डडेल्धुरा । गन्यापधुरा गाउँपालिका १ भातकाँडा गाउँका शम्भुराज भट्ट रोजगारीका लागि एक दशक पहिले मलेसिया गए । दुई वर्ष बढी मलेसिय बसेर उनी घर फर्किए । घर फर्किए पछि उनी देशको राजधानी काठमाडौंमा करिब सात वर्ष विभिन्न कम्पनीहरुमा काम गरे । तर अहिले भने उनी जन्मस्थान भातकाँडा गाउँमा फर्किएर ७९ वर्षीय बुवासंगै तरकारी खेती र पशुपालन गरिरहेका छन ।
गाउँमा भएको ४० रोपनि बढी क्षेत्रफलमा उनका बुवा तारादत्त भट्टले सानै उमेर देखि तरकारी खेति र पशुपालन गर्दै आईरहेका थिए । मेलेसिया र काठमाडौंमा गरेको नोकरीले खान बस्न मात्रै ठिक्क हुने भए पछि उनी घर फर्किएर बुवासंगै तरकारी र पशुपालन पेशामा लागेका हुन ।
अरु काम भन्दा आफ्नै जमिनमा गरेको तरकारी खेती र घरमै गरेको पशुपालनबाट राम्रो आम्दानी हुने भए पछि घर फर्किएर तरकारी खेती र पशुपालन गर्न थालेको उनले बताए । उनका बुवाले केही वर्ष पहिलेसम्म १०/१० भन्दा बढी गाई, भैँसी र १५० को संख्यामा बाख्रा, २० भन्दा बढी मौरीघार र जमिनमा तरकारी खेती गर्दै आइरहेका थिए । अहिले भने गाई, भैँसी र बाख्राको संख्या घेटेको छ । तरकारी खेती भने बढाउदै गएका छन ।
उनका दाई गणेशप्रसाद भट्ट २०६२ सालमा रोजगारीका लागि भारत पसे । उनले भारतका विभिन्न कम्पनीहरुमा चार वर्ष काम गरे । तर सोचे जस्तो पैसा कमाउन नसकेपछि उनी पनि घर फर्किएर बुवासंगै तरकारी खेती र पशुपालन गर्दै आईरहेका छन । तरकारी खेतीबाट मात्रै वर्षमा १२-१३ लाख रुपियाँ कमाउन सकिने उनको भनाई छ ।
तरकारीबाट हुने आम्दानीबाट घर खर्च चलाई वार्षिक तीन लाख रुपियाँसम्म बचत हुने उनले बताए । विगत १४-१५ वर्ष यता घरमै तरकारी खेती गर्दै आईरहेका उनले सरकारले दिने अनुदानका बिषयमा भने अनविज्ञ रहेको बताए ।
वर्षमा डेढ सय कुन्टल आलु, पाँच सय कुन्टल बन्दा, काउली फलाउदै बिक्रि गरिरहेको उनले बताए । बुवाले बाख्रा पालन गरि वर्षमा १२-१४ खसी मात्रै बिक्रि गर्दै आईरहेको उनको भनाई छ । भातकाँडा गाउँ नजिकै अमरगढी नगरपालिका १ दहमा नेपाली सेनाको व्यारेक छ । खसी र तरकारी नेपाली सेनाले खरिद गर्दैआईरहेको उनले बताए । बुवाले एक वर्षमा डेढ, दुई लाखका खसी मात्रै बेच्ने गरेको उनले बताए ।
तारादत्त भट्ट १२ वर्षको हुदा उनका बुवा आमा बैतडीको सतबाँझ नजिक रहेको गाउँबाट यहाँ आएका थिए । महाभारत पर्वतमा अवस्थित भातकाँडा गाउँमा देउवाहरुको बसोवास थियो । देउवाहरुबाट जमिन खरिदगरि बुवाहरु बसेको तारादत्तले बताए । घनाजंगलको बिचमा वस्ति भएकाले गाई, भैँसी, बाख्रा पाल्न कुनै समस्या थिएन ।
पछि यहि गाउँ मुनी भएर अत्तरिया–दार्चुला जोड्ने महाकाली सडक खनियो । सडक खनिएसंगै भातकाँडामा पसल होटेलहरु खुल्न थाले । तरकारीका लागि आलु आउन थाल्यो । आज भन्दा करिब ५५ वर्ष अघि तीन कुन्टल आलु खरिद गरेर आफ्नो बारीमा लगाएको उनले बताए । आलुबाट सुरु भएको तरकारी खेती अहिले बन्दा, काउली, प्याज, लसुन, रायो, मुला, खुर्सानीलगायतका तरकारी र मसलाबाली खेती उनको परिवारले गर्दै आईरहेको छ ।
तरकारी खेतीमा बजारबाट मल किनेर कहिल्यै नहालेको उनले सुनाए । गाई, भौँसी, बाख्राको मल फालाफाल हुन्थ्यो, उनले भने, डेढ सय त माउ बाख्रा मात्रै थिए । अनि तिनका पाठाहरु कतिहुन कति । २० सम्म त भैँसी पनि पुगेका थिए । १० जती गाई पुग्थे । एक त साणे नै पालेको थिए । खेतबारी जोत्न गोरु हुन्थ्ये । गोरुको हल बनाई पनि कति धेरै बेचे । बारीकै तरकारीका पातले गाई, भैँसीलाई घाँस पनि हुन्थ्यो । एउटै काउली पाँच किलो सम्मको फलेको उनले बताए ।
उनका घर र गोठका भित्तामा अहिले पनि परम्परागत रुपमा बनाईएका २० जती (ढाणा) मौरी घार छन । प्रतिकेजी एक हजार रुपियाँका दरले धरबाटै मह बेचिरहेको उनले बताए । वर्षमा करिब एक कुन्टल बढी मह बेच्दै आईरहेको उनले बताए ।












