कांग्रेस डडेल्धुरामा गुटको छायाः एक पक्ष ३ गतेको वडा अधिवेशनमा, अर्को १५ गतेको तयारीमा

Image

डडेल्धुरा । नेपाली कांग्रेसको केन्द्रीय तहमा देखिएको विभाजनको असर पूर्वप्रधानमन्त्री तथा निवर्तमान पार्टी सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा समेत देखिएको छ। पार्टीको १५औँ महाधिवेशनअन्तर्गत वडा अधिवेशनलाई लिएर जिल्लामा कांग्रेसका नेताहरू दुई धारमा विभाजित भएका छन्।

गगन थापा नेतृत्वको केन्द्रीय कार्यसमितिले तय गरेको असोज ३ र ४ गतेको वडा अधिवेशनमा जिल्ला सभापति भीमबहादुर साउदसहित केही नेता तथा कार्यकर्ता सहभागी भएका छन्। उता देउवा पक्षले छुट्टै तय गरेको असोज १५ गतेको वडा अधिवेशनमा जिल्ला उपसभापति डिल्लीराज जोशी, लक्ष्मीप्रसाद अवस्थी, सचिव शेर भण्डारी, कोषाध्यक्ष सरस्वती खड्कालगायत जिल्ला तहका पदाधिकारी तथा नेताहरू सहभागी हुने तयारीमा छन्।

कांग्रेसको केन्द्रीय विवादको प्रभाव जिल्ला संगठनमा समेत देखिएपछि डडेल्धुरामा एउटै पार्टीका लागि दुईवटा वडा अधिवेशन हुने अवस्था बनेको हो।

केन्द्रीय तहमा विशेष महाधिवेशनबाट गगन थापा नेतृत्वको कार्यसमिति आएपछि त्यसको वैधता र त्यसपछि हुने १५औँ महाधिवेशनको प्रक्रियालाई लिएर देउवा पक्ष र थापा पक्षबीच विवाद छ। देउवा पक्षले असोज ३ गतेदेखि सुरु हुने अधिवेशन प्रक्रियामा सहभागी नहुन आह्वान गरेको छ भने थापा नेतृत्वले निर्धारित कार्यतालिकाअनुसार वडा अधिवेशनमा सहभागी हुन आग्रह गरेको छ।

जिल्ला बैठकमै देखियो मतभेद

असोज १ गते जिल्ला सभापति भीमबहादुर साउदको अध्यक्षतामा बसेको जिल्ला कार्यसमिति बैठकमा समेत वडा अधिवेशनको मितिलाई लिएर नेताहरूबीच मतभेद देखिएको थियो। बैठकमा केही नेताले असोज ३ गते हुने अधिवेशनमा सहभागी हुनुपर्ने, केहीले असोज १५ गतेको अधिवेशनलाई मान्यता दिनुपर्ने र केहीले दुवै प्रक्रियामा सहभागी नहुने धारणा राखेको नेताहरूले बताएका छन्।

सहमति नजुटेपछि शनिबार जिल्ला उपसभापति डिल्लीराज जोशीको अध्यक्षतामा छुट्टै बैठक बसेको थियो। उक्त बैठकमा जिल्ला कार्यसमितिका बहुमत पदाधिकारी, महाधिवेशन प्रतिनिधि तथा महासमिति सदस्यहरू सहभागी भएको र असोज १५ गतेको वडा अधिवेशनमा सहभागी हुने निर्णय गरिएको बताइएको छ।

जोशी पक्षका नेताहरूले जिल्ला सभापतिको अध्यक्षतामा बसेको बैठकले स्पष्ट निर्णय गर्न नसकेको र त्यसपछि आफूहरूले छुट्टै छलफलमार्फत असोज १५ गतेको अधिवेशनमा सहभागी हुने निर्णय गरेको बताएका छन्।

