बसाईसराईले रित्तियो पसेला गाउँ

Image
अजयमेरु गाउँपालिका ४ को पसेला गाउँ । तस्बिरः पुष्कर भण्डारी

डडेल्धुरा । करिब ४० बढी परिवार संख्या रहेको अजयमेरु गाउँपालिका ४ पसेला गाउँमा अहिले जम्मा १२ परिवार मात्रै छन । गाउँमा बिद्युत, खोपानीका धारा, दुई तिरबाट कच्चि सडक, गाउँ नजिकै करिब आधा घण्टाको पैदल दुरी चिपुरमा माध्यमिक विद्यालय र स्वास्थ्य चौकी छ । नेपाल प्रहरीको चौकी पनि छ । बालीनाली उब्जाउका हिसाबले पनि पसेला गाउँ अगाडी नै थियो ।

आँप देखि चिउरीसम्म हुने पारिलो क्षेत्र भएकाले खाद्यान्न उब्जनी राम्रै हुनुकासाथै चरिचरनका लागि प्रशस्त घाँसे जमिन र जंगल भएकाले भैँसी, बाख्रा पालनको सम्भावना बढी नै छ । सम्भावना र आधारभूत सुबिधा हुदा हुदै गाउँ भने बसाईसराईले रित्तो भएको छ ।

पसेला गाउँ सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री हिरा सार्कीको पुख्र्यौली गाउँ पनि हो । यस गाउँमा सार्की, पाण्डेय र बिष्ट थरीले बसोबास गर्दै आईरहेका छन । संघियता व्यवस्था लागु हुनु अधि डडेल्धुराका १८ वटा गाउँ विकास समिति मध्ये चिपुर एक गाविस थियो । त्यो बेला पसेला गाउँ सिंगो वडा नं। ७ थियो । २०७० सालमा भएको प्रतिनिधिसभा निर्वाचनका बेला पसेला गाउँमा ९६ मतदाता थिए । जनसंख्या थियो करि ५०० बढी । तर हाल भने यो गाउँको जनसंख्या करिब एक सय मात्रै छ ।

गाउँमा जाँदा बाख्रा चरउदै गरेकी कलावती बिष्टले आफ्नो श्रीमान, जेठो छोरा, बुहारी र नाती कञ्चनपुरको लालपुरमा बस्दै आएको बताईन । आफुभने कान्छो छोरासंग पसेला गाउँमै बस्दै आएको उनले सुनाईन । उमेरले ७१ वर्ष पुगेकी बिष्टले पहाडमा काम गर्न सजिलो नहुने भएकाले तराई जाने गरेको बताईन ।

परिवारमा संख्या बढ्दै जादाँ भएको जमिनको खण्डित बाँडफाँडले बसाईसराई बढेको स्थानीय टिकाराम पाण्डेयले बताए । उनले आफुपनि तराई नै बस्दै आएको सुनाउनै साउनको महिना देवताका मन्दिरमा दियो बाल्न मात्रै आएको सुनाए । एक बुवाका पाँच वटा छोरा हुदा पाँच रोपनीमा एक, एक रोपनी भाग पर्यो । उनले भने, त्यो पनि एकै ठाउँको जमिन नबाँडी घरमै भाग हाल्नेदेखि आँगन, करेसाबारी, पाखो बारी, खेत, घाँस काट्ने जमिन बाँड्दा स सानो भाग पर्ने भयो । एकलौटी जमिन बाँडफाँड नहुदा काम गर्न सबै तिर जानुपर्ने हुदा कामको बोझ बढ्यो । अनि एकलौटी जमिन र सुबिधा खोज्न थालेपछि सबैको रोजाईमा तराई पर्यो । अहिले आएर गाउँघर सुनसान बने ।

किनेर खानुपर्ने अवस्था आईसके पछि सुबिधा जनक क्षेत्रका रुपमा तराईका विभिन्न ठाउँहरु रोजाईमा रहेको उनले बताए । एक दुई वर्षमा केही थप परिवार अझै तराई जान लागेको उनले जानकारी दिए । कुल देवताको पूजाआजा र गौराको बेला बिरुडा राख्ने वर्ष गाउँबासी सबै थातथलो फर्किने गरेको उनले बताए । यस वर्ष गौरामा बिरुडा पर्ने भएकाले गाउँछोडी गएका अधिकांस फर्किने उनले बताए । तर गौरा पर्वसंगै सबै गाउँले आ आफ्नो बसाई भएको क्षेत्रमा फर्किने छन ।