बडादसैँको पाँचौँ दिनः स्कन्दमाताको पूजा आराधना गरिँदै

Image

काठमाडौँ । बडादसैँको पाँचौँ दिन बिहीबार नवदुर्गामध्येकी पाँचौँ देवी स्कन्दमाताको पूजा आराधना गरिँदै छ। धार्मिक मान्यताअनुसार भगवान् शिव र माता पार्वतीका ज्येष्ठ पुत्र कार्तिकेय (स्कन्द) की माता भएकाले उनको नाम स्कन्दमाता रहन गएको हो।

देवी स्कन्दमाताको स्वरूप शान्त र ममतामयी रहेको छ। सिंहलाई वाहन बनाउने उनी चार हात भएकी देवीका रूपमा पूजिन्छिन्। उनको माथिल्लो दायाँ हातमा बालक स्कन्दलाई काखमा राखिएको हुन्छ भने तल्लो दायाँ हातमा कमलको फूल हुन्छ। त्यस्तै, माथिल्लो बायाँ हात वरमुद्रामा र तल्लो हातमा कमलको फूल रहेको हुन्छ। कमलको आसनमा विराजमान हुने भएकाले उनलाई ‘पद्मासना देवी’ पनि भनिन्छ।

तारकासुरको वधसँग जोडिएको पौराणिक कथा

पौराणिक कथाअनुसार तारकासुर नामको शक्तिशाली राक्षसले ब्रह्माजीको कठोर तपस्या गरी शिवजीका पुत्रबाट मात्र आफ्नो मृत्यु हुने वरदान पाएको थियो। सतीदेवीको आत्मदाहपछि भगवान् शिव गहिरो ध्यान र वैराग्यमा लीन भएकाले उनको विवाह र सन्तान हुने सम्भावना नरहेको ठानेर तारकासुरले आफूलाई लगभग अजेय सम्झेको थियो।

वरदान पाएपछि उसले तीनै लोकमा अत्याचार मच्चाउन थाल्यो र देवताहरूलाई स्वर्गबाट समेत भगायो। त्यसपछि पीडित देवताहरू ब्रह्मा र विष्णुको शरणमा पुगे।

देवताहरूको प्रार्थना र लोककल्याणका लागि माता पार्वतीले कठोर तपस्या गरी भगवान् शिवसँग विवाह गरिन्। शिव र पार्वतीको तेजबाट कुमार कार्तिकेय (स्कन्द) को जन्म भयो। बालक स्कन्दलाई युद्धकलामा निपुण बनाउन माता पार्वतीले ममतामयी माताको स्वरूप धारण गरिन्। उनको यही स्वरूप स्कन्दमाताका रूपमा प्रसिद्ध भयो।

पछि स्कन्द देवताका सेनापति बनेर तारकासुरको वध गर्न सफल भए। यससँगै देवताहरूले राहत पाए र तीनै लोक तारकासुरको अत्याचारबाट मुक्त भएको पौराणिक विश्वास छ।

सन्तान सुख र ज्ञान प्राप्तिका लागि स्कन्दमाताको पूजा

स्कन्दमाताको पूजा आराधना गर्दा भक्तजनका मनोकामना पूरा हुने र परमशान्ति प्राप्त हुने धार्मिक विश्वास छ। उनको काखमा बालक स्कन्द विराजमान हुने भएकाले सन्तान सुखको कामना गर्ने दम्पतीले विशेष रूपमा उनको पूजा गर्ने परम्परा रहेको छ।

स्कन्दमाताको आराधनाले ज्ञान र बुद्धि प्राप्त हुने विश्वास पनि गरिन्छ। उनको कृपाले अज्ञानी व्यक्तिसमेत ज्ञानवान् बन्न सक्ने धार्मिक मान्यता छ।

बडादसैँलाई दुर्गापक्षका रूपमा पनि चिनिन्छ। दुर्गापक्षका नौ दिनमा नवदुर्गाका नौ स्वरूपको पूजा आराधना गरिन्छ। पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्रि, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजा गर्ने धार्मिक परम्परा छ।

यी नौ देवीका स्वरूपलाई नवदुर्गा भनिन्छ। बडादसैँमा नवदुर्गाको पूजा आराधना गरी सुख, शान्ति, समृद्धि र कल्याणको कामना गर्ने चलन छ।