सुक्यो कठपतेको ठण्डो पानी

Image

बैतडी । कठपतेको ठण्डो पानी, जुलकी मिसिरी गौं जौं काट्टा धामलागलो जनभए निशुरी, सुदूरपश्चिम र कर्णालीका नागरिकको जिब्रोमा झुण्डिएको यो देउडा गीतले कुनै समय बैतडीको कठपतेस्थित न्वालो (कुवा) को चिसो पानीको महिमा गाउँथ्यो ।

गीतमा सुनिने त्यो चिसो पानीको न्वालो अहिले इतिहास बन्ने खतरामा छ । विकासको नाममा खनिएका सडक र वातावरणीय संकटका कारण कठपतेका ऐतिहासिक कुवा तथा आसपासका पानीका मुहान सुक्न थालेपछि आसपासका गाउँमा पानीको हाहाकार मच्चिएको छ ।

दशरथचन्द नगरपालिका –२ मा पर्ने कठपते क्षेत्र आजभन्दा ५० वर्षअघिसम्म बटुवाहरूको सबैभन्दा उत्तम र भरपर्दो बासस्थान थियो । कर्णाली नदीमा पुल बन्नु अघिसम्म सुदूरपश्चिम र कर्णालीका मानिसहरू नुन लिन भारत जाँदा यहीँ रात बिताउने गर्दथे ।

बटुवालाई आश्रय दिन यहाँ धर्मशाला र खानेपानीको राम्रो व्यवस्था भएकाले यो ठाउँ एउटा चल्तीको पुरानो बजारका रूपमा स्थापित थियो । आधुनिक सडक यातायातको पहुँच विस्तार भएसँगै मानिसहरूको आउजाउ घट्यो र पुराना बजार क्षेत्रका घरहरू अहिले भग्नावशेष र खण्डहरमा परिणत भएका छन् ।

कठपतेको ऐतिहासिक ढुङ्गाको छानो भएको कुवा सुक्न थालेपछि अहिले दिनभरिमा एक गाग्री पानीसमेत जम्मा नहुने स्थानीय धार्मिक अगुवा कृष्णदत्त भट्टले बताए । कठपतेको न्वालो सुकेपछि अहिले एक घण्टा ओरालो झरेर सुतेगाड खोलाबाट पानी भरेर जीविका चलाउनु परेको उनले बताए । पानीकै अभावबारे स्थानीय सरकारलाई जानकारी गराए पनि कुनै सुनुवाइ नभएको स्थानीयको गुनासो छ ।

पानीका मुहान समेत सुक्दा आसपासका गाउँहरू काकाकुल बनेका छन् । पानीको चरम अभाव भएपछि स्थानीय नागरिकहरू आफ्नो थातथलो छोडेर अन्यत्र बसाइँ सर्न बाध्य भएको स्थानीय जयदेव पाण्डेयले बताउनुभयो । पानीका कारण गाउँ नै रित्तिने अवस्था आउनुको मुख्य कारण जथाभाबी सडक खनिनु रहेको स्थानीयबासी बताउँछन् ।

पछिल्लो समय सडक निर्माण कार्य तीव्र भएसँगै जमिनको बनोट बिग्रिएर यहाँका परम्परागत कुवा, न्वालो र प्राकृतिक मुहानहरू सुक्न थालेका छन् । यसलेगर्दा सर्वसाधारणको दैनिक जीवन कष्टकर बनेको छ ।

भौगोलिक रूपमा कठपते क्षेत्र अहिले पनि देहिमाण्डौं, सदरमुकाम गोठालापानी, जर्ग गाउँ र सुतेगाड (सिता गाड) मन्दिर जाने मुख्य मार्गको सङ्गमस्थल हो । यो क्षेत्र धार्मिक दृष्टिले पनि निकै प्रसिद्ध छ । स्थानीय निङ्लासैनी भगवतीको मेला भर्न बैतडी सदरमुकामबाट जाने तीर्थालुहरूका लागि कठपतेको चौतारो शीतलता दिने प्रमुख आश्रयस्थल बन्दैआएको छ ।

यस चौतारोमा करिब दुईसय वर्ष पुरानो सिलङ्गाको ऐतिहासिक रुख छ, जसले शताब्दीऔँदेखि बटुवाहरूलाई छहारी दिइरहेको छ । तर, उचित संरक्षण र मर्मतको अभावमा यो ऐतिहासिक चौतारो अहिले जीर्ण हुँदैगएको छ । चौतारोका ढुङ्गा जताततै छरपस्ट भएका छन् भने रुखका जराहरू जमिनबाहिर नाङ्गै देखिन थालेका छन् ।

प्रकृतिको यो ऐतिहासिक र सांस्कृतिक धरोहरलाई जोगाउन जरुरी रहेको सामाजिक अगुवा महेशदत्त भट्टले बताए । कठपतेको कुवाको संरक्षण गरेर स्थानीयबासीलाई खानेपानीको व्यवस्था गर्न सरोकारवाला निकायले तत्काल कदम चाल्नुपर्ने उनको भनाइ छ ।