हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना, तराईमा हुस्सु लाग्ने

Image

काठमाडौँ । देशका हिमाली तथा केही पहाडी क्षेत्रमा शनिबार मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ । नेपाल मौसम विज्ञान विभागका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागमा दिउँसो साधारणतया बादल लाग्नेछ ।

विभागका अनुसार बाँकी प्रदेशका हिमाली भूभागमा आंशिक बादल लाग्नेछ । देशका पहाडी क्षेत्रमा पनि आंशिक बादल लाग्ने पूर्वानुमान छ ।

मधेश तथा कोशी, बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रमा आंशिक बादल लाग्नेछ भने लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।

देशका हिमाली भूभाग तथा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपात हुन सक्ने विभागले जनाएको छ ।

राति हिमाली क्षेत्रमा हिमपातको सम्भावना

शनिबार राति देशका हिमाली भूभागमा आंशिक बादल लाग्नेछ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी क्षेत्रमा आंशिक बादल लाग्ने तथा बाँकी पहाडी भूभागमा मौसम मुख्यतया सफा रहने पूर्वानुमान छ ।

राति तराईका केही स्थानमा बिहानपख हुस्सु लाग्ने सम्भावना छ । कोशी, गण्डकी र कर्णाली प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपात हुन सक्ने विभागले जनाएको छ । रासस