शक्ति देखाउन धामीले बालुवा खाने घटाल विशु जाँत आज

Image

डडेल्धुरा । देवताले आफ्नो शक्ति देखाउन धामी कापेर बालुवा खाने प्रशिद्ध एवं शक्तिशाली मानिने घटाल बाबाको जाँत (मेला) वैशाख २ गते आज बुधबार लाग्दै छ । भिम र हिडम्बाका पुत्र घतोत्कचको बिधिवत रुपमा पूजाआजा हुने घटालथानमा प्रत्येक नयाँ वर्षको २ गते मेला (जाँत) हुने गरको छ ।

घटाल बाबाको पूजाआजासंगै लाग्ने मेला विशु जाँतमा पूजाआजा पछि घटाल बाबाका धामि कापेर बालुवा खाने गर्छन । घटाल बाबा एवं घटोत्कचको शक्ति प्रदर्शनका रुपमा देवताका धामिले बालुवा खाने गरेको घटाल क्षेत्र विकास समितिका अध्यक्ष कृष्ण बोहराले बताए ।

उनका अनुसार घटालको देउरो (आभूषणसहितको डोली, शंक, घण्टा, नेजाध्वजा) महाकाली नदीको परशुराम धाममा स्नान गरिन्छ । पहिले घटालका धामिले सात सुप्पा (करिब डेढ कुन्टल) बालुवा खाने भएकाले जोगबुडा स्थित रंगुन खोला किनारको एक स्थनमा सात सुप्पे भन्ने स्थान नै नामाकरण गरिएको उनले बताए । हालभने देवताका धामि कापेर थोरै भएपनि बालुवा खाने गरेको देख्न सकिने उनको भनाई छ ।

घटालथान मसान भएकाले यसको ठूलो महिमा छ । अन्तिम संस्कार घटालथानमा थरिने भएकाले यस क्षेत्रका स्थानीयको आस्था घटाल देवतामा बढी रहेको उनी बताउछन । भाकल गरे अनुसारको मनोकमना पुरा हुने भएकाले घटालमा स्थानीयको घुईचो लाग्ने गरेको छ । अमरगढी नगरपालिका ३ डोटी खोलमा रहेको घटालथान क्षेत्रमा छ वटा मन्दिरहरु रहेको उनले जानकारी दिए ।

घटाललाई असिग्राम देवताको द्धारपालका रुपमा लिईन्छ । उनले भने, घटालका चार वटा द्धारपाल डुणेश्वर देवताका मन्दिर यस क्षेत्रका चार वटा ठाउँमा रहेका छन । डुणेश्वर देवता घटालका आनबान हुन । घटाल देवताका धामिसंगै द्धारपाल डुणेश्वर र मसानीका धामिलेसमेत बालुवा खाने गर्छन ।

किंवदन्तीअनुसार डोट्याली राजा नागी मल्लकी पुत्रविहीन रानीले भारतको गढवालबाट घटाल देउता दाइजोमा ल्याएको तर देउतालाई अहिले मन्दिर रहेको स्थानबाट दरबारसम्म लैजान नसकिएपछि त्यहीँ नै घटालबाबा स्थापना गरिएको हो ।

पश्चिमी क्षेत्रमा आस्तिकहरू माझ घटालबाबाले मनोकामना पूरा गरिदिने जनविश्वास रहँदै आएको छ । विशु जाँतको एक दिनअघि चम्सालमा रहेको देवघरबाट देउताको देउरो घटालस्थान पुर्याइने वडा नं. ३ का वडा अध्यक्ष तिर्थ ऐरले बताए । विशु जाँतका बेला आफ्नो थातथलो छोडेर टाढा पुगेकाहरु पनि एकै दिनका लागि भएपनि घर फर्कने गरेको उनले जानकारी दिए ।

द्वापरयुगमा कुरुक्षेत्रमा भएको कौरव र पाण्डव बिचको धर्मयुद्धमा भीमपुत्र घटोत्कचले ठूलो पराक्रम प्रदर्शन गरेको धार्मिक ग्रन्थहरुमा उल्लेख भएको पाईन्छ । घटोत्कचले कौरव सेना माथी धावा बोलेर ठूलो क्षति पुर्याएको धार्मिक ग्रन्थहरुमा उल्लेख छ ।

लडाइ मैदानमै वीरगति प्राप्त गर्नुभएका घटोत्कचको पराक्रम देखेका श्रीकृष्णले उनलाई कलियुगमा ख्याति प्राप्त भगवानका रुपमा मान्यता पाउने वरदान दिएको परापूर्वकाल देखिको भनाइ रहेको छ । सदियौदेखि त्यहि मान्यता अनुरुप घटाल बाबालाइ यसक्षेत्रका बासिन्दाले ठूलो धार्मिक आस्था र सम्मानकासाथ धार्मिक परम्परा अनुसार पूजाआजा गरि जाँत मनाउने गरिरहेका छन ।

घटाल जाँतका दिन अमरगढी नगरपालिकाले सार्वजनिक बिदासमेत दिने गरेको छ । मेलाको अवसरमा नगरपालिका तथा मातहतका सबै निकायहरू बन्द रहने गरेको नगरप्रमुख दिल्लिराज जोशीले जानकारी दिए ।