डडेल्धुुरा । चुरे पहाडको भाबर क्षेत्रमा अवस्थित भित्रिमधेश जोगबुडा पछिल्ला वर्षहरूमा तीव्र भौतिक पूर्वाधार विकाससँगै सुगम बन्दै गएको छ । एक समय कच्ची सडक, बाढीले बगाउने खोला र आधारभूत सेवाको अभावले चिनिएको यो क्षेत्र आज कालोपत्रे सडक, मोटरेबल पुल, अस्पताल, क्याम्पस, विद्युत, सिचाई कुला र खानेपानीको पहुँचसँगै नयाँ पहिचान बनाउँदै छ ।
कच्चीबाट कालोपत्रे सम्मः बुडर–जोगबुडा सडकको प्रभाव
पाँच वर्षअघिसम्म डोटीको बुडर बजारदेखि जोगबुडा क्षेत्र—आलिताल गाउँपालिका र परशुराम नगरपालिकाको मुकाम लालढुंगा बजारसम्म—कच्ची सडक मात्र थियो । वर्षातका बेला खोलामा पुल नहुँदा सडक अवरुद्ध हुन्थ्यो र स्थानीयले सास्ती खेप्नुपथ्र्याे ।
२०७७ सालमा बुडर–जोगबुडा ३० किमि सडक कालोपत्रे भएपछि अवस्था फेरियो । आलितालको जालटुडा, बाघखोली तथा परशुरामको आमपानी, गाईबाधे र रंगुन खोलामा मोटरेबल पुल निर्माण भएसँगै आवत–जावत सहज भएको छ । आलितालको सुनखोलामा यसअघि नै मोटरेबल पुल बनेको थियो, जसले वर्षायाममा बारम्बार बन्द हुने सडकलाई राहत दिएको स्थानीय जेष्ठ नागरिक नरबहादुर साउदको अनुभव छ ।
उनका अनुसार चुरेको माथिल्लो क्षेत्रमा सानो वर्षा हुँदा पनि सुनखोलामा आउने बाढीले सडक बन्द हुन्थ्यो । अहिले पुल र कालोपत्रे सडक भएपछि त्यस्तो समस्या छैन । जोगबुडा दैजि सडक खण्ड कालोपत्रेको चरणमा हुदा हालसम्म लालढुंगा बजारबाट गाईबाधे बजारसम्म कालोपत्रे भईसकेको छ ।
सेवा–सुविधाको विस्तारः अस्पतालदेखि विश्वविद्यालयसम्म
भौतिक पूर्वाधारसँगै सामाजिक पूर्वाधार पनि विस्तार भएको छ । गत पुस महिनाको पहिलो साता मात्रै जोगुबडा अस्पताललाई प्रदेश अन्तरगत राखेर ५० शैय्यामा स्रोन्नती गरिएको छ । त्रिबेणी क्याम्पस सुदूरपश्चिम विश्वविद्यालयको आंगिक क्याम्पस हो । विद्यालय, सिंचाइ कुला, घरघरमा धारा, विद्युतिकरण, खेलमैदान र टेलिफोन टावर निर्माणले जोगबुडाबासीलाई सुगम क्षेत्रको अनुभूति दिलाएको उनले बताए ।
कृषि उत्पादनका लागि परिचित जोगबुडामा सडक पुगेपछि थ्रेसरजस्ता उपकरण गाउँमै भित्रिएका छन । गहुँ छुट्याउने काम सहज भएको छ । कृषि उपज बजारसम्म पुर्याउन अब पिठ्यूँमा बोकेर दिनभर हिँड्नुपर्ने बाध्यता हटेको छ ।
विगतको कठिन यात्राबाट वर्तमानको सहजता
२०३६ सालतिर हालको अमरगढी नगरपालिका–९ साउनगाउँबाट परशुराम नगरपालिका–१२ मोटाहल्दु गाउँ सर्नु भएका नरबहादुर साउदले त्यतिबेला बाटोघाटोको अभाव स्मरण गर्दै भन्छन, खोला किनारबाट पानी ल्याउँदा हराउने अवस्था थियो । घना जंगलर झाडीले गएको बाटो बिर्सेर अर्कै बाटो घर पुग्थ्यौ ।
त्यो समय जोगबुडाबाट पैदल कञ्चनपुरको महेन्द्रनगर बजार पुग्न एक दिन लाग्थ्यो । गाउँको अन्न पिठ्यूँमा बोकेर बेच्न जानु र नुन, गुड, लत्ताकपडा बोकेर फर्कनु सामान्य दिनचर्या थियो । अहिले भने सडक सञ्जाल विस्तारसँगै यातायात सेवा उपलब्ध छ र जीवनशैलीमा आमूल परिवर्तन आएको उनको भनाई छ ।
महाकाली करिडोरः सम्भावनाको नयाँ ढोका
कञ्चनपुरको भीमदत्त नगरपालिकासँग सीमा जोडिएको महाकाली नदी किनारको परशुराम नगरपालिका–७ साँदनी क्षेत्रमा पनि परिवर्तन देखिन्छ । साँदनी खोलामा पक्की मोटरेबल पुल बनेको छ, प्रहरी चौकी स्थापना भएको छ । सादँनी हुँदै महाकाली करिडोर सडक निर्माण सुरु भएसँगै यस क्षेत्रमा ६ किलोमिटर सडक कालोपत्रे भइसकेको स्थानीय मन्दिरसिंह धामी बताउछन ।
उहाँका अनुसार, करिडोर पूर्ण रूपमा सम्पन्न भएमा आधा घण्टामै गाडी चढेर महेन्द्रनगर पुग्न सकिनेछ—जुन विगतको एक दिन लामो पैदल यात्राको पूर्ण उल्टो परिदृश्य हो ।
चुनौती पनि बाँकी
यद्यपि पूर्वाधार विस्तारसँगै सबै समस्या समाधान भइसकेका छैनन । केही विद्यालयमा विद्यार्थी अभावले पठनपाठन प्रभावित छ । कृषि उत्पादनको प्रशोधन र बजारीकरणका लागि थप संरचना आवश्यक देखिन्छ । विकासको गतिलाई दिगो बनाउन रोजगारी सिर्जना, गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवामा निरन्तर लगानी जरुरी छ ।
खोला नदी किनार, चुरेको दलदले भूबनोटले निर्माण गरिएका भौतिक संरचनामा बर्षातको बाढीले क्षती पुगाउदै आएको छ । महाकाली नदी, रंगुन, पन्तुरा, साँदनी लगायतका दर्जनौ खहरे खोलाले उर्वर जमिनसंगै तटबन्ध, सिचाई, खानेपानी बाध बगाउदै आएको छ । यसका लागि दिगो भौतिक संरचनाहरु निर्माण गरिनु पर्ने उनको माग छ ।
भित्रिमधेश जोगबुडा आज चुरेको काखबाट सुगमतर्फ उन्मुख छ । सडक, पुल, अस्पताल र क्याम्पसजस्ता पूर्वाधारले यहाँको सामाजिक–आर्थिक रूपान्तरणलाई तीव्रता दिएका छन । विगतको दुःखदायी यात्रालाई सम्झँदा अहिलेको परिवर्तन ‘आकाश–पातालको फरक’ जस्तै देखिन्छ । अब आवश्यक छ, यो परिवर्तनलाई समावेशी, दिगो र उत्पादनमुखी विकासमा रूपान्तरण गर्ने दूरदर्शी योजना ।












