महाअष्टमी पर्व आज, माता महागौरीको पूजाआराधना गरिँदै

Image

काठमाडौँ । बडादसैँको आठौँ दिन महाअष्टमी पर्व आज आइतबार देशभर धार्मिक विधिपूर्वक मनाइँदै छ । यस दिन नवदुर्गामध्ये आठौँ स्वरूप माता महागौरीको विशेष पूजाआराधना गरिन्छ ।

माता महागौरीको स्वरूप अत्यन्त गोरो, शान्त र सौम्य रहेको धार्मिक मान्यता छ । उनको वाहन वृष र सिंह हुन् । उनका चार हातमा त्रिशूल, डमरू तथा अभय र वरद मुद्रा रहेका छन् ।

महागौरीको पूजा गर्दा ‘श्वेत वृषे समारूढा श्वेताम्बरधरा शुचिः। महागौरी शुभं दद्यान्महादेवप्रमोददा।’ मन्त्र जप गर्दै ‘या देवी सर्वभूतेषु माँ महागौरी रूपेण संस्थिता।’ मन्त्रले प्रार्थना गर्ने परम्परा छ ।

पौराणिक कथाअनुसार माता पार्वतीले भगवान् शिवलाई पतिका रूपमा प्राप्त गर्न हजारौँ वर्षसम्म कठोर तपस्या गरेकी थिइन् । लामो समयसम्म घाम, पानी, धुलो र आँधीबेहरी सहेर तपस्या गरेका कारण उनको शरीर कालो र मैलो भएको थियो । उनको तपस्याबाट प्रसन्न भएपछि भगवान् शिवले उनलाई स्वीकार गरेका थिए । त्यसपछि शिवले गङ्गाको पवित्र जलले पार्वतीको शरीर धोइदिँदा उनको वर्ण चन्द्रमाजस्तै उज्ज्वल भएको र त्यसै कारण उनलाई ‘महागौरी’ नाम दिइएको धार्मिक विश्वास छ ।

अर्को पौराणिक कथाअनुसार, माता पार्वती जङ्गलमा तपस्यारत रहँदा एउटा भोको सिंह उनलाई आहार बनाउने उद्देश्यले त्यहाँ पुगेको थियो । तर, पार्वतीलाई तपस्यामा लीन देखेपछि सिंह उनलाई पर्खँदै त्यहीँ बसिरह्यो । वर्षौँसम्म भोकै बसेको सिंहको धैर्य र तपस्या देखेर प्रसन्न भएकी पार्वतीले उसलाई आफ्नो वाहन बनाएको कथन छ । त्यसैले महागौरीको वाहनका रूपमा सिंह र वृष दुवैलाई मान्ने परम्परा छ ।

महाअष्टमीका अवसरमा देशभरका शक्तिपीठ तथा देवी मन्दिरमा भक्तजनको घुइँचो लाग्ने गर्छ । दसैँघर तथा पूजाकोठामा स्थापना गरिएको कलश र जमराको स्थानमा महागौरीको विशेष पूजा गरिन्छ । महाअष्टमीको रातलाई ‘कालरात्रि’ पनि भनिन्छ । यस रात देवी दुर्गाका विभिन्न स्वरूप र महाकालीको विशेष पूजा, होम तथा यज्ञ गर्ने धार्मिक परम्परा छ ।

महाअष्टमीका दिन आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रूपमा बोका, राँगा, कुखुरा वा हाँसको बलि दिने चलन छ । हनुमानढोकास्थित दसैँघरमा यस दिन राज्यका तर्फबाट ५४ वटा बोका र ५४ वटा राँगाको बलि दिने परम्परा छ । पशुबलि नदिने वा शाकाहारी परिवारले कुभिन्डो, घिरौँला, मुला वा नरिवल चढाएर सात्त्विक बलि दिने गर्छन् ।

यस दिन सैनिकहरूले आफ्ना हातहतियारको पूजा गर्छन् । सर्वसाधारणले पनि सवारीसाधन, मेसिनरी औजार तथा कलकारखानाका उपकरण सफा गरी पूजा गर्ने परम्परा छ । यसो गर्दा भविष्यमा दुर्घटना नहोस् भन्ने कामना गरिन्छ ।

महाअष्टमीका दिन दुईदेखि १० वर्षसम्मका बालिकालाई देवीको प्रतीक मानेर खुट्टा धुने, टीका लगाउने, वस्त्र तथा दक्षिणा दिने गरी कन्या पूजा गर्ने चलन छ । नेवार समुदायमा यस दिन ‘कुचि भ्वय्’ अर्थात् दुई माना चिउरा राखेर गरिने विशेष भोज खाने परम्परा छ ।

दसैँका अवसरमा नेपाली परिवारमा खसी वा बोकाको मासुका विभिन्न परिकार बनाएर प्रसादका रूपमा ग्रहण गर्ने र पारिवारिक जमघट गर्ने चलन पनि छ । शक्ति, साहस र आसुरी प्रवृत्तिको विनाशको कामनासहित महाअष्टमी पर्व परम्परागत विधिअनुसार हर्षोल्लासका साथ मनाइन्छ ।