आजदेखि तेस्रो एनपिएल, विजेताले पाउने डेढ करोड

Image

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करण सोमबारदेखि त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु हुँदै छ । पहिलो र दोस्रो संस्करणको सफलतापछि सुरु हुन लागेको यस संस्करणमा अन्तर्राष्ट्रिय स्टार खेलाडी, डिसिजन रिभ्यु सिस्टम (डिआरएस) प्रविधि र बढ्दो व्यावसायिक कारोबार मुख्य आकर्षणका रूपमा रहेका छन् ।

नेपाल क्रिकेट सङ्घ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले आइतबार आयोजित पत्रकार सम्मेलनमा एनपिएल तेस्रो संस्करणसम्म आइपुग्दा थप विशिष्ट बन्दै गएको बताए । उत्कृष्ट खेलाडीको सहभागिता, डिआरएस प्रविधिको प्रयोग र प्रतियोगितामा बढ्दै गएको कारोबारले एनपिएलको महत्त्व थप बढाउने उनले बताए । यस संस्करणले रसुवा बाढीले दिएको पीडा भुलाउनसमेत सहयोग पुग्ने उनको भनाइ थियो ।

क्यानका सचिव तथा प्रतियोगिता संयोजक पारस खड्काले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को आधिकारिक मान्यता प्राप्त भएपछि प्रतियोगितालाई सफल बनाउन सबै सरोकारवालाको जिम्मेवारी बढेको बताए । करिब एक महिना सञ्चालन हुने एनपिएलले नेपाली क्रिकेटमा इतिहास रच्ने अवसर प्रदान गरेको उनले बताए ।

यसपटक एनपिएलले पहिलोपटक आइसिसीको आधिकारिक मान्यता प्राप्त गरेको छ । साथै, नेपालमै पहिलोपटक डिआरएस प्रविधि प्रयोग हुँदै छ । विदेशी खेलाडीको अनुबन्धमा सहजता र त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानको स्तरोन्नतिले प्रतियोगिताको आकर्षण थप बढाएको छ ।

आठ टोलीबीच प्रतिस्पर्धा

तेस्रो संस्करणमा अघिल्ला संस्करणकै आठ फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गर्नेछन् । जसमा साविक विजेता लुम्बिनी लायन्स, उपविजेता सुदूरपश्चिम रोयल्स, पहिलो संस्करणको विजेता जनकपुर बोल्ट्स, काठमाडौँ गोर्खाज, चितवन राइनोज, विराटनगर किङ्स, पोखरा एभेन्जर्स र कर्णाली याक्स रहेका छन् ।

सबै टोलीले अक्सनमार्फत खेलाडी छनोट गर्नुका साथै अन्तर्राष्ट्रिय क्रिकेटका चर्चित खेलाडीलाई अनुबन्ध गरेर प्रतिस्पर्धात्मक टोली तयार पारेका छन् । यस संस्करणमा प्रत्येक टोलीले छदेखि आठ जनासम्म विदेशी खेलाडी राख्न पाउनेछन् । खेलको अन्तिम ११ मा भने सात नेपाली र चार विदेशी खेलाडी अनिवार्य समावेश गर्नुपर्नेछ ।

अस्ट्रेलियाका पूर्वकप्तान डेभिड वार्नर, वेस्ट इन्डिजका आन्द्रे रसेल र सेर्फेन रदरफोर्ड, दक्षिण अफ्रिकाका डेभिड मिलर तथा बङ्गलादेशका अलराउन्डर सकिब अल हसनको सहभागिताले प्रतियोगितालाई थप आकर्षक बनाएको छ ।

विजेतालाई डेढ करोड पुरस्कार

क्यानका कोषाध्यक्ष पदमबहादुर खड्काले यस संस्करणको विजेताले एक करोड ५० लाख रुपियाँ पुरस्कार प्राप्त गर्ने बताए । उनका अनुसार उपविजेताले ८० लाख, तेस्रो हुने टोलीले ४० लाख र चौथो हुने टोलीले ३० लाख रुपियाँ पाउनेछन् ।

गत संस्करणको विजेता लुम्बिनी लायन्सले एक करोड १० लाख रुपियाँ पुरस्कार पाएको थियो । यसपटक पुरस्कार रकम वृद्धि गरिएको हो ।

एनपिएलको व्यावसायिक कारोबारसमेत उल्लेख्य रूपमा बढ्ने अनुमान गरिएको कोषाध्यक्ष खड्काले बताए । उनका अनुसार प्रतियोगिताको एक महिनाको अवधिमा करिब एक अर्ब ५० करोड रुपियाँ बराबरको कारोबार हुने अनुमान छ । प्रायोजनबाट १८ करोड तथा टिकट बिक्रीबाट ७० देखि ७५ करोड रुपियाँ आम्दानी हुने अपेक्षा गरिएको उनले बताए ।

डिआरएस प्रविधि मुख्य आकर्षण

यस संस्करणमा पहिलोपटक डिआरएस प्रविधि प्रयोग गरिनेछ । मैदानका अम्पायरको निर्णयमा शङ्का भएमा टोलीले रिभ्यु लिन सक्नेछन् । प्रविधिको सहायताले एलबीडब्लू, रनआउट, स्टम्पिङ, फ्रन्टफुट नोबल र वाइडसम्बन्धी निर्णय पुनरावलोकन गर्न सकिनेछ । छक्काको दूरी र उचाइ मापनमा समेत प्रविधि प्रयोग गरिनेछ । प्रत्येक टोलीले एक इनिङ्समा दुईवटा असफल रिभ्यु लिन पाउने व्यवस्था गरिएको छ ।

डिआरएस प्रयोगका कारण खेल सञ्चालन तालिकामा समेत परिवर्तन गरिएको क्यानले जनाएको छ ।

एनपिएलको खेल सिङ्गल राउन्ड रोबिन प्रणालीमा सञ्चालन हुनेछ । त्यसपछि इलिमिनेटर र क्वालिफायर चरणका खेल हुनेछन् । प्रतियोगिताको फाइनल मङ्सिर ५ गते हुनेछ ।

उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

तेस्रो एनपिएलको उद्घाटन खेलमा सोमबार साँझ साविक विजेता लुम्बिनी लायन्स र गत संस्करणको उपविजेता सुदूरपश्चिम रोयल्स आमनेसामने हुँदैछन् ।

गत संस्करणको फाइनलमा लुम्बिनीले सुदूरपश्चिमलाई छ विकेटले हराउँदै उपाधि जितेको थियो । यसपटक पनि जितबाट प्रतियोगिताको सुरुवात गर्दै उपाधि रक्षा अभियानलाई अघि बढाउने लक्ष्य लुम्बिनीको छ । सुदूरपश्चिम भने अघिल्लो फाइनलको हारको बदला लिने योजनासहित मैदानमा उत्रिनेछ ।