साइबर अपराधदेखि यौन हिंसासम्म सचेतना फैलाउँदै घरदैलोमा पुगे महेन्द्र माविका विद्यार्थी

Image

डडेल्धुरा । जिल्ला सदरमुकाम अमरगढी नगरपालिका–५ खलंगास्थित महेन्द्र माध्यमिक विद्यालयका विद्यार्थीहरू समुदायमा सचेतना फैलाउन घरदैलोमा पुगेका छन्।

साइबर अपराध, यौन हिंसा, मानसिक तनाव तथा यौन तथा प्रजनन स्वास्थ्य अधिकारका विषयमा विद्यार्थी, अभिभावक तथा समुदायलाई जानकारी गराउने उद्देश्यले विद्यालयका विद्यार्थीहरूले घरदैलो कार्यक्रम गरेका हुन्।

ग्रामीण महिला विकास तथा एकता केन्द्र (रुडुक) काठमाडौंको आयोजनामा यौन तथा प्रजनन स्वास्थ्य अधिकारसम्बन्धी अभिमुखीकरण कार्यक्रम सञ्चालन भएपछि विद्यालयको युवा रेडक्रस सोसाइटी र महेन्द्र नमुना बाल क्लबका पदाधिकारीहरूले घरदैलो कार्यक्रम सञ्चालन गरेका हुन्।

घरदैलोका क्रममा विद्यार्थीहरूले किशोरावस्थामा देखिने शारीरिक तथा मानसिक परिवर्तन, यौन तथा प्रजनन स्वास्थ्य अधिकारको महत्व, यौन हिंसाबाट बच्ने उपाय, साइबर अपराधबाट जोगिने तरिका तथा मानसिक तनाव व्यवस्थापनका विषयमा अभिभावक र समुदायलाई जानकारी गराएका थिए।

किशोरकिशोरीको उमेरमा देखिने शारीरिक तथा मानसिक परिवर्तनलाई स्वाभाविक रूपमा बुझ्नुपर्ने, समस्या वा असहजता भएमा परिवार, शिक्षक तथा सम्बन्धित व्यक्तिसँग खुलेर कुरा गर्नुपर्ने र जोखिमपूर्ण डिजिटल गतिविधिबाट सावधानी अपनाउनुपर्ने विषयमा समेत विद्यार्थीहरूले सचेत गराएका थिए।

कार्यक्रमको मुख्य लक्ष्य विद्यालयमा प्राप्त गरेको स्वास्थ्य तथा सुरक्षासम्बन्धी ज्ञानलाई समुदायसम्म पुर्‍याउँदै किशोरकिशोरीका समस्या र अधिकारबारे अभिभावकमा समेत बुझाइ बढाउनु रहेको आयोजकले जनाएको छ। विद्यार्थीलाई आफ्ना अधिकारबारे जानकार बनाउनुका साथै उनीहरूलाई समुदायमा सचेतना फैलाउने जिम्मेवार अभियन्ताका रूपमा परिचालन गर्नु कार्यक्रमको अर्को उद्देश्य रहेको बताइएको छ।

रुडुकद्वारा पपुलेसन कनेक्सनको सहयोगमा सञ्चालित किशोरी सशक्तीकरण परियोजना अन्तर्गत घरदैलो कार्यक्रम सञ्चालन गरिएको परियोजना संयोजक आयुषा श्रेष्ठले जानकारी दिइन्।

उनका अनुसार विद्यालयमा सञ्चालन गरिएको अभिमुखीकरणबाट विद्यार्थीहरूले प्राप्त गरेको ज्ञानलाई व्यवहारमा प्रयोग गर्दै समुदायका अभिभावकसम्म पुर्‍याउने उद्देश्यले घरदैलो कार्यक्रम गरिएको हो। कार्यक्रममा महेन्द्र माध्यमिक विद्यालयमा अध्ययनरत २० जना विद्यार्थीको सहभागिता रहेको थियो।

विद्यार्थीमार्फत समुदायमा पुगेर सचेतना फैलाउँदा किशोरकिशोरीका विषयमा अभिभावकको बुझाइ बढ्नुका साथै बालबालिकाले आफ्ना समस्या खुलेर राख्ने वातावरण निर्माणमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ।