काठमाडौँ । दुर्गा पक्ष अर्थात् नवरात्रको छैटौँ दिन आज दसैँ घर तथा पूजा कोठामा नवदुर्गामध्येकी छैटौँ देवी कात्यायनीको विधिपूर्वक पूजा आराधना गरिँदैछ ।
प्रत्येक वर्ष आश्विन शुक्ल षष्ठीका दिन कात्यायनी देवीको पूजा आराधना गर्ने वैदिक सनातनी परम्परा छ । पौराणिक मान्यताअनुसार देवताहरूको कार्यसम्पादनका लागि देवी कात्यायन ऋषिको आश्रममा सुन्दरी कुमारीका रूपमा अवतार लिएकी थिइन् । उनको बाल सौन्दर्यबाट मुग्ध भएर कात्यायन ऋषिले पुत्रीका रूपमा स्वीकार गरेपछि उनको नाम कात्यायनी रहन गएको विभिन्न पौराणिक ग्रन्थमा उल्लेख छ ।
नवरात्रको पहिलो दिन असोज २५ गते आइतबार दसैँ घर तथा पूजा कोठामा वैदिक विधिपूर्वक घटस्थापना गरी जौँको जमरा राखिएको थियो । सोही दिन नवदुर्गाकी पहिलो देवी शैलपुत्रीको पूजा आराधना गरिएको थियो । दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा र पाँचौँ दिन स्कन्दमाता देवीको पूजा आराधना गरिएको थियो ।
आज छैटौँ दिन कात्यायनी देवीको पूजा आराधना गरिँदैछ । नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थानमा दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवी भागवतलगायत देवी स्तोत्र पाठ गर्ने परम्परा छ । देवीको आराधना गरी पूजा गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास छ । यही विश्वासका आधारमा वैदिक सनातन धर्मावलम्बीले आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गा देवीको विशेष पूजा आराधना गर्छन् ।
नवरात्रमा नौ दिनसम्म पूजा आराधना गरिएको प्रसाद देशका धेरै भागमा विजयादशमीदेखि कोजाग्रत पूर्णिमासम्म लगाउने चलन छ । कतिपय स्थानमा भने कुल परम्पराअनुसार विजयादशमीका दिनमात्र टीका र जमरा लगाउने गरिन्छ । शास्त्रीय मान्यताअनुसार दुर्गा पक्षभर अर्थात् कोजाग्रत पूर्णिमासम्म दुर्गा देवीको प्रसादका रूपमा टीका र जमरा लगाउन सकिने धर्मशास्त्रविद् प्रा. डा. देवमणि भट्टराई बताउँछन् । यसरी नेपालीले १५ दिनसम्म बडादसैँ पर्व मनाउने गर्छन् ।
दुर्गा पक्षको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्रि, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजा आराधना गरिन्छ । यी नौवटा स्वरूपलाई नवदुर्गा भनिन्छ ।
नवरात्रका अवसरमा देशभरका शक्तिपीठमा पूजा आराधना तथा दर्शन गर्ने भक्तजनको भीड लाग्ने गर्छ । काठमाडौँ उपत्यकाका गुह्येश्वरी, जयवागेश्वरी, मैतीदेवी, कालिकास्थान, नक्साल भगवती, भद्रकाली, शोभाभगवती, रक्तकाली, श्वेतकाली, बिजेश्वरी, कङ्केश्वरी, कलङ्कीमाई, चामुण्डा देवी, सुन्दरीमाई, बज्रयोगिनी, इन्द्रायणी र बगलामुखीलगायत मन्दिरमा बिहानैदेखि भक्तजनको भीड लागेको छ ।
त्यसैगरी उपत्यकाबाहिरका पलाञ्चोक भगवती, नाला भगवती, चण्डेश्वरी, पाल्चोक भगवती, कमलामाई, इच्छाकामना, मनकामना, गढीमाई, छिन्नमस्ता, पाथीभरा, दन्तकाली, गहवामाई, बागलुङ कालिका, विन्ध्यवासिनी, तालबाराही, शैलेश्वरी, बडीमालिका र उग्रतारालगायत शक्तिपीठमा पनि भक्तजनको भीड लागेको जनाइएको छ । रासस









