डडेल्धुरा । हिन्दु नेपालीहरुको महान चाँड बडादशैंको मुख्य टिका लगाउने दिन सकिएपनि पूर्णिमासम्म आफन्त, ठुलाबडा कहा गएर टिका थाप्नेहरुको ओहोर दोहोर चलिरहेको छ ।
देशको संघिय राजधानी काठमाडौं लगायत नेपालका अधिकांस स्थानमा शुक्रबारराति देखि भएको भारी वर्षाले बाढी, पहिरोमा परि हालसम्म ४६ जनाको ज्यान गईसकेको प्रहरी जनाएको छ । तर सुदूरपश्चिमका पहाडी जिल्लाहरुमा वर्षा नहुदा स्थानीयहरु अन्नबाली र खर काट्न, भित्र्याउनमा व्यस्त देखिएका छन ।
असार सकिए पछि अलि फुर्सदिला हुने पहाडबासीको दैनिकी भदौ महिना देखि अति नै व्यस्त हुने गरेको छ । हुन त सुदूरपश्चिमको पहाडी जिल्लाबासीको जीवन त्यती सहज कहिलै हुन्न । भारी बोकेर उकालो, ओरालो हिडनु पर्ने बाध्यतासंगै खण्डित खेतबारीमा स सानो खेतीपाती बटुल्नु पर्ने हुन्छ ।
बेलाबेला हुने यहाँका मौलिक पर्वसंगै महान पर्वहरुले झनै व्यस्त बनाईदिन्छ दैनीकी । वैशाख, जेठ महिनामा लगाईएको मकै खेती भदौ असोज महिनामा भित्र्याई हाल्नु पर्ने हुन्छ । भदौ, असोज महिनामै यहाँको मौलिक संस्कृती गौरा पर्व मनाईने भएकाले घरायसी कामसंगै मकै भित्र्याउने चटारो र गौरा देवीको बिधिबत पूजाआजा पछि देउडा खेलेर गीतका भाकामा पैतला मिलाउदै थकान मेट्ने गर्दछन पहाडबासी ।
गाउँका सबै मिलेर एक दिन एक जनाको मकै टिपेर झुका बनाई राती अबेरसम्मै देउडा खेल्ने यहाँका चलनमा जंगली बंदेलले केही रोक लगाई दिएको छ । हुन त पहिले जस्तो गाउँघर पनि छैनन् । गाउँका घरहरु रित्तो हुदै गएका पनि छन ।
भदौ १ गते ओल्के पर्व, बुढेली मनाईने परम्परा हुदा महिलाहरुले निरहार ब्रतबसी तीज मनाउनुका साथै असोज १ गते बुढी पोल्ने पर्व, सोह्र श्राद्ध सकिन लाग्दै घटस्थापना आँगनमा आईपुग्न । नवरात्र र दशैंको यो समयमा धान, कोदोलगायतका मुख्यबालीसंगै दलहनमा भटमास, मास, राजमा, सिमि, गराँस, तिल बाली भित्र्याउने चटारो महिलालाई बढी हुन्छ । गाईभैँसीलाई हिउदमा खुवाउन हरियो घाँस काटेर सुकाई थुपारेर राख्न पनि यहाँका महिलाहरु लाई भ्याई नभ्याई भएको स्थानीय लक्ष्मि भट्टराईले बताईन ।
उहाँका अनुसार घरायसी काम देखि अन्नबाली र गाईभैँसीलाई घाँस देखी खर काट्नु पर्ने बाध्यता भएकाले महिलालाई यतीबेला भ्याईनभ्याई छ । अन्नबाली भित्र्याउनेसंगै खाली भएका खेतबारी जोत्ने, गोठेमल हाल्ने, आलु लगाउने समय पनि भएकाले झनै व्यस्तता बढाई दिएको छ । कामको बोझले व्यस्त हुने यो समयमा अर्मपर्म गरि गाउँका महिलाहरुले अन्नबालीसंगै खर काट्ने थुपार्ने कामदेखि खनजोत गरिरहेको उनले बताईन ।











