डडेल्धुर । तिहार पछि डडेल्धुराका विभिन्न मठमन्दिरहरुमा धार्मिक पूजाआजसंगै मौलिक साँस्कृतिकासाथ हुने मेला (जाँत)को रौनक सुरु भएको छ । जाँतमा देविदेवताको पूजाआजासंगै धामिको नाच, स्थानिय मौलिक बाँजागाजा चौलो, देउडा हुने गरेकाले जाँतमा रौनकता थपिने गरेको छ । यहाँका गाउँघरमा अहिले दैनिक रुपमा कुनै न कुनै देवि देवताको पूजाआज गरी जाँत भईरहेका छन ।

वर्ष दिनमा हुने बिषेश पूजाआजासहित भेला भर्न पहाडबाट अन्यत्र गएकाहरु थातथलो फर्किने गर्दछन । यस कारण पनि मेलामा देविदेवताको पूजाआजसंगै आफन्तजनहरु संग भेटघाट र भलासुकालीले मेलाको रौनक बढाउछ ।
कुनै पनि काम गर्न अघि कुल देवता एवं शक्तिशालि मानिने देवतालाई भाकल गर्ने चलन रहेको डडेल्धुरा लगायत सुदूरपश्चिममा काम पुरा भएपछि देवदेवतालाई भाकल गरेको वस्तु चढाउन घर बाहिर रहेकाहरु पुख्र्यौली थातथलो फर्किने गरेको पण्डित लोकराज भट्टले बताए ।
तिहार पछिको पहिलो मेला शैलेश्वर महादेवमा लाग्ने गरेको छ । भाईटिकाको ठिक पाँच दिन पछि कात्तिक शुक्लपक्ष खष्टिका दिन मसानवासी शैलेश्वर महादेवको धार्मिक बिधिवत रुपमा राति पूजाआजासहित मेला लाग्ने गरेको उहाँले बताउनुभयो । जिल्ला सदरमुकामको अमरगढी नगरपालिका ७ र नवदुर्गा गाउँपालिका १ को सिमाना खोला किनारमा रहेको शैलेश्वर महादेवमा राति पूजाआजा गरिन्छ । अर्काेदिन बिहान मन्दिरबाट फर्किएर अमरगढी ७ सल्ला गाउँमा रहेको देउखले मन्दिरमा पनि बिषेश पूजाआजाका साथ मेला लाग्ने गरेको वडा अध्यक्ष खडक बोहराले जानकारी दिए ।
शैलेश्वर महादेवका गातका पुजारी क्षेत्री जाती अमरगढी नगरपालिका ८ लटाउनी निवासी साँकी हुन । तर पुजारीका पुस्तामा धार्मिक परम्परा अनुसारको शक्ति प्रदान नभएपछि करिब ४० वर्षयता गात बाहेकको पातली पूजाआजा हुदै आएको छ । गातका पुजारी बाहेक ब्राहणहरुमा नवदुर्गा गाउँपालिका १ का भट्ट, अमरगढी नगरपालिका ६ छचोडाका पन्त, वडा नं. ८ को हतर्का गाउँका भट्ट र अजयेमरु गाउँपालिका १ पालिगाउँका भट्ट जातीले पूजाआजा गर्दै आईरहेका छन ।
साँकी जातीका पुजारीले नवरात्रीमा खष्ठिको दिन उग्रतारा भगवती माताको मन्दिरबाट धामी कापेर शैलेश्वर मन्दिर पुग्ने धार्मिक परम्परा रहेको थियो । वडा अध्यक्ष बोहराले भन्नेभयो, मन्दिर वारी रहेको खोलामा पुगेर बस्त्र फुकालेर मन्दिरमा बनाईएको सानो झ्यालबाट भित्रि पस्ने चलन थियो । साँकी पुजारीका छोरा हरी साँकी छन । उनका बुवाको करिब ४० वर्ष अधि मृत्यु भएपछि हालसम्म उक्त शक्तिशालि धार्मिक परम्परा अनुरुपको चलन देखिएको छैन ।
कोला लेगी समैजी जाँत
तिहारको ठिक १० दिनमा दुधधारी देवता कोला लेगी समैजीको पूजाआजा हुन्छ । कात्तिक शुक्ल दशमिका दिन पूजाआजा हुने समैजी मन्दिरमा राती धामी कापेर देउरो लैजाने धार्मिक परम्परा छ । अन्य मन्दिरमा बेलुकी वा बिहान देउरो लगिन्छ भने लेगी समैजीमा बेलुका पूजाआजा गरिएपछि धामि कापेर घण्टा बजाउदै गाउँमा रहेको भ्रण पुगेर देउरो लैजाने चलन रहेको पण्डित करुणाकर भटट्ले बताए ।
अजयमेरु गाउँपालिका १ मा रहेको कोला समैजी र अमरगढी नगरपालिका ७ मा रहेको लेगी समैजी मन्दिरमा एकै तिथिमा पूजाआजा हुन्छ ।
शैलेश्वर महादेवलाई गाड र शिखर समैजीलाई लेक भनेर यहाँका स्थानीयहरुले धुमधामसंग पूजाआजा गर्दै आईरहनु भएको छ । समैजी देवतालाई बली नभढ्ने भएकाले दुधधारी देवताका रुपमा पूजाआजा गरिन्छ ।
सुप्रशिद्ध उग्रतारा मेला देहिजात
सुदूरपश्चिम प्रदेशकै प्रसिद्ध शक्तिपीठ उग्रतारा भगवती मन्दिरमा हरेक वर्ष मनाइने ‘देहिजाँत’ भाईतिको ठिक १५ दिनपछि लाग्छ । यस वर्ष मंसिर १ गते लाग्ने वडा नं. ८ का वडा अध्यक्ष नरबहादुर साँकीले जानकारी दिए ।

उग्रतारा भगवती मन्दिरमा हरेक वर्ष कार्तिक शुक्ल पूर्णिमाको रात (रतेडी) र दोस्रो दिन (दिउसेडी) मेला लाग्छ । यस वर्ष कार्तिक ३० गते रतेडी र मंसिर १ गते शनिबारका दिन दिउसेडी लाग्ने उहाँले बताउनु भयो । छचोडा, खनमडा, दुमडा र जिलोडागाउँका भ्राण (भण्डार घर) रहेको उग्रतारा भगवती मन्दिरमा यी चारवटै गाउँबाट रतेडी मेलामा बिहान चार बजेको समयमा ‘देउरो’ मन्दिर पुगेपछि ‘दिउसेडी’ मेला सुरु हुन्छ ।
डडेल्धुरा सदरमुकामबाट ४ किलोमिटर टाढा अमरगढी नगरपालिका–८ को सुन्दर डाँडामा अवस्थित महाशक्तिपीठ उग्रतारा भगवतीको मन्दिरमा लाग्ने मेलामा हजारौं दर्शनार्थी पूजा–आराधना गर्न पुग्नेगर्दछन ।
भगवती माताको पूजा बिहान चार बजे धार्मिक परम्परागत रूपमा दाइन दमाह, रुइसिंग, विकुल, भोकर, शंक, घण्टा इत्यादी बाजागाजाका साथ चारवटै गाउबाट माता भगवतीको डोलीसहित देउरो उग्रतारा मन्दिरमा पुगेसँगै भगवती माताको पूजा सुरु हुने अध्यक्ष साँकीले बताए ।
‘बिहानको पूजाआजा पछि दिउँसो भगवती माताको गाँज मन्दिरलगायत सयौँ एकडमा फैलिएको मैदानको विषेश चार स्थानमा बाजागाँजाका साथ घुमाइन्छ । बिहान चारवटै गाउँको भ्रणबाट ल्याइएको माताभगवतीको देउरो बेलुका पुनः चारवटै गाउँको भम्रणमा लगिमेला सम्पन्न हुन्छ ।’ उनले भने ।
किम्बदन्तीअनुसार २५ सय वर्ष पहिला हालको अमरगढी नगरपालिका लटाउली बस्ने साँकी जातिका स्थानीयले हलो जोत्दा ढुंगामा हलोको फाली लागेर रगत बगेपछि देवी उत्पन्न भएर दर्शन दिएपछि त्यस दिनदेखि महागौरी दुर्गा र कालीको स्वरुपमा उग्रतारा भगवतीको पूजा गरिँदै आएको जनविश्वास छ ।
