बडादसैँको रौनकः घरघरमा फूलपाती भित्र्याइँदै, कालरात्रिको पूजा गरिँदै

Image

काठमाडौँ । बडादसैँको सातौँ दिन शनिबार घरघरमा विधिपूर्वक फूलपाती भित्र्याइँदै छ । आश्विन शुक्ल सप्तमीका दिन नवदुर्गामध्ये सातौँ स्वरूप देवी कालरात्रिको विशेष पूजाआराधना गर्नुका साथै फूलपाती भित्र्याउने धार्मिक परम्परा रहेको छ ।

फूलपाती भित्र्याउने अवसरमा सङ्घीय राजधानी काठमाडौँको सैनिक मञ्च टुँडिखेलमा नेपाली सेनाले फूलपाती बढाइँ विशेष समारोह आयोजना गर्दै छ । दसैँको उल्लास र धार्मिक आस्थासँग जोडिएको फूलपाती भित्र्याउने परम्पराले नेपाली समाजमा विशेष महत्त्व राख्छ ।

फूलपाती नौ प्रकारका पवित्र वनस्पति वा पालुवाको सम्मिश्रण हो, जसलाई नवपत्रिका पनि भनिन्छ । धार्मिक मान्यताअनुसार यसमा केरा, दारिम (अनार), धानको बाला, हलेदो (बेसार), मानवृक्ष, उखु, बेलपत्र, अशोक र जयन्ती समावेश गरिन्छ । यी वनस्पतिलाई क्रमशः ब्रह्मायणी, रक्तदन्तिका, लक्ष्मी, दुर्गा, चामुण्डा, कालिका, शिवा, शोकरहिता र कात्तिकी देवीका प्रतीकका रूपमा पूजा गर्ने परम्परा छ ।

ऐतिहासिक परम्पराअनुसार गोरखा दरबारको दसैँघरबाट ल्याइएको फूलपाती काठमाडौँको हनुमानढोका दरबारस्थित दसैँघरमा भित्र्याइन्छ । गोरखाबाट पुजारीसहित मगर समुदायका छ जनाले फूलपाती धादिङको जीवनपुरसम्म पैदल ल्याउने गर्छन् । जीवनपुरबाट काठमाडौँका छ जना ब्राह्मणले फूलपातीलाई जमलसम्म ल्याउने परम्परा छ ।

जमल आइपुगेपछि निजामती सेवाका उच्चपदस्थ अधिकारी, नेपाली सेनाको गुर्जु पल्टन, ब्यान्डबाजा, पञ्चेबाजा तथा सांस्कृतिक झाँकीसहित फूलपातीलाई हनुमानढोका दरबारको दसैँघरमा भित्र्याइन्छ ।

कालरात्रि देवीको विशेष पूजा

फूलपातीका दिन नवदुर्गामध्ये सातौँ देवी कालरात्रिको विशेष पूजाआराधना पनि गरिन्छ । कालो वर्ण, तीन नेत्र र गधालाई वाहनका रूपमा लिने देवी कालरात्रिको स्वरूप भयानक मानिए पनि उहाँले भक्तजनलाई शुभ फल प्रदान गर्ने धार्मिक विश्वास छ । त्यसैले कालरात्रिलाई ‘शुभङ्करी’ पनि भनिन्छ ।

पौराणिक कथाअनुसार रक्तबीज नामक शक्तिशाली असुरको संहार गर्न देवी दुर्गाले कालरात्रिको रूप धारण गर्नुभएको थियो । रक्तबीजले पाएको वरदानअनुसार उसको शरीरबाट रगतको एक थोपा जमिनमा खस्दा पनि त्यस्तै शक्तिशाली अर्को असुर जन्मन्थ्यो । यसका कारण युद्धमा उसलाई परास्त गर्न देवताहरूलाई कठिन भएको थियो ।

असुरको अत्याचार बढ्दै गएपछि देवीले कालरात्रिको रूप धारण गरी रक्तबीजको वध गर्नुभयो । युद्धका क्रममा उसको शरीरबाट निस्किएको रगत जमिनमा खस्न नदिई पान गरेर देवीले नयाँ असुर जन्मिने क्रम रोक्नुभएको धार्मिक कथन छ । यसरी रक्तबीजको संहार भएपछि देवताहरूले राहत पाएको विश्वास गरिन्छ ।

कालरात्रिको पूजाआराधना गर्दा भय, रोग तथा नकारात्मक ऊर्जाबाट मुक्ति मिल्ने र जीवनमा सुख, शान्ति तथा समृद्धि प्राप्त हुने जनविश्वास छ । नवरात्रका सातौँ दिन गरिने यस पूजाले दसैँको धार्मिक तथा सांस्कृतिक महत्त्वलाई थप उजागर गर्छ ।