अजयमेरुको राजुलमा खुला भलिबल प्रतियोगिता हुँदै, विजेतालाई १ लाख ५५ हजार पुरस्कार

Image
फाईल तस्बिर

डडेल्धुरा । अजयमेरु गाउँपालिका–६, राजुलमा बृहत् सांस्कृतिक तथा खेलकुद प्रतियोगिता आयोजना हुने भएको छ । कात्तिक १९ देखि २१ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको खुला पुरुष भलिबलतर्फ विजेता टोलीले १ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ पुरस्कार पाउने भएको छ ।

स्थानीय खेलप्रतिभाको पहिचान तथा प्रवर्द्धन गर्दै राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्ने र स्थानीय कला तथा संस्कृतिको संरक्षण गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको वडा कार्यालयले जनाएको छ ।

‘भाषा, साहित्य, खेलकुद र कलासंस्कृति, हातेमालो गरौँ, हटाऔँ सामाजिक विकृति’ भन्ने मूल नाराका साथ आयोजना हुने प्रतियोगितामा खुला पुरुष भलिबलका साथै स्थानीय तथा राष्ट्रिय कलाकारको सांस्कृतिक प्रस्तुति रहनेछ ।

भलिबल प्रतियोगितामा दोस्रो हुने टोलीले ७७ हजार ७ सय ७७ रुपैयाँ र तेस्रो हुने टोलीले ४४ हजार ४ सय ४४ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन् । प्रतियोगितामा व्यक्तिगत विधातर्फ पनि पुरस्कारको व्यवस्था गरिएको छ । सर्वोत्कृष्ट खेलाडीलाई ५ हजार ५ सय ५५ रुपैयाँ तथा उत्कृष्ट स्पाइकर, ब्लकर, लिफ्टर र लिब्रोलाई जनही ३ हजार ३ सय ३३ रुपैयाँ प्रदान गरिनेछ ।

प्रतियोगिता अजयमेरु गाउँपालिका–६ स्थित चेतना माध्यमिक विद्यालय, राजुलमा सञ्चालन हुनेछ । प्रतियोगितामा सहभागी हुन इच्छुक टोलीले कात्तिक १८ गते बेलुकासम्म टिम दर्ता गरिसक्नुपर्नेछ । टिम दर्ता शुल्क ३ हजार ३ सय ३३ रुपैयाँ तोकिएको छ ।

अजयमेरु गाउँपालिका–६ नं. वडा कार्यालय, राजुलको आयोजनामा हुन लागेको प्रतियोगितामा सहभागी हुन खेलाडी टोली, कलाकार, विभिन्न संघसंस्था तथा युवाक्लबलाई वडा कार्यालयले अनुरोध गरेको छ ।