नांगो तरबारको चौलोले प्रख्यात बडाल जाँत
नांगो तरबाराको चौलोले प्रख्यात बडाला जाँत काक्तिक २७ गते हुने भएको छ । गन्यापधुरा गाउँपालिका–२ बडालमा रहेको लाटागन्याप देवताकाको पूजाआजा गरी बडाल जाँतमा दाईन दमाह, रुसिंग, भोकर बाजाको तालमा नांगो तरबार नचाएर चौलो खेलिन्छ । धार्मिक शक्ति संगै चौलोले प्रख्यात बडाल जाँतमा भागेश्वर देवतालाई गाँजले ढोग गरे पछि दिउसोको मेला शुभारम्भ हुन्छ । प्राचिनकाल देखि चलिआएको छलिया जाँत हेरे पछि देवी देवताको दर्शन र आशिर्वाद प्राप्त हुने जनविश्वास रहेको छ ।
दाईन, दमाह, रुईसिंग, भोकर बाजागाँजाका साथ स्थानियहरु हातमा तलवार खेलाई चौलो खेल्दै गाँज नाचाई सके पछि बडाल जाँत सम्पन्न हुने गर्दछ । हात हातमा तरबार खेलाएर नाचिने भएकाले बडालको चौलो सुदूरपश्चिमको एक पहिचान बनेको लाटागन्याप भूमि देवल क्षेत्र विकास समितिका अध्यक्ष पूर्ण बहादुर देउवाले बताए । सुदूरपश्चिमकै सबै भन्दा बढी दाईन, दमाहा र भोक्कर बजाईने मेलाका रुपमा समेत बडाल जाँता प्रशिद्ध रहेको छ ।
कैलपालदेवताको जाँत २३ गते हुने
गन्यापधुरा गाउँपालिका ४ मा रहेको प्रसिद्ध कैलपाल देवताको जाँत कार्तिक २३ गते हुने भएको छ । कार्तिक षष्ठीका दिन रतेडी र भोली पल्ट दिउँसेडी जाँत हुने परम्परा रहेको वडा अध्यक्ष नरेन्द्र कुमार भट्टले जानकारी दिए । कैलपाल देवताको जाँतका लागि गाmरक फरक गाउँहरुबाट देउरो आउने गर्छ । सबै भन्दा पहिले कैलपालको देउरो पुग्नुपर्छ, रित अनुसार कहिले मेड्डी त कहिले जैसेरामा प्रत्येक वर्ष आलोपालोमा देउरो राखिने गरिन्छ ।
यसरी मेड्डीबाट देउपालको देउरो, कापडी गाउँबाट दुर्गाको देउरो, रुमाईलबाट गन्यापको देउरो, कपड देउमा भेटिने गरी न्वाघर मुन्टाको देउरो, उकलीबाटा न्वाधर मुन्टाको देउरो र भूमी देउलीको देउरो मन्दिरमा आईपुग्छन ।
यसरी रातभर धार्मिक परम्परा (रित) अनुसार विभिन्न समयमा देउराहरु आईपुग्ने गर्छन । कोही कपड देउमा त कोही सोझै देउथलामा पुग्ने गर्छन । डोटीको थप्सागाउँबाट पनि कैलपालमा देउरो आउने गर्छ ।
धार्मिक सांस्कृतिक परम्परा अनुसार कैलपाल मन्दिरमा विभिन्न गाँउ बाट देउरो पु¥याई धुप, पोखलले होम गर्दै पुजा आजा सम्पन्न भए पछि दोस्रो दिन मेला भर्नेको घँुईचो हुने गर्छ । मेलामा शक्तिको प्रतिकका रुपमा यस क्षेत्रको चर्चित चौलो नाच प्रदर्शन गरिन्छ । हातमा नाङ्गो तरबार खेलाउदै दाईन दमाह बाजाको तालमा नाच प्रस्तुत गरिने र देवि देवताको पुजाआजा गर्दा मनोकामना पुरा हुने धार्मिक आस्थासंगै शक्तिका रुपमा चौलो नाच प