डडेल्धुरा । तिहार पछि डडेल्धुराका विभिन्न मठमन्दिरहरुमा धार्मिक पूजाआजसंगै मौलिक साँस्कृतिका साथ हुने मेलाको रौनक सुरु भएको छ । जाँतमा देविदेवताको पूजाआजासंगै धामिको नाच, स्थानिय मौलिक बाँजागाजा चौलो, देउडा हुने गरेकाले जाँतमा रौनकता थपिने गरेको छ । यहाँका गाउँघरमा अहिले दैनिक रुपमा कुनै न कुनै देवि देवताको पूजाआज गरी जाँत भईरहेका छन ।
वर्ष दिनमा हुने बिषेश पूजाआजासहित भेला भर्न पहाडबाट अन्यत्र गएकाहरु थातथलो फर्किने गर्दछन । यस कारण मेलामा देविदेवताको पूजाआजसंगै आफन्तजनहरु संग भेटघाट र भलासुकालीले मेलाको रौनक बढाउछ ।
कुनै पनि काम गर्न अघि कुल देवता एवं शक्तिशालि मानिने देवतालाई भाकल गर्ने चलन रहेको डडेल्धुरा लगायत सुदूरपश्चिममा काम पुरा भएपनि देवदेवतालाई भाकल गरेको वस्तु चढाउन घर बाहिर रहेकाहरु पुख्यौली थातथलो फर्किने गरेको पण्डित लोकराज भट्टले बताए ।
तिहार पछिको पहिलो मेला शैलेश्वर महादेवमा लाग्ने गरेको छ । भाईटिकाको ठिक पाँच दिन पछि कात्तिक शुक्लपक्ष खष्टिका दिन मसानवासी शैलेश्वर महादेवको धार्मिक बिधिवत रुपमा राति पूजाआजासहित भेला लाग्ने गरेको उनले बताए । जिल्ला सदरमुकामको अमरगढी नगरपालिका ७ र नवदुर्गा गाउँपालिका १ को सिमाना खोला किनारमा रहेको शैलेश्वर महादेवको राति पूजाआजा गरिन्छ । अर्काेदिन बिहान मन्दिरबाट फर्किएर अमरगढी ७ सल्ला गाउँमा रहेको देउखले मन्दिरमा पनि बिषेश पूजाआजाका साथ मेला लाग्ने गरेको वडा अध्यक्ष खडक बोहराले जानकारी दिए ।
शैलेश्वर महादेव मन्दिरको गातका पुजारी क्षेत्री जाती अमरगढी नगरपालिका ८ लटाउनी निवासी साँकी हुन । तर पुजारीका पुस्तामा धार्मिक परम्परा अनुसारको शक्ति प्रदान नभएपछि करिब ४० वर्षयता गात बाहेको पातली पूजाआजा हुदै आएको छ । गातका पुजारी बाहेक ब्राहणहरुमा नवदुर्गा गाउँपालिका १ का भट्ट, अमरगढी नगरपालिका ६ छचोडाका पन्त, वडा नं. ८ को हतर्का गाउँका भट्ट र अजयेमरु गाउँपालिका १ पालिगाउँका भट्ट जातीले पूजाआजा गर्दै आईरहेका छन ।
साँकी जातीका पुजारीले नवरात्रीमा खष्ठिको दिन उग्रतारा भगवती माताको मन्दिरबाट धामी कापेर शैलेश्वर मन्दिर पुग्ने धार्मिक परम्परा रहेको थियो । वडा अध्यक्ष बोहराले भने, मन्दिर वारी रहेको खोलामा पुगेर बस्त्र फुकाली मन्दिरमा रहेको सानो झ्यालबाट भित्रि पस्ने चलन थियो । साँकी पुजारीका छोरा हरी साँकी अलिे पनि छन । उनका बुवाको करिब ४० वर्ष अधि मृत्यु भएपछि हालसम्म उक्त शक्तिशालि धार्मिक परम्परा अनुरुपको चलन देखिएको छैन ।












