डडेल्धुरा । अमरगढी नगरपालिकास्तरीय माध्यमिक विद्यालय छात्र–छात्रा वक्तृत्वकला प्रतियोगितामा महेन्द्र माध्यमिक विद्यालयका समिर सुनार र माउन्टेन माध्यमिक विद्यालयकी विविशा भट्ट प्रथम भएका छन् ।
अमरगढी नगरपालिका–५ खलंगास्थित महेन्द्र माध्यमिक विद्यालयमा बुधबार आयोजित प्रतियोगितामा नगरपालिकाभित्रका १२ वटा माध्यमिक विद्यालयका २४ जना विद्यार्थी सहभागी भएका थिए । प्रत्येक विद्यालयबाट एक जना छात्र र एक जना छात्रा गरी विद्यार्थीलाई प्रतियोगितामा सहभागी गराइएको महेन्द्र माध्यमिक विद्यालयका प्रधानाध्यापक सुरेन्द्र ऐरले जानकारी दिए ।
पपुलेसन कनेक्सन अमेरीका र ग्रामिण महिला विकास तथा एकता केन्द्र (रुडुक) काठमाडौंद्वारा सञ्चालित बालिका सशक्तिकरण परियोजना अन्तर्गत महेन्द्र माध्यमिक विद्यालयमा ‘अनलाइन दुरुपयोग तथा साइबर हिंसा न्यूनीकरणमा युवाहरूको भूमिका’ विषयमा प्रतियोगिता आयोजना गरिएको हो ।
छात्रातर्फ महेन्द्र माध्यमिक विद्यालयकी खुसी चैसिर द्वितीय, मोर्डन इङ्लिस बोर्डिङ स्कुलकी अनुपमा तृतीय र सरस्वती माध्यमिक विद्यालयकी पवित्रा ऐर सान्त्वना भएकी छन् ।
त्यस्तै, छात्रतर्फ भागेश्वर माध्यमिक विद्यालयका प्रकाश साँकी द्वितीय, माउन्टेन माध्यमिक विद्यालयका प्रमोद जोशी तृतीय र क्याम्ब्रिज पब्लिक स्कुलका किशोर पन्त सान्त्वना भएका छन् ।
प्रतियोगितामा प्रथम हुने छात्र–छात्राले जनही ५ हजार रुपैयाँ नगदसहित प्रमाणपत्र प्राप्त गरेका छन् । द्वितीय, तृतीय र सान्त्वना स्थान हासिल गर्ने विद्यार्थीलाई क्रमशः ३ हजार, २ हजार र १ हजार रुपैयाँ नगद तथा प्रमाणपत्र प्रदान गरिएको महेन्द्र माध्यमिक विद्यालयका लेखापाल धर्मराज पन्तले जानकारी दिए ।
कार्यक्रमले विद्यार्थीमा अनलाइन प्रविधिको सुरक्षित प्रयोग, साइबर हिंसाको जोखिम तथा त्यसको न्यूनीकरणमा युवाको भूमिकाबारे सचेतना बढाउने उद्देश्य राखेको आयोजकले जनाएको छ ।
रुडुक डडेल्धुराका कार्यकारी निर्देशक अमर साउदका अनुसार पपुलेसन कनेक्सन कार्यक्रममार्फत महेन्द्र माध्यमिक विद्यालयमा शैक्षिक सामग्री, स्वास्थ्य तथा सरसफाइ सामग्री, खानेपानी तथा सरसफाइ, खेलकुद सामग्रीलगायतका क्षेत्रमा सहयोग हुँदै आएको छ । विद्यार्थीको क्षमता विकासका लागि आयोजना हुने विभिन्न प्रतियोगितामा पुरस्कारका लागि समेत कार्यक्रमले सहयोग गर्दै आएको उनले बताए ।











