दसैँ आउनै लाग्दा पनि सुदूरपश्चिममा आएन बजेट, कर्मचारी तलबविहीन

Image

धनगढी । नेपालीको महान् पर्व बडादसैँ नजिकिँदै गर्दा पनि सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८३/८४ को बजेट ल्याउन सकेको छैन। करिब तीन महिनादेखि बजेटविहीन अवस्थामा रहेको प्रदेश सरकारले बजेट प्रस्तुत गर्ने तयारी गरे पनि विवादका कारण प्रदेश सभा बैठक लगातार स्थगित हुँदै आएको छ।

बजेट नआउँदा प्रदेश सरकारमातहतका कार्यालयमा कार्यरत कर्मचारीले साउनदेखि तलब पाउन सकेका छैनन्। दसैँ नजिकिँदै गर्दा पनि तलब नपाएपछि कर्मचारीमा चाडपर्व कसरी मनाउने भन्ने चिन्ता बढेको छ।

प्रदेश सरकारले चालु आर्थिक वर्षको बजेट प्रस्तुत गर्न बुधबार दिउँसो र बिहीबार बिहानका लागि बोलाएको प्रदेश सभा बैठक स्थगित गरिएको थियो। सभामुख भीमबहादुर भण्डारीको निर्देशनमा बैठक स्थगित गरिए पनि यसको मुख्य कारण बजेटमाथिको विवाद रहेको जनाइएको छ।

बजेट प्रस्तुतिमा देखिएको अन्योलका कारण प्रदेश सभा बैठक थप दुई दिन पछाडि सारिएको छ। प्रदेश सभा सचिवालयका सूचना अधिकारी ताराकुमारी जोशीका अनुसार सभाको अर्को बैठक असोज २४ गते बिहान ८ बजेका लागि बोलाइएको छ। उक्त बैठकमा प्रदेश सरकारले चालु आर्थिक वर्षको बजेट प्रस्तुत गर्ने कार्यसूची रहेको उनले जानकारी दिइन्।

असोज २४ गते बजेट प्रस्तुत गर्न सके त्यसलाई फास्ट ट्र्याकबाट पारित गर्न सकिने जनाइएको छ। प्रदेश सभा सचिवालयका उपसचिव (कानुन) लक्ष्मीप्रसाद जोशीका अनुसार सरकारले चाहेमा प्रदेश सभा नियमावली र संविधानका सम्बन्धित प्रावधान निलम्बन गरेर बजेट पारित गर्ने प्रक्रिया छोट्याउन सकिनेछ।

तर, बजेट प्रस्तुतिमा भइरहेको ढिलाइले प्रदेश सरकारका नियमित कामकाज र कर्मचारीको तलब भुक्तानी प्रभावित भएको छ। दसैँअघि बजेट आउने र तलब पाउने आशामा रहेका कर्मचारीका लागि अब असोज २४ गतेको प्रदेश सभा बैठक महत्त्वपूर्ण बनेको छ।