देउताका पूजा सकिए, वार्षिक पूजा तिहार पछी

Image

डडेल्धुरा । यहाँका थुम्का थुम्काका देउताहरुको दसैंमा हुने पूजा सकिएका छन । अब तिहार पछि वर्षिक पूजा हुने छन । सुदूरपश्चिमका जिल्लाहरुमा ढुंगालाई देउता मानेर पूजाआज गरि देउताका पुजारी पण्डितबाट होम गरेपछिको कालो टिका (तिलक) र अक्षतासहितको रातो टिका, जमारा लगाई दसैं मनाउने धार्मिक परपम्परा रहिआएको छ ।

घटस्थापनाका दिन आफ्ना कुल देउताका मन्दिरमा जमरा राखेर नवरात्र गरि देउताको पूजा र होम गरिन्छ । अष्टमी र दसैंका दिन यहाँका प्रायः मन्दिरहरुमा पूजाआजासंगै राँगा, बोकाको बली दिने प्रचलन रहिआएको पण्डित करुणाकर भट्टले बताए ।

डडेल्धुराको उग्रतारा भगवती, बैतडीको त्रिपुरासुन्दरी, निङलाशैनी, मेलौली र डोटीको शैलेश्वरी भगवतीमा महाअष्टमीका दिन पूजाआजासहित राँगा, बोकाको बली दिने चलन रहेको छ । अछामको वैद्यनाथ देखि दार्चुलाको मलिकार्जुनसम्म दशैंका दिन सबै जिल्ल्लाका शक्तिपीठ र देवस्थल पहिले पुजिन्छन । दसैंका दिन पनि पूजाआजा गरि देउताका धामीबाट टिका ग्रहण गरेर मात्रै घरफर्कि ठूलाबडाबाट टिका थापने चलन रहेको पण्डित भट्टले बताए ।

यी मन्दिरहरुमा अष्टमीका दिन बाजागाजा, आभुषण, डोलीसहित देउरो (शोभायात्रा) मन्दिर लैजाने परपम्परा रहेको उहाँले बताउनुभयो । उनका अनुसार यी सुदूरपश्चिमका मुख्य मन्दिर बाहेक पनि यहाँका हजारौ मन्दिरमा नवरात्रभर विभिन्न देवीदेउताको पूजाआजा र होम हुने गरेको छ । समैजी देउताका पुजारीसमेत रहेका उनले समैजी मन्दिरमा पञ्चमीका दिन देउरो लैजाने र दसैंका दिन टिका प्रसाद पछि गाउँको देवघर, भ्राणमा फिर्ता ल्याईने बताए ।

उनका अनुसार अमरगढी नगरपालिका ७ पोखराको पवित्र क्षेत्र घना जंगल लेगीमा रहेको समैजी मन्दिरमा यस क्षेत्रका पाँच वटा गाउँहरुबाट (द्याडी) पूजाआजाको सामाग्री ध्यू, चामल, जौ, तिल, धुप लैजाई नवरात्रभर प्रत्येक दिन बेलुकी सूर्यास्तको समयमा पूजाआजा र होम गरि तिलक प्रसाद ग्रहण गरिन्छ ।

समैजी देवताका देउरो भट्गाउँमा राखिने र करिया भरिया भण्डारी थर भए पनि यस क्षेत्रका जोशी, भट्टराई, भट्ट, शाहु, बुढाऐर थरले पूजापोखल मन्दिरमा पुगाई पूजाआजा गर्ने चलन रहिआएको छ ।

दसैंमा पूजाआजा हुने भएपनि यहाँका देवी देउताहरुको वार्षिक बिषेश पूजाआजसंगै भव्य मेला तिहारपछिका तिथिमा हुने गरेको उनले बताए । तिहारको पाँच दिन पछि शैलेश्वरमहादेव, १० दिन पछि समैजी र १५ दिनमा उग्रतारा भगवती मन्दिरमा भव्य मेलासंगै पूजाआजासहित देहिजाँत हुने गरेको छ । वर्षिक पूजालाई निकै महत्वकासाथ लिईन्छ ।

दसैं र वर्षिक पूजाआजाका बेला देवता सामु आफना पिडा पोखिन्छन । गल्तीको माफि मागीन्छ जीवन शान्तिको उपाय सोधिन्छ । मन हलुका पारिन्छ । देउताले पनि तोकिएका धामी मार्फत सबैका माग पुरा गर्ने समय तोक्छन । समाधानका उपाय बताईदिन्छन । गल्ती गरेकालाई दण्ड जरीवानाको पनि हुुकूम हुन्छ । अधिकांस मन्दिरमा यतिवेला देवता र मनुवाको दोहोरो वर्तालाप हुन्छ अदालत जस्तै । यो धार्मिक सभामा देउताको आदेश मान्नै पर्ने समाजिक कर पनि लाग्छ ।

यसै दिन पछिल्ला वर्षमा आफुले मागेका माग पुराहुनेहरु खुशीले घण्ट, तरवार, त्रिशुल, सालका स्तम्भ, विगुल, तामा पित्तलका बाघ,सर्पका आकृति देखि वस्त्र, ध्वजा र सुन चाँदीसम्म यसैदिन देउतालाई चढाउछन । माग्ने र माग पुराहुनेले लाख बत्ती पुजा पनि यसैदिन राखेका हुन्छन ।
देउताका पूजाआजाका दिनको यो दृष्य देवलोकमा गएर आम नागरिकले आफ्ना पिडा र खुशि देवतासँग साटिरहेको र आफ्ना अपुुग माग र ईच्छा उनीसामु पोखिरहेको जस्तै हुन्छ ।