क्षेत्रको तुलनामा ग्रामीण क्षेत्रमा उपभोक्ता मूल्यवृद्धि बढी भएको देखाएको छ।
साउनमा ग्रामीण क्षेत्रको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकांक ६.१८ प्रतिशतले बढेको छ। सहरी क्षेत्रमा भने यस्तो वृद्धि ५.८८ प्रतिशत रहेको छ।
यसले गाउँमा उपभोग हुने वस्तु तथा सेवाको मूल्यवृद्धिको दबाब सहरको तुलनामा केही बढी रहेको देखाउँछ।
मधेसमा उच्च, सुदूरपश्चिममा न्यून
प्रदेशगत रूपमा हेर्दा साउनमा सबैभन्दा धेरै मुद्रास्फीति मधेस प्रदेशमा देखिएको छ। मधेसमा उपभोक्ता मूल्यवृद्धि ६.९४ प्रतिशत रहेको छ।
त्यसैगरी काठमाडौं उपत्यकामा ४.८१ प्रतिशत, तराईमा ६.६४ प्रतिशत, पहाडी क्षेत्रमा ५.९५ प्रतिशत र हिमाली क्षेत्रमा ५.१० प्रतिशत मूल्यवृद्धि भएको छ।
प्रदेशगत तथ्यांकमा सुदूरपश्चिममा मुद्रास्फीति सबैभन्दा कम ४.६१ प्रतिशत रहेको छ।
समग्रमा साउनको तथ्यांकले नयाँ आर्थिक वर्षको सुरुवातमै उपभोक्ताले खाद्यान्न, यातायात तथा दैनिक उपभोग्य वस्तुमा मूल्यवृद्धिको दबाब खेप्नुपरेको देखाएको छ। राष्ट्र बैंकले उपभोक्ता मुद्रास्फीति मापनका लागि विभिन्न वस्तु तथा सेवाको मूल्य संकलन गरी उपभोक्ता मूल्य सूचकांकमा आएको वार्षिक बिन्दुगत परिवर्तनलाई आधार बनाउने गरेको छ।












