डडेल्धुरा । महाभारत पर्वतको फेदमा रहेको डोटी घटालको अशिग्राम मन्दिरमा चम्साल गाउँमा रहेको देउघरबाट देउरो लगिएको छ । प्रत्येक वर्ष दसैँका दिन हुने पूजाआजाका लागि घटस्थापनाका दिन देउघरबाट अशिग्राम मन्दिरमा देउरो लैजाने धार्मिक परम्परा रहिआएको छ ।
अमरगढी नगरपालिका–३ डोटी खेला छेउमा रहेको सुदूरपश्चिमको प्रमुख आस्थाको केन्द्र घटालथान नजिकै अशिग्राम मन्दिरमा दसैं जाँत (मेला) बडा दसैंको दिन लाग्छ ।
डोटीखोला आसपासका दर्जन बढी गाउँबस्ती संगै जिल्ला सदरमुकाम खलंगालगायतका स्थानहरुबाट ठूलो संख्यामा भक्तजनहरु दशै जाँतका बेला घटाल बाबाको पूजाआजा संगै यो विशेष अवसरमा काम्ने घटालका धामीबाट आशिर्वादसहित अक्षता र प्रसाद ग्रहण गरेर घर फर्कने गर्छन् ।
घटाल बाबा संग शुद्ध मनले मागेको बरदान प्राप्त हुने जनविश्वास रहिआएको छ । मागेको बरदान प्राप्त भए पछि घटालथालमा बोकाको बलि दिने चलन छ । घटाल अशिग्राम बाबाको द्धारपालेका रुपमा चित्रण गरिएको छ ।
अशिग्राम मन्दिरमा लगिएको देउरो बडा दसैंको दिन मेला सकिएपछि बेलुकि पुनः चम्साल गाउँमा रहेको देवघरमा ल्याइने गरिएको घटाल क्षेत्र विकास समाजका अध्यक्ष कृष्णप्रसाद बोहराले जानकारी दिए ।
दसैँ जाँतका बेला आफ्नो थातथलो छोडेर टाढा पुगेकाहरु पनि एकै दिनका लागि भएपनि घर फर्कने गरेको उनले बताए । सदियौ देखि त्यहि मान्यता अनुरुप घटाल बाबालाइ यसक्षेत्रका बासिन्दाले ठूलो धार्मिक आस्था र सम्मानका साथ पुज्ने गरेका छन ।
घटालको महिमा
देउताको प्रभाव र शक्तिलाई कसैले चुनौती दिए भने मूल धामीले आफूले बालुवा खानुका साथै अरू धामीलाई पनि बालुवा खुवाएर शक्ति देखाउने गर्छन् । धामीले खोलामा निहुरिएर मुखभरी बालुवा लिएर खाने गरेको प्रष्ट देख्न सकिन्छ ।
धामीहरूले पहिले, पहिले ६० घडा बालुवा र ६० घडा पानी खाने गर्थे भन्ने किंवदन्ती रहेको छ । अहिले पनि धामीले ७८ मुठी जति बालुवा र पानी घुटुघुटु खाने गरेको स्थानीयको भनाइ छ ।
मुखभरीको बालुवा पानीसँगै घुटुघुटु निल्दा पनि दैवी शक्तिकै कारण कुनै स्वास्थ्य समस्या नदेखिएको धामीहरूले दाबी गर्ने गरेका छन् ।
किंवदन्तीअनुसार डोट्याली राजा नागी मल्लकी पुत्रविहीन रानीले भारतको गढवालबाट घटाल देउता दाइजोमा ल्याएकी थिईन । देउतालाई अहिले मन्दिर रहेको स्थानबाट दरबारसम्म लैजान नसकिएपछि त्यहीँ नै घटालबाबा स्थापना गरेको बताइन्छ ।
पश्चिमी क्षेत्रमा आस्तिकहरूमाझ घटालबाबाले मनोकामना पूरा गरिदिने जनविश्वास रहेको पाइन्छ । खडेरी परेको वर्ष स्थानीयबासीले ‘पानी देऊ’ भन्ने नारा लगाउँदै खोलाको पानी लगेर घटालशिलाको प्वालमा पानी हाल्छन् र वर्षाको कामना गर्छन् ।
घटाल देवताको उत्पति कहिले र कुन अवस्थामा भयो भन्ने कुरामा एकमत नभए पनि महाभारतमा वर्णित भीमपुत्र घटोत्कच, यहाँ जुन देवताको रूपमा पूजित छन्, तिनको स्थान पहिले हालको घटाल भन्ने ठाउँमा थियो भन्ने किंवदन्ती रहेको छ ।
घटाल मसानमा बस्ने हुँदा त्यस ठाउँमा सधैं मुर्दा जलाउने गरिएको बताइन्छ । बूढी घटाल नजिक हटगाउँमा धेरै पहिले एउटी वृद्धा ब्राह्मणी बस्थिन् । उनी सधैं डोटी खोलामा नुहाई देवताको पूजा पाठ गरी नित्य मध्याह्नमा भोजन गर्ने गर्थिन् ।
प्रत्येक दिन त्यस ठाउँमा लाश जलाउने गरेको समयमा पूजा पाठ र भोजन गनै बाधा पर्न गएको रहेछ । एक दिन ती बृद्धाले घटाल देवतालाई सराप दिन्छिन् ‘नइ म मद्दो न घटाल सद्दो’ अर्थात् ‘न म मर्छु न घटाल सर्छ ।’
घटाल देवताले उनलाई परेको असुविधालाई महसुस गरी त्यहाँबाट सरेर पथ्थरकोट भन्ने स्थानमा पुगेको र फेरि त्यहाँबाट सरेर हाल रहेको ठाउँ एकान्त स्थल हुँदा त्यहींँ बसोबास गरेको जानकार बताउँछन् ।
त्यहीँ बगेर आएको घट्टको चक्कामा पूजा गर्ने र बलि दिने प्रचलन छ । घटाल देवताले साक्षात शक्ति देखाएका थुप्रै उदाहरण छन् । यिनलाई भीम पत्र घटोत्कच तथा कसैले शिवको रूपमा लिन्छन् । जे भए पनि यी मसानबासी ठूला देउता हुन् भन्ने कुरामा यहाँका भक्तजनहरू विश्वस्त छन् ।
घटाल बाबालाई अनिकाल, रोगव्याधी र प्राकृतिक प्रकोपबाट जोगाउने देउताका रूपमा पनि लिइन्छ । विगतमा जबजब खडेरी परेर अनिकालको अवस्था आयो, त्यति बेला पानी माग्न खलंगासमेत विभिन्न गाउँबस्तीका किसान यही घटालथानमा भेला हुने गर्थे भन्ने जनविश्वास छ । पानी नपर्दा अहिले पनि बाजागाजासहित पूजाआजा गर्दै घटालथानमा रहेको खाल्टोमा पानी हाल्ने चलन छ । यसोगरे पानी पर्ने थुपै उदाहरणहरु छन ।
‘घटालका धामी कमाएर पानी माग्ने गरिन्थ्यो, घटाल प्रसन्न भएर पानी दिन्थे अर्थात् खेतीपातीलाई पुग्ने वर्षा हुन्थ्यो । यो चलन अझै पनि कायमै रहेको छ’, घटालका पुजारी दुर्गादत्त भट्टले भने ।
धार्मिक ग्रन्थमा घटाल
द्वापरयुगमा कुरुक्षेत्रमा भएको कौरव र पाण्डवबीचको धर्मयुद्धमा भीमपुत्र घटोत्कचले ठूलो पराक्रम प्रदर्शन गरेका थिए । उनले कौरव सेनामाथि धावा बोलेर ठूलो क्षति पुर्याएको धार्मिक ग्रन्थमा उल्लेख छ ।
लडाइँको मैदानमै वीरगति प्राप्त गरेका घटोत्कचको पराक्रम देखेका श्रीकृष्णले उनलाई कली युगमा ख्यातिप्राप्त भगवानका रूपमा मान्यता पाउने वरदान दिएको बताइन्छ ।
सदियौंदेखि त्यही मान्यताअनुरूप घटाल बाबालाई यस क्षेत्रका बासिन्दाले ठूलो धार्मिक आस्था र सम्मानका साथ पुज्ने गरेको घटालका पुजारी भट्टले जानकारी दिए ।
घटाल बाबाको स्नान परशुराम धाममा
सूर्य ग्रहणका दिन उपयुक्त तिथि र अनुकूल समय मिलाएर घटाल बाबाको स्नान गर्ने समारोह आयोजना हुने गरेको छ । स्नान कार्यक्रम डडेल्धुराको भित्री मधेस क्षेत्रमा पर्ने काली नदी किनारको परशुराम धाममा हुने गरेको छ । स्नान गर्न जाँदा घटाल बाबाले भित्री मधेसमा सात सुप्पा बालुवा खाएकाले हाल त्यस ठाउँको नाम नै सात सुप्पे राखिएको छ ।
‘घटालका सम्पूर्ण सुनचाँदीबाट बनाइएका विभिन्न वस्तु र गहना तथा भक्तजनले चढाएका बहुमूल्य आभूषण वस्तुहरू घटालथान नजिकै चम्सालमा रहेको देवघरमा राखिएको छ’, पुजारी भट्टले भने, ‘स्नानका बेला ती सबै आभïाणसहित स्थानीयबासी, धामीहरूको लर्कोसहित पैदलै चुरे पहाड पार गरी परशुराम धाम पुगेर स्नानपछि फर्किने गरिन्छ । यो स्नान यात्रा करिब एक साताको हुन्छ ।’
अहिले पनि २ वैशाखमा विसु मेला (जाँत) का दिन र स्नान गर्न जाँदा घटाल बाबाका धामी कापेर बालुवा खाने गर्दछन् । घटाल बाबालाई बलि दिनका लागि यहाँ भारतदेखि पूर्व मेची अनि पश्चिम महाकालीसम्मका श्रद्धालु आउँने गर्छन ।













