डडेल्धुराका सिकाइ केन्द्र बेवास्तामा, परशुराममा १८६ बालबालिका विद्यालयबाहिर!

Image

१० वर्षपछि परिचालकलाई तालिम, बजेट र पारिश्रमिक अभावको गुनासो

डडेल्धुरा । संघीयता कार्यान्वयनपछि सामुदायिक सिकाइ केन्द्र बेवास्तामा परेको भन्दै डडेल्धुराका परिचालकहरूले बजेट, उचित पारिश्रमिक र आफ्नो कार्यक्षेत्रअनुसारको जिम्मेवारी माग गरेका छन् ।

बिहीबार जिल्ला शिक्षा विकास तथा समन्वय इकाई डडेल्धुराले आयोजना गरेको एकदिने कार्यक्रममा २० वटा सिकाइ केन्द्रका परिचालक सहभागी भए । उनीहरूले करिब १० वर्षपछि पहिलो पटक तालिममा सहभागी हुन पाएको भन्दै केन्द्र सञ्चालनका लागि आवश्यक स्रोतसाधन र प्रविधिको व्यवस्था गर्न माग गरे ।

कार्यक्रममा प्रस्तुत विवरणअनुसार परशुराम नगरपालिकाका ११ वटै वडामा १५ वर्षमुनिका १८६ बालबालिका विद्यालयबाहिर छन् । परिचालक पार्वतीकुमारी धामीले वडा नं. १ देखि ५ सम्म ८३ जना र गोमती कोलीले वडा नं. ६ देखि ११ सम्म १०३ जना बालबालिका विद्यालयबाहिर रहेको जानकारी दिए ।

आर्थिक अवस्था कमजोर हुनु, अपाङ्गता र भौगोलिक विकटताका कारण बालबालिका विद्यालय पुग्न नसकेको उनीहरूको भनाइ छ । अभिभावकलाई सचेत गराएपछि केही बालबालिका विद्यालय जान थाले पनि पछिल्लो अद्यावधिक तथ्यांक संकलन हुन नसकेको उनीहरूले बताए ।

तर, शिक्षा विकास तथा समन्वय इकाईका प्राविधिक सहायक गोपाल पाण्डेयका अनुसार चालु आर्थिक वर्ष २०८३/८४ को तथ्यांकमा जिल्लाभर ४८ जना बालबालिका मात्रै विद्यालयबाहिर छन् । परशुराममा मात्रै १८६ बालबालिका विद्यालयबाहिर रहेको विवरण सार्वजनिक भएपछि वास्तविक अवस्था पहिचान गर्न तथ्यांक अद्यावधिक गर्नुपर्ने देखिएको छ ।

कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति डडेल्धुराका प्रमुख गगनसिंह भण्डारीले संघीयतापछि तीनै तहका सरकारले सामुदायिक सिकाइ केन्द्रलाई बेवास्ता गरेको बताए । विगतमा सिकाइ केन्द्रले आयआर्जनदेखि विकास निर्माण र समुदायको रूपान्तरणसम्मका काम गरेको उल्लेख गर्दै उनले केन्द्रको काम, कर्तव्य र अधिकार स्थापित गर्न सरकारलाई ध्यानाकर्षण गराउनुपर्ने बताए ।

कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति डडेल्धुराका प्रमुख गगनसिंह भण्डारीले २०८६ सालपछि कक्षा ८ उत्तीर्ण नगरेका नागरिकलाई सरकारी सेवाबाट वञ्चित गर्ने व्यवस्था ल्याउन लागिएको उल्लेख गर्दै विद्यालयबाहिर रहेका बालबालिकालाई अनिवार्य विद्यालय भर्ना गराउन सबैले प्राथमिकताका साथ काम गर्नुपर्ने बताए ।

उनले सामुदायिक सिकाइ केन्द्रले विद्यालयबाहिर रहेका बालबालिकाको पहिचान, अभिभावकमा सचेतना र विद्यालय भर्नाका लागि सहजीकरण गर्नुपर्नेमा जोड दिए ।

अमरगढी–१० की परिचालक मनकामना साउदले आफू वडा कार्यालयमा काम गरिरहेको र सचिव नभएको अवस्थामा सचिवको जिम्मेवारीसमेत सम्हाल्नुपरेको गुनासो गरिन् । परिचालकहरूले उचित पारिश्रमिक, आफ्नै कार्यालय, नियमित बजेट र डिजिटल तथ्यांक संकलनका लागि तालिम तथा उपकरण माग गरेका छन् ।

यसैबीच, गन्यापधुरा–१ को असिग्राम सामुदायिक सिकाइ केन्द्रले स्थानीय भाषाको पुस्तक प्रकाशन, देउसीभैलोको परम्परा संरक्षण तथा पुराना कृषि औजार, भेषभूषा र सांस्कृतिक सामग्री संकलन गरी संग्रहालयको स्वरूपमा विकास गर्ने काम गरेको जनाएको छ ।