जोखिम मोलेर डुङ्गाको भरमा महाकाली तर्न बाध्य जोगबुडाबासी

Image
परशुराम नगरपालिदका–५ परिगाउँ स्थित बांघाटमा डुङ्गा चढेर महाकाली नदी तर्दै स्थानीय । तस्बिरः लोकेन्द्र बोहरा

डडेल्धुरा । जिल्लाको करिब आधा ५० हजार जनसंख्या रहेको भित्रिमधेश जोगबुडा क्षेत्रबाट रोजगारी र दैनिक उपभोग्य वस्तुदेखि औषधि उपचारका लागि नजिकको अस्पताल, बजार क्षेत्र भारतको टनकपुर, बनवासा पर्छ । नयाँ वर्षलाई सुदूरपश्चिममा बिसु पर्वका रुपमा मनाईने भएकाले अहिले रोजगारीका लागि भारतका विभिन्न शहर पुगेका अधिकांस स्थानीय घर फर्किएका छन । बिसु सकियो फेरी भारत तर्फ नै फकिने छन उनीहरु ।

दैनिक सयौँको संख्यामा भारतबाट घर फर्किने र भारतका बजार आउजाउ गर्ने स्थानीय सिमा नदी महाकालीमा जोखिम मोलेरै डुङ्गाको भरमा वारपार गर्न बाध्य छन । भित्रिमधेस क्षेत्र परशुराम नगरपालिका र भारतलाई जोड्न महाकालीमा पुल नहुदा जोखिम मोलेर स्थानीय डुंङ्गाबाट वारपार गर्दै आईरहेका हुन ।

भारतको बनवासाबाट परशुराम नगरपालिका–५ परिगाउँको बांघाटको दुरी करिब १८ किमि मात्रै छ । बनबासाबाट ४५ मिनेटको यात्रामा यहाँ पुग्न सकिन्छ । तर कञ्चनपुरको गड्डाचौकी–महेन्द्रनगर भएर जोगबुडा आउदा १०० बढी किमि पर्ने भएकाले जोखिम मोलेरै भएपनि डुङ्गा चढेर महाकाली नदी तर्न स्थानीय बाध्य भएको परशुराम नगरपालिका–१२ का स्थानीय हरिष भट्टराईले बताए ।

महाकालीमा पुल भईदिए आउजाउ गर्न निकै सहज हुन्थ्यो । परशुराम नगरपालिका–५ परिगाउँकी स्थानीय सरस्वती खड्काले भनिुन्, चुनावका बेला नेताहरुले भाषणमा पुल बनाउने भन्दै मत माग्दै आएको धेरै भयो । तर यहाँ हालसम्म झोलुंगे पुलसमेत बन्न नसक्दा हामिहरु डुंङ्गाको भरमा नदी वारपार गर्न बाध्य छौ ।

जोगबुडा क्षेत्रका स्थानीय दैनिक उपभोग्य वस्तु खरिद गर्नसमेत भारतिय बजार ठूलीगाड, बुम, टनकपुर, बनवासा पुग्ने गरेको उनले बताईन । कृषि उपजले भारतिय बजारमा राम्रो मूल्य पाउने र उपभोग्य वस्तुहरु सुफत मूल्यामा खरिद गर्न पाईने भएकाले परशुराम नगरपालिकालगायत आलिताल गाउँपालिकाका स्थानीयहरु भारतिय बजार आउजाउ गर्ने गरेको उनको भनाई छ ।

महाकाली तरे पछि भारतिय सिमामा कालोपत्रे सडक छ । औषधी उपचारका लागिसमेत भित्रिमधेशवासी भारतको खटिमा, बरेली बजारका अस्पतालमा पुग्ने गरेको वडा नं. ६ का वडा अध्यक्ष खगेन्द्र बहादुर सिंहले बताए । परशुराम नगरपालिका–५ को परिगाउ स्थित महाकाली नदीको बांघाट र वडा नं. ६ को सिसमझालामा नदी तर्ने दुई वटा घाट छन । यी दुई घाटबाट दैनिक सयौको संख्यामा स्थानीय महाकाली नदी वारपार गर्ने गर्दछन । रोजगारीको सिलशिलामा भारतका विभिन्न शहर पुग्ने भित्रिमधेशवासीहरु यही घाटबाट डुङ्गा तर्दै वारपार गर्दै आईरहेको उनले बताए ।

महकाली नदीमा पुलको माग गरे पनि हाल सम्म कुनै सुनुवाई हुन नसकेको वडा अध्यक्ष सिंहले बताए । दुई वटै घाटमा डुङ्गा सञ्चालन गर्न वडा कार्यालयहरुले बढाबढीमा मोलमोलाई गरि ठेक्का सम्झौता गरेको उनले बताए ।

भारतको उत्तराखण्डमा रहेको पूर्णागिरि धाम र नेपाल तर्फको परशुराम धामका पर्यटक जोड्न महाकालीमा पुल आवश्यक छ । भगवान परशुरामले ध्यानगरि यज्ञको आयोजना गरेको परशुराम धाममा माघे सक्रान्तिका दिन ठूलो मेला लाग्ने गर्दछ । सुदूरपश्चिम, नेपालका विभिन्न स्थान लगायत भारतबाटसमेत ठूलो संख्यामा स्नान गर्नेहरु परशुरामधाम पुग्ने गर्दछन ।

सूर्य र चन्द्र ग्रहण लागेका दिन, नयाँ वर्षका दिन पनि परशुराम धाममा स्नान गर्नेको बाक्लो भिड हुन्छ । यहाँका विभिन्न देवताको देउरोलाई समेत स्नान गर्ने धार्मिक प्रचलन रहिआएको परशुराम क्षेत्र विकास समिति पूर्व अध्यक्ष कैलाश कुमार पाण्डेयले बताए । तर महाकाली नदीमा पुल नहुदा आउजाउ गर्न समस्या हुने र सबै आस्थावानहरु आउन नसक्ने अवस्था रहेको उनले बताए ।

महाकालीमा पुल निर्माण भए स्थनीयलाई भारतिय बजार आउजाउ गर्न सहज हुनुकासाथै परशुराम धाममा धार्मिक पर्यटक बढ्ने आशा स्थानीयहरुको छ ।