अमरगढी किल्लाको कोतघर एक वर्षमै भत्किएपछि नयाँ निर्माण गरिदै

Image

डडेल्धुरा । ऐतिहांसिक अमरगढी किल्लामा निर्माण गरिएको कोतघर एक वर्षमै भत्किएपछि हाल नयाँ कोतघर निर्माणको काम थालिएको छ । जिल्ला सदरमुकामको सबैभन्दा अग्लो स्थान अमरगढी नगरपालिका ५ मा अवस्थित अमरगढी किल्लामा चार वर्ष पहिले २०७७ सालमा २० लाख रुपैयाँ लागतमा निर्माण गरिएको कोतघर एक वर्ष नपुग्दै छत भत्किने अवस्थामा पुगेको थियो । ढुंगाले चिनाई गरि पत्थरले छानो छोईएको कोतघरको छानोको धुरीबासो लच्किएपछि भत्किने अवस्थामा पुगेको थियो ।

गत आर्थिक वर्ष २०८१/०८२ मा डेढ करोड लागतमा कोतघरसंगै किल्ला भित्र र बाहिर पत्थर बिछाउनेगरि ठेक्का सम्झौता भएको सहरी विकास तथा भवन निर्माण विभाग, संघीय आयोजना कार्यान्वयन इकाई धनगढीका प्राबिधिक दिपक ओझाले जानकारी दिए । उनका अनुसार बजेट ढिला गरि प्राप्त भएपछि असार महिनाको पहिलो साता मात्रै ठेक्का सम्झौता भएको थियो । यस वर्ष काम नसकिने भएपछि म्याद थप गरि चालु आर्थिक वर्ष २०८२/०८३ मा काम सम्पन्न गर्ने योजना रहेको उनले बताए ।

नेपाली सेनाको अमरगढी नगरपालिका १ दहमा रहेको अर्जुनवाण गण र कार्यालयले साईड क्लियर गरि ठेक्का सम्झौता गरेको प्राबिधिक ओझाले जानकारी दिए । अहिले कोतघर निर्माणका लागि फाउन्डेसन तयार गरिएको उनले बताए । पुरानो कोतघरको भग्नावषेश मात्रै रहेको अमरगढी किल्ला भित्र नेपाली सेनाको नागरिक सैनिक सम्बन्ध कार्यक्रम अन्तरगतको २० लाख रकम लागतमा २०७७ सालमा कोतघर निर्माण गरिएको थियो ।

गत आर्थिक वर्षमा नेपाली सेनाको अर्जुनवाण गणले अमरगढी किल्ला भित्र प्रवेश गर्ने मुख्यद्धारकोसमेत जिर्णोदार गरेको छ । सेनाले २५ लाख रकममा ठेक्का सम्झौता मार्फत सुरुङ मार्गमा सालको काठ लगाई बाटो निर्माण गरेको हो । काठका आडमा ठूला ढुंगाले बनेको किल्लामा काठ कुहिएपछि ढुंगा भत्किने अवस्थामा पुगेका छन । केही ठाउँमा भत्किएका छन । सुरुङ मार्गमा काठ लगाईएको किल्ला क्षेत्र विकास समितिका अध्यक्ष प्रविन जैरुले जानकारी दिए । उनका अनुसार सेनाले सुरुङ मार्गसंगै चौतारो निर्माण, आगनमा पत्थर लगाउने काम गरि रहेको छ ।

यसैगरि किल्ला बाहिर अधुरो रहेको स्थानमा अमरगढी नगरपालिकाले ५० रकम बराबरको पर्खालकासाथै किल्लासम्म जाने आरसिसि बाटो निर्माण गरेको छ । अमरगढीका प्राबिधिक जनक रोस्याराका अनुसार खलंगा बजार तर्फ पर्खाल लगाउन बाँकी थियो । २५ वटा पिल्लर दिएर अढाई मिटर उचाईको १०० मिटर लामो पक्कि पर्खाल निर्माण गरिएको उनले बताए । पर्खाल बाहिर अहिले अमरगढी किल्लाको दृष्यसंगै ऐतिहांसिक डोटेली राज्यको राजधानी अजयमेरुकोट, उग्रतारा भगवती मन्दिरलगायतका धार्मिक सांस्कृत धरोहरका तस्बिर पेन्टिङ गरिएका छन ।