डडेल्धुरा । बजारमा प्रतिकेजी १५० रुपैयाँमा बिक्री भइरहेको चिनी साल्ट ट्रेडिङ कर्पोरेसनको सुपथ मूल्य पसलमा १०० रुपैयाँमै पाइन थालेपछि डडेल्धुरामा उपभोक्ताको लामो लाइन लाग्न थालेको छ । दसैँ, तिहार र छठजस्ता ठूला चाडपर्व नजिकिएसँगै सञ्चालन गरिएको सुपथ मूल्य पसलमा चिनी किन्न बिहानैदेखि उपभोक्ताको भीड लाग्ने गरेको हो ।
अमरगढी नगरपालिका–५ तुफानडाँडास्थित साल्ट ट्रेडिङ कर्पोरेसनको बिक्री केन्द्रमा बजार मूल्यभन्दा प्रतिकेजी ५० रुपैयाँ सस्तोमा चिनी पाइएपछि उपभोक्ताको आकर्षण बढेको छ । चाडपर्वका बेला घरायसी खर्च बढ्ने भएकाले सहुलियत मूल्यमा खाद्यान्न पाउँदा उपभोक्तालाई राहत भएको छ ।
साल्ट ट्रेडिङ कर्पोरेसन डडेल्धुरा शाखाले असोज ६ गतेदेखि चाडपर्व लक्षित सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको हो । पसलबाट चिनी, नुन, खानेतेल, दाललगायत दैनिक उपभोग्य वस्तु बजार मूल्यभन्दा सहुलियत दरमा बिक्री भइरहेको छ ।
सुपथ मूल्य पसलमा चिनी प्रतिकेजी १०० रुपैयाँमा बिक्री भइरहेको छ । बजारमा सोही चिनी प्रतिकेजी करिब १५० रुपियाँमा बिक्री हुने भएकाले उपभोक्ताले प्रतिकेजी ५० रुपैयाँसम्म बचत गर्न सक्ने अवस्था छ । त्यस्तै नुनमा प्रतिकेजी दुई रुपैयाँ तथा खानेतेल र दाललगायतका वस्तुमा प्रतिकेजी वा प्रतिलिटर सात रुपैयाँसम्म छुटको व्यवस्था गरिएको छ ।
सहुलियत मूल्यमा चिनी बिक्री हुन थालेपछि एकै परिवारका लागि आवश्यकभन्दा बढी खरिद हुन नदिन प्रतिव्यक्ति चिनी बढीमा पाँच केजीसम्म मात्र बिक्री गर्ने व्यवस्था गरिएको छ । नुन भने प्रतिव्यक्ति छ केजीसम्म खरिद गर्न सकिने साल्ट ट्रेडिङले जनाएको छ ।
साल्ट ट्रेडिङ कर्पोरेसन डडेल्धुराका प्रमुख देवबहादुर पालका अनुसार सुपथ मूल्य पसलमा दैनिक चारदेखि पाँच सयको हाराहारीमा उपभोक्ता सामान खरिद गर्न आउने गरेका छन् ।
उनका अनुसार उपभोक्ताको पहिचानका लागि नागरिकता वा अन्य सरकारी परिचयपत्रका आधारमा खाद्यवस्तु बिक्री भइरहेको छ । “चाडपर्वको समयमा दैनिक उपभोग्य वस्तुको माग बढ्ने भएकाले उपभोक्तालाई सहुलियत दरमा आवश्यक सामग्री उपलब्ध गराउने उद्देश्यले सुपथ मूल्य पसल सञ्चालन गरिएको हो,” उनले भने ।
चाडपर्व नजिकिँदै गर्दा बजारमा दैनिक उपभोग्य वस्तुको माग बढेको छ । यही समयमा सुपथ मूल्य पसलबाट चिनीमा प्रतिकेजी ५० रुपैयाँसम्मको अन्तर देखिएपछि उपभोक्ताको आकर्षण बढेको हो । पसलमा चिनी खरिद गर्न आउने उपभोक्ताको सङ्ख्या बढेपछि कतिपय समयमा लामो लाइन लाग्ने गरेको साल्ट ट्रेडिङले जनाएको छ ।
सुपथ मूल्य पसल कात्तिक मसान्तसम्म सञ्चालन हुने कर्पोरेसनले जनाएको छ । यस अवधिमा उपभोक्ताले तोकिएको सहुलियत मूल्यमा खाद्य सामग्री खरिद गर्न सक्नेछन् ।
स्थानीय उपभोक्ताले भने सुपथ मूल्य पसल सञ्चालनसँगै बजार अनुगमनलाई पनि प्रभावकारी बनाउनुपर्ने बताएका छन् । सरकारी सुपथ मूल्य पसलमा १०० रुपैयाँमा बिक्री भइरहेको चिनी बजारमा १५० रुपैयाँमा बिक्री हुनुको कारण र बजार मूल्य निर्धारणको अवस्थाबारे सम्बन्धित निकायले नियमित अनुगमन गर्नुपर्ने उनीहरूको भनाइ छ ।
चाडपर्वको समयमा उपभोक्ताको मागअनुसार पर्याप्त मौज्दात कायम गर्न सके सुपथ मूल्य पसलले अझ धेरै उपभोक्तालाई राहत दिन सक्ने देखिन्छ । सहुलियत मूल्यमा खाद्यान्न बिक्रीसँगै बजारमा हुने कृत्रिम अभाव, कालोबजारी र अस्वाभाविक मूल्यवृद्धि नियन्त्रणका लागि नियमित बजार अनुगमन आवश्यक देखिएको छ ।












