काठमाडौँ । साविक विजेता लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा सुदूरपश्चिम रोयल्सलाई शानदार रूपमा पराजित गर्दै विजयी सुरुआत गरेको छ ।
त्रिवि क्रिकेट मैदानमा सुदूरपश्चिमले दिएको ८८ रनको सामान्य लक्ष्य लुम्बिनीले ९ ओभर ५ बलमा तीन विकेट गुमाएर पूरा गरेको हो ।
लुम्बिनीको जितमा ओपनर डार्सी सर्टले आक्रामक ब्याटिङ गर्दै सर्वाधिक ४० रन बनाए । उनले १८ बलमा चार चौका र तीन छक्का प्रहार गरे । सर्टले अर्का ओपनर आसिफ शेखसँग पहिलो विकेटका लागि ७१ रनको साझेदारी गर्दै टोलीलाई जितको नजिक पुर्याएका थिए । आसिफले ३२ रन बनाए ।
निरोशन डिक्वेला सात रनमा बोल्ड भए भने शमिम हुसेन एक रनमा आउट भए । कप्तान रोहित पौडेल पाँच रनमा अविजित रहे ।
बलिङतर्फ सुदूरपश्चिमका अनिल खरेलले दुई तथा कप्तान दीपेन्द्रसिंह ऐरीले एक विकेट लिए ।
लुम्बिनीको बलिङसामु सुदूरपश्चिम निरीह
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिम १७ ओभर २ बलमा ८७ रनमै समेटिएको थियो ।
सुदूरपश्चिमलाई सस्तैमा समेट्न लुम्बिनीका किशोर महतो र शेर मल्लले उत्कृष्ट बलिङ गरे । किशोरले चार तथा शेरले तीन विकेट लिए । कप्तान रोहित पौडेल, तिलकराज भण्डारी र शाड्ली भान शाल्कवाइकले एक–एक विकेट लिए ।
सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले सर्वाधिक २७ रन बनाए । अनिल खरेल १७ रनमा अविजित रहे । सैफ जैबले १३ तथा विनोद भण्डारीले नौ रन जोडे । इशान पाण्डेले सात र ब्रान्डन म्याकमुलेनले दुई रन बनाए ।
शेर्फन रदरफोर्ड एक रनमा आउट भए भने स्कट कुगेलाइन र हेमन्त धामीले खाता खोल्न सकेनन् ।
एनपीएलमा पहिलोपटक डीआरएस प्रयोग
यस खेलमा नेपालमा पहिलोपटक निर्णय पुनरावलोकन प्रणाली (डीआरएस) प्रयोग गरिएको थियो । खेलको दोस्रो ओभरको अन्तिम बलमा लुम्बिनीका शेर मल्लले एलबीडब्लु (खुट्टामा बल लागेर विकेट जाने) को अपिल गरेका थिए । अम्पायरले आउट नदिएपछि लुम्बिनीका कप्तान रोहित पौडेलले डीआरएस लिएका थिए । तर, लुम्बिनीको पुनरावलोकन सफल हुन सकेन ।
मंगलबार दुई खेल हुँदै
तेस्रो संस्करणको एनपीएलअन्तर्गत मंगलबार दुई खेल हुनेछन् । पहिलो खेलमा दिउँसो साढे १२ बजे विराटनगर किंग्स र चितवन राइनोज भिड्नेछन् ।
दोस्रो खेल साँझ ५ बजे कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच हुनेछ ।










