डडेल्धुरा । देशभरबाट मनसुन बाहिरिए पछि डडेल्धुरा सदरमुकाम लगायत आसपासका क्षेत्रमा वर्षा शुरु भएको छ । सोमबार दिउसो देखि छिटफुट वर्षा शुरु भएपनि राती ठूलो वर्षा भएको छ । मंगलबार मध्यान्ह देखि पुनः वर्षा भईरहेको जल तथा मौसम विज्ञान विभाग हावापानी फिल्ड कार्यालय डडेल्धुराका प्रमुख श्याम सुनारले बताए ।
उनका अनुसार सोमबार दिउसोदेखि मंगलबार दिउसोसम्म डडेल्धुरा जिल्ला सदरमुकामको खलंगामा ४५ मिलिमिटर वर्षा भएको थियो । यस्तै मंगलबार दिउसोदेखि रातीसम्म भने ३७ दशमलब ५ मिलिमिटर वर्षा मापन भएको छ ।
वर्षा भएपछी तापक्रम ह्वात्तै घटेको छ । आईतबारसम्म यहाँको उच्चतम तापक्रम २६ दशमलब २ डिग्री सेल्सियस मापन भएकोमा वर्षा पछि मंगलबार ११ डिग्रीमा झरेको छ । मंगलबारको उच्चतम तापक्रम १५ डिग्री सेल्सियस पुगेको उनले जानकारी दिए । तापक्रम ह्वात्तै घटेकाले स्वास्थ्यमा प्रतिकुल असर देखिने उनको भनाई छ ।
सुदूरपश्चिम प्रदेशको बाजुरा र दार्चुला जिल्लाबाट पश्चिमी वायुको प्रभाव बाहिरिने अनुमान गरिएको छ । बुधबार मध्यान्हसम्म मनसुन बाहिरि सक्ने अनुमान मौसम पूर्वानुमान महाशाखाको भएपनि डडेल्धुरालगायत सुदूरपश्चिमका जिल्लाहरुमा बुधबार दिउसो १ः३० बजेसम्म पनि हल्का वर्षा भईरहेको छ । ठूलो वर्षाको सम्भावना भने नरहेको उनले बताए ।
असोज महिनाको पहिलो साता देखि नै ठूलो वर्षा नभएको डडेल्धुरामा बर्खे खेतीपाती भित्र्याउन सहज भएको थियो । यो महिनाको शुरुवातमा भने वर्षा हुदा आलु किसानलाई आलु अलगाउन समस्या भएको थियो । किसानले पूर्ण रुपमा धानबाली पनि भित्र्याई भने सकेका छैनन् । अहिले भएको वर्षाले पाकेको धानलगायत दलहन बाली भित्र्याउन र आलु खेती गर्न ढिलाई भए पनि हिउदे बाली लगाउन राहात भएको कृषि ज्ञान केन्द्र डडेल्धुराका प्रमुख नरेन्द्रको पनेरुको भनाई छ ।
सुदूरपश्चिम प्रदेशका नौ वटै जिल्लाको १ लाख ६३ हजार ९९३ हेक्टर क्षेत्रफलमा रोपाई गरिन्छ । कृषि विकास निर्देशनालय दिपायल डोटीका सुचना अधिकारी केशव पाण्डेयका अनुसार सुदूरपश्चिम प्रदेशमा कुल खेतीयोग्य जमिन ३ लाख ५९ हजार ९११ हेक्टर क्षेत्रफल रहेको छ ।
डडेल्धुरामा ६ हजार १२० हेक्टर क्षेत्रफलमा धान खेती हुदै आएको अनुमान छ । यो क्षेत्रफल मध्ये २० प्रतिशत अर्थात एक हजार २२४ हेक्टरमा छरुवा घैया धान लगाईन्छ ।
करिब दुई सातासम्म पानी नपर्दा यहाँको जमिन सुक्खा भईसकेको थियो । प्रायः पाखो जमिन भएकाले हिउदे बाली लगायन खानजोत गर्न समस्या भईसकेको उनले बताए । पाखो जमिन सुक्खा हुदा खनजोत गर्न नसकिने अवस्था भसकेको थियो । उनले भने, अहिले भईरहेको वर्षाले किसानलाई खनजोत गर्न निकै सहज भएको छ ।
पानी नपर्दा जमिन सुक्खा भई हाते ट्याक्टरलेसमेत जोत्न नसकि छोडेका थियौ । किसान धनबहादुर बोहराले भने, पानी परे जोत्ने आशामा थियो, हिजो देखिको पानीले खनजोत गर्न र गहुलगायतका हिउदे बाली छर्न आद्रता पुगेको छ ।
जिल्लामा एक हजार २२२ हेक्टर क्षेत्रमाफलमा आलु खेती गरिदै आएको तथ्यांक राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन इकाइ डडेल्धुराको छ । बर्खे र हिउदे गरि डडेल्धुरामा दुई सिजनमा आलुखेती गरिन्छ । कार्यालय प्रमुख पिताम्बर बस्नेतका अनुसार बर्खे आलु ४०० हेक्टर र हिउदे आलु ७२२ हेक्टर क्षेत्रफलमा गरिन्छ ।