भारतमा चिनी महँगिएपछि उपभोक्तालाई दोहोरो मार

Image

कञ्चनपुर । भारतमा चिनीको मूल्य बढेपछि सीमावर्ती कञ्चनपुरका उपभोक्तालाई त्यसको प्रत्यक्ष असर परेको छ। केही सातायता भारतीय बजारमा चिनीको मूल्य बढेपछि सीमावर्ती क्षेत्रमा समेत चिनीको भाउ प्रतिकिलो १३० रुपैयाँसम्म पुगेको छ।

विगतमा भारतबाट ल्याइएको चिनी प्रतिकिलो ९० रुपैयाँसम्ममा खरिद गर्दै आएका उपभोक्ताले अहिले ४० रुपैयाँसम्म बढी तिर्नुपरेको छ। बेलौरी नगरपालिका–३ का जग्गुराम डगौराले पहिले ९० रुपैयाँमा पाइने चिनी अहिले १३० रुपैयाँ तिर्नुपरेको गुनासो गरे ।

मूल्य बढेपछि चिनीको प्रयोगसमेत घटाउन थालेको स्थानीय लोकेन्द्र चौधरीले बताए। भारतबाट चिनी ल्याएर भन्सार तिरी स्थानीय बजारमा बिक्री गर्दै आएका व्यवसायी मनीराम चौधरीका अनुसार बढेको खरिद मूल्यका कारण चिनी महँगोमा बेच्नुपरेको हो।

सुदूरपश्चिममा कञ्चनपुरमा दुईवटा चिनी उद्योग सञ्चालनमा छन्। तर स्थानीय उद्योगको चिनी र भारतीय चिनीको मूल्यमा लामो समयदेखि अन्तर रहेकाले कञ्चनपुर र कैलालीका उपभोक्ता भारतमा निर्भर हुँदै आएका व्यवसायी बताउँछन्।

व्यवसायी हरिस थापाका अनुसार विगतमा भारतीय बजारमा प्रतिकिलो ७० रुपैयाँ पर्ने चिनी स्थानीय चिनी मिलबाट ९० रुपैयाँमा खरिद गर्नुपर्दा उपभोक्ताले भारतीय चिनी नै रोज्ने गरेका थिए।

तर अहिले भारतमै चिनी महँगिएपछि स्थानीय उत्पादनको माग बढ्न थालेको व्यवसायीको भनाइ छ। शुक्लाफाँटा नगरपालिका–१० की रमा साउदले विगतमा १०० रुपैयाँमा पाइने चिनी अहिले १४० रुपैयाँसम्म तिर्नुपरेको बताए।

उनले स्थानीय चिनी उद्योगले सहज मूल्यमा चिनी उपलब्ध गराउन सके भारतमाथिको निर्भरता घटाउन सकिने बताए।

बेलौरी नगरपालिका–१० स्थित महाकाली चिनी मिलका सूचना अधिकारी कालु सिंह ठगुन्नाले कच्चा पदार्थको अभाव र उत्पादन लागतका कारण भारतीय चिनीभन्दा सस्तोमा चिनी बिक्री गर्न कठिन भएको बताए।

उनका अनुसार कञ्चनपुर र कैलालीका उपभोक्ता वर्षौंदेखि भारतबाट चिनी ल्याएर प्रयोग गर्ने गरेका कारण स्थानीय उद्योगको उत्पादनले पर्याप्त बजार पाउन सकेको छैन। भारतीय चिनी स्थानीय बजारमा सहज रूपमा उपलब्ध हुँदा यहाँका उद्योगले उत्पादन गरेको चिनी सुदूरपश्चिमका पहाडी जिल्ला तथा पूर्वी नेपालसम्म पठाउनुपर्ने अवस्था आएको उनले बताए।

भारतमा चिनीको मूल्य बढेपछि भने स्थानीय उत्पादनको माग बढ्न थालेको ठगुन्नाको भनाइ छ।

महाकाली चिनी मिलले यसपटक १ लाख ८३ हजार क्विन्टल चिनी उत्पादन गरेकोमा हालसम्म १ लाख २३ हजार क्विन्टल बिक्री भइसकेको जनाएको छ। तिहारका लागि मात्रै करिब ५० हजार क्विन्टल चिनी खपत हुने अनुमान गरिएको छ।

पुनर्वास नगरपालिकास्थित भागेश्वर चिनी मिलका सूचना अधिकारी डम्मर खड्काले भारतबाट सस्तो चिनी आयात हुने गरेका कारण स्थानीय उद्योगले आफ्नै क्षेत्रमा पर्याप्त बजार पाउन नसकेको बताए।

खुला सीमा नाकाको फाइदा उठाउँदै उपभोक्ताले विगतमा भारतबाट सस्तो चिनी ल्याएर प्रयोग गर्ने गरेको उनको भनाइ छ। तर अहिले भारतीय बजारमै चिनी महँगिएपछि स्थानीय उत्पादनले कञ्चनपुरमै बजार पाउने अपेक्षा गरिएको उनले बताए।

भागेश्वर चिनी मिलले यसपटक १ लाख ८० हजार क्विन्टल चिनी उत्पादन गरेको छ। त्यसमध्ये करिब ८० हजार क्विन्टल अझै बिक्रीका लागि बाँकी रहेको खड्काले बताए।

स्थानीय बजारमै पर्याप्त चिनी बिक्री गर्न सके उद्योगको ढुवानी तथा निर्यात खर्च घट्ने र उपभोक्ताले पनि सहज मूल्यमा चिनी पाउने अपेक्षा गरिएको छ। तर उखुको पर्याप्त आपूर्ति नहुँदा उत्पादन बढाउन चुनौती रहेको उद्योगको भनाइ छ।

भारतमा चिनीको मूल्यवृद्धिले सीमावर्ती उपभोक्ताको भान्साको खर्च बढाए पनि यसले स्वदेशी चिनी उद्योगलाई भने आफ्नै बजार विस्तार गर्ने अवसरसमेत दिएको छ।