यता जिल्ला सभापति साउद पक्षका नेताहरू भने असोज ३ गतेदेखि सुरु भएको अधिवेशन प्रक्रियामा सहभागी भएका छन्। शनिबार डडेल्धुरामा निर्धारित वडा अधिवेशनसम्बन्धी गतिविधि अघि बढ्नुअघि नै नेताहरूबीच छुट्टाछुट्टै छलफल चलेको थियो।

देउवाका विश्वासपात्र नै फरक धारमा

डडेल्धुराको कांग्रेसभित्र अहिलेको विवादलाई थप रोचक बनाउने पक्ष के छ भने विगतमा देउवासँग निकट सम्बन्ध राख्दै आएका केही नेताहरू नै अहिले फरक धारमा देखिएका छन्। पूर्वस्वकीय सचिव गोविन्दराज बोहरा र पूर्वजिल्ला सभापति रघुवर भट्टलगायत नेताहरू असोज ३ गतेको अधिवेशन प्रक्रियामा सहभागी भएका छन्।

बोहरा देउवा प्रधानमन्त्री हुँदा उनका स्वकीय सचिवका रूपमा काम गरेका नेता हुन्। २०७४ सालको पहिलो प्रदेशसभा निर्वाचनमा डडेल्धुराको क्षेत्र नं. २ बाट प्रदेशसभा सदस्य निर्वाचित भएर सुदूरपश्चिम प्रदेश सरकारमा सामाजिक विकासमन्त्रीसमेत भएका थिए।

पूर्वजिल्ला सभापति भट्ट पनि लामो समय देउवानिकट नेताका रूपमा चिनिँदै आएका थिए। उनी जिल्ला विकास समितिको सभापति तथा नेपाली कांग्रेस डडेल्धुराका दुई कार्यकाल जिल्ला सभापति भएका थिए। २०७४ सालको निर्वाचनमा प्रदेशसभा क्षेत्र नं. १ बाट उम्मेदवार बने पनि पराजित भएका थिए।

यस्तै, जिल्ला सभापति भीमबहादुर साउद पनि लामो समयदेखि देउवा निकट नेताका रूपमा चिनिँदै आएका छन्। उनी २०७४ सालको स्थानीय तह निर्वाचनमा परशुराम नगरपालिकाको प्रमुख निर्वाचित भएका थिए। तर अहिले देउवा पक्ष र थापा नेतृत्वको पक्षबीच देखिएको विवादमा डडेल्धुराका नेताहरू पुरानो राजनीतिक समीकरणअनुसार एउटै ठाउँमा देखिएका छैनन्।

‘देउवाबाट लाभ लिएका अहिले उनकै विरुद्ध’

देउवा निकट रहेर विगतमा राजनीतिक अवसर पाएका नेताहरू अहिले देउवाको पक्षमा नउभिएको भन्दै जिल्लाका कांग्रेस कार्यकर्ताबीच आलोचना पनि सुरु भएको छ। केही नेता तथा कार्यकर्ताले विगतमा देउवाबाट राजनीतिक अवसर तथा जिम्मेवारी पाएका नेताहरूले अहिले उनको साथ छाडेको आरोप लगाएका छन्। विशेषगरी पछिल्लो राजनीतिक घटनाक्रममा देउवा पक्षले उठाएका विषयमा जिल्लाका नेताहरूको भूमिकालाई लिएर सामाजिक सञ्जाल तथा पार्टीभित्रै प्रश्न उठ्न थालेको उनीहरूको भनाइ छ।

जेन्जी आन्दोलनका क्रममा देउवा दम्पतीमाथि भएको हातपातको घटनामा जिल्ला नेतृत्वले पर्याप्त राजनीतिक प्रतिक्रिया नदिएको आरोपसमेत केही कार्यकर्ताले लगाएका छन्।

‘गुटको पछि होइन, अधिवेशनमा जाऔँ’

कांग्रेस महाधिवेशन प्रतिनिधि तारक बुढाएरले भने गुटगत विवादभन्दा पार्टीको अधिवेशनलाई प्राथमिकता दिनुपर्ने बताएका छन्। उनका अनुसार कांग्रेसका नेता तथा कार्यकर्ताले कुनै एउटा समूहको पछि लाग्नुभन्दा पार्टीको संस्थागत प्रक्रियामा सहभागी भएर आफ्नो मत र प्रतिनिधि छनोट गर्नुपर्ने अवस्था हो।

उनले असोज १५ गते हुने भनिएको वडा अधिवेशनलाई विशेष महत्व दिँदै जिल्लाका कांग्रेस कार्यकर्तालाई उत्साहका साथ सहभागी हुन आग्रह गरेका छन्।

‘१५ गतेको अधिवेशनमा सहभागी हुनुपर्छ’

जिल्ला उपसभापति डिल्लीराज जोशीले भने असोज १५ गते हुने वडा अधिवेशनलाई आधिकारिक प्रक्रियाका रूपमा अघि बढाउनुपर्ने बताएका छन्। उनले पछिल्लो राजनीतिक घटनाक्रमपछि गगन थापा नेतृत्वको समूहले पार्टीलाई वडास्तरसम्मै दुई धारमा विभाजित गर्ने अवस्था सिर्जना गरेको आरोप लगाए।

जोशीले लोकतान्त्रिक आन्दोलनमा लामो योगदान गरेका सभापति शेरबहादुर देउवालाई साथ दिनुपर्ने धारणा राख्दै असोज १५ गतेको अधिवेशनमा सहभागी हुन कांग्रेस कार्यकर्तालाई आह्वान गरेका छन्। उनका अनुसार कांग्रेसभित्रको विवाद संवाद र सहमतिबाट समाधान गरेर पार्टीलाई एकताबद्ध बनाउनुपर्ने आवश्यकता छ।

एउटै जिल्लामा दुई अधिवेशनको प्रश्न

कांग्रेसको केन्द्रीय विवादको प्रभाव डडेल्धुरामा स्पष्ट रूपमा देखिएको छ। एकातर्फ असोज ३ र ४ गते वडा अधिवेशन सुरु भएको छ भने देउवा पक्षले असोज १५ गतेदेखि समानान्तर अधिवेशन गर्ने तयारी गरेको छ। देउवा पक्षले असोज १५ गते वडा, असोज २० गते पालिका, असोज २३ गते क्षेत्रीय, कात्तिक १५ गते जिल्ला र मंसिर ४ गते प्रदेश अधिवेशन गर्ने प्रस्ताव अघि सारेको छ।

थापा नेतृत्वको पक्षले भने असोज ३ र ४ गते वडा अधिवेशन, त्यसपछि निर्धारित तहगत अधिवेशन हुँदै असोज १६ देखि १९ गतेसम्म केन्द्रीय महाधिवेशन गर्ने कार्यतालिका अघि बढाएको छ। कांग्रेसको केन्द्रीय निर्वाचन समितिले पनि असोज ३ र ४ गते वडा तहको निर्वाचन कार्यक्रम सुरु हुने जनाएको छ।

यसले डडेल्धुरामा अबको प्रश्न केवल ‘कुन नेताको पक्षमा को?’ भन्नेमा सीमित नरही एउटै जिल्लामा हुने दुई अधिवेशनमध्ये पार्टीका कार्यकर्ता र तल्लो तहको संगठन कुन प्रक्रियामा जाने भन्ने बनेको छ। देउवा स्वयंले असोज ३ गतेदेखि सुरु हुने अधिवेशनमा सहभागी नहुन अपिल गरेका छन्। अर्कोतर्फ सभापति गगन थापाले कुनै अलमलमा नपरी असोज ३ र ४ गतेको वडा अधिवेशनमा सहभागी हुन आग्रह गरेका छन्।

यसरी देउवाको गृहजिल्ला डडेल्धुरामा समेत कांग्रेसको आन्तरिक विवाद वडा तहसम्म पुगेको छ। अबको अधिवेशन प्रक्रियाले जिल्लामा लामो समयदेखि प्रभावशाली मानिएका नेताहरूको राजनीतिक समीकरणसमेत फेरिने वा नयाँ रूपमा ध्रुवीकृत हुने संकेत गरेको छ।