डडेल्धुरा । चुरे पर्वतको दुर्गम वस्ति बडी मलासमा एक जना स्थानीयले व्यावसायीक कालिज पालन गरेका छन । कञ्चनपुरको भिमदत्त नगरपालिकासंग सिमा जोडिएको डडेल्धुराको परशुराम नगरपालिका ७ बडीमलासमा स्थानीय दलबहादुर जागरीले अष्ट्रेलियन कालिज पालन गरेका हुन । उनले गत वर्षदेखि कालिज पालन सुरु गरेको बताए । कालिजसंगै स्थानीय जातका कुखुरापनि छन ।
परशुराम नगरपालिकाको मुकाम वडा नं. १२ को लालढुंगा बजार देखी करिब ३० किलोमिटर टाढा चुरे पर्वतमा रहेको मलास गाउँमा उनले पहिलो पटक ३५० वटा कालिजका चल्लाबाट सुरुवात गरेका थिए । करिब पाँच रोपनी जमिनमा तारजालीले घेरवार र माथिपनि नाईलन जालीले क्षेत्रफल ओगेटेर कालिज पालिन सुरु गरेको उनले बताए । मिसन मिसान्त कालिज फर्म दर्ता गरि कालिज पालन सुरु गरेको उनले जानकारी दिए । फर्म भने उनकी श्रीमती गीता धामी जागरीका नाममा दर्ता छ ।
मलासबाट कञ्चनपुरको महेन्द्रनगर बजार १६ किलोमिटरको दुरीमा रहेकाले कालिजको बजार उतैतिर भएको उनले बताए । गाउँमा बिक्रि गर्दा भाले काजिको दुई हजार पाँच सय रुपियाँ र पोथी काजिको मूल्य दुई हजार रुपियाँका दरले बिक्रि गर्ने गरेको उनको भनाई छ । तर १५० कालिज एकै पटक व्यापारीले खरिद गर्दा भाले र पोथी कालिजमा ५०० रुपियाँ घटाईएको उनले बताए ।
कालिज पालन गर्न बनाईने संरचना एयरपोर्ट जाली करिब एक लाख, नाईलनको जाली करिब ७० हजार, खोर निर्माण, चल्ला खरिद र एक वर्षसम्म कालिजलाई चारो खुवाउदा करिब ६ लाखसम्म खर्च भएको उनले जानकारी दिए । कालिजका प्रति चल्ला २५० रुपैयाँका दरले खरिद गरि कैलालीको खानीडाडाबाट ल्याएको उनले बताए ।
कालिजलाई मैकै, धान, गहु, घांससंगै टर्कीलाई खुवाईने एल थ्री नामक दाना खुवाउने गरेको उनले बताए । करिब एक वर्ष पाल्दा तीन सय बढी कालिजले ७० हजार रुपियाँसम्मको दाना खाएको उनको भनाई छ । ३५० चल्ला मध्ये करिब ३५ चल्ला मरेको र ३१५ कालिज बिक्रि गर्दा एकै वर्षमा लगानी उठाउन सकिएको उनको भनाई छ । उनको कालिज फर्ममा अब करिब ३५ वटा कालिज मात्रै बिक्रि गर्न मात्रै बाँकी छन ।
मलास पुग्न कच्चि सडक बाटो भएपनि नियमित गाडी संचालनमा नआएको उनले बताए । वर्षातका चार महिना भने सडक पुरै अवरुद्ध हुने उनको भनाई छ । बिजुली पनि पुगेको छैन । उनले भने, खानेपानीको साह्रै समस्या थियो । दुई वर्ष पहिले दुई वटा सोलार लिफ्ट खानेपानी बनेपछि माथिका वस्तिहरुलाई केही सहज भएको छ । तलका चार, पाँच वटा वस्तिहरुमा भने अझै खानेपानीको चरम समस्या छ ।
आकाशे पानीको भरमा गरिने खेतीपातीले तीन महिना पनि खान नपुग्ने भएपछि आयआर्जन बृद्धिका लागि कालिज पालन सुरुवात गरेको उनले बताए ।












