डडेल्धुरा । करिब एक वर्ष देखि अध्यक्ष पाउन नसकेको जिल्ला खेलकुद समितको अध्यक्षमा युवा एवं खेलाडी जगत ऐरलाई मनोनित गरिएको छ । भलिबलका पूर्व राष्ट्रिय खेलाडी ऐरलाई जिल्ला खेलकुद समिति डडेल्धुराको अध्यक्षमा मनोनित गरिएको हो ।
सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालय सुदूरपश्चिम प्रदेश खेलकुद परिषदले ऐर लाई चार वर्षे कार्यकालका लागि अध्यक्ष पदमा मनोनित गर्ने निर्णय गरेको छ । परिषदको बुधबार बसेको बैठकले ऐरलाई जिल्ला खेलकुद समितिको अध्यक्षमा मनोनित गरेको जानकारी पत्र मार्फत दिएको अध्यक्ष ऐरले बताए ।
उनलाई प्राप्त भएको पत्रमा सुदूरपश्चिम प्रदेश खेलकुद परिषदको नियमाबलि २०७७ को नियम ५ (क)मा व्यवस्था भए बमोजिम अध्यक्ष पदमा मनोनित गरिएको उल्लेख छ । सदस्य सचिव लोकेन्द्र बहादुर खड्काको हस्ताक्षर रहेको उक्त मनोनित पत्रमा सामाजिक विकास मन्त्रालय, जिल्ला प्रशासन कार्यालय डडेल्धुरा र जिल्ला खेलकुद समिति डडेल्धुरालाई बोधार्थ लेखिएको छ ।
अध्यक्षमा मनोनित भएका ऐर सानै देखि भलिबलका खेलाडी हुन । विद्यालयबाटै भलिबल खेलमा सहभागिता जनाउदै आएका ऐरले सुदूरपश्चिमबाट भलिबल टिममा क्याप्टेनको भूमिका निर्वाह गर्दै राष्ट्रिय खेलहरुमा प्रतिशपर्धा गरेका थिए ।
उनी डडेल्धुरा बहुमूखि क्याम्पसको पूर्व स्वतन्त्र विद्यार्थी युनियनको सभापतीसमेत रहेका थिए । खेलकुदसंगै सामाजिक क्षेत्रमा सक्रिय युवा ऐर हाल नेपाली कांग्रेसको डडेल्धुराबाट महाधिवेशन प्रतिनिधिसमेत रहेका थिए ।













