दसैँ मनाउन दुई दिनमै एक लाख मानिस पहाड उक्लिए

Image

धनगढी । दसैँ तथा तिहार मनाउन कैलाली र कञ्चनपुरबाट सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लातर्फ जाने यात्रुको चाप बढेको छ । पछिल्लो दुई–तीन दिनमा करिब एक लाख मानिस चाडपर्व मनाउन तराईबाट पहाड उक्लिएको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय अत्तरियाले जनाएको छ ।

चाडपर्व नजिकिएसँगै धनगढी र अत्तरियाका बसपार्कमा यात्रुको चहलपहल बढेको छ । सार्वजनिक सवारी साधनमार्फत दिनरात सयौँको सङ्ख्यामा गाडी यात्रु लिएर पहाडी जिल्लातर्फ गइरहेका छन् ।

नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय अत्तरियाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मनिराज भट्टका अनुसार अत्तरिया बसपार्क हुँदै मात्रै ९० हजारभन्दा बढी यात्रु पहाड उक्लिएका छन् ।

यात्रुको चाप बढेसँगै सम्भावित दुर्घटना न्यूनीकरण गर्न ट्राफिक प्रहरीले प्रदेशभर ३९ स्थानमा हेल्पडेस्क स्थापना गरेको छ । यात्रुको सुरक्षा र सवारी व्यवस्थापनका लागि विभिन्न स्थानमा नियमित जाँच भइरहेको भट्टले बताए ।

“सवारी साधनमा यात्रुको चाप बढेपछि कुनै किसिमको दुर्घटना हुन नदिन ट्राफिक प्रहरीले प्रदेशभर ३९ ठाउँमा हेल्पडेस्क राखेको छ,” उनले भने, “त्यसको अलावा हरेक प्वाइन्टमा चेकजाँचको काम भइरहेको छ ।”

उनका अनुसार दुर्घटना न्यूनीकरणका लागि संयुक्त चेकजाँचलाई प्राथमिकता दिइएको छ । गोदावरीदेखि माथिको पहाडी सडकमा सवारी साधनका लागि टाइमकार्ड लागू गरिएको छ । क्षमताभन्दा बढी यात्रु तथा सामान राख्ने सवारी साधनमाथि पनि निगरानी बढाइएको छ ।

सवारी चालकले मादक पदार्थ तथा लागुऔषध सेवन गरे–नगरेको जाँचसमेत नियमित भइरहेको उनले बताए । हालसम्म यात्रु राख्ने तथा सवारी चलाउने क्रममा अव्यवस्थित अवस्था फेला नपरेको उनको भनाइ छ ।

यसैबीच, दसैँ मनाउन भारतबाट घर फर्किने नेपालीको सङ्ख्या पनि बढेको छ । गौरीफन्टा नाका हुँदै भारतबाट दैनिक दुई हजार तीन सय मानिस नेपाल फर्किरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक योगेन्द्र तिमिल्सिनाले जानकारी दिए ।

उनका अनुसार चाडपर्वमा घर फर्किने यात्रुको सुरक्षालाई ध्यानमा राखेर संयुक्त जाँच भइरहेको छ । क्षमताभन्दा बढी यात्रु राख्ने तथा यात्रुसँग बढी भाडा असुल्ने सवारी साधनमाथि कारबाहीसमेत भइरहेको उनले बताए ।

चाडपर्वका बेला यात्रुको चाप बढ्ने भएकाले सुरक्षित यात्रा गर्न, तोकिएको भाडा मात्र तिर्न र क्षमताभन्दा बढी यात्रु राखिएका सवारी साधनमा यात्रा नगर्न प्रहरीले आग्रह गरेको छ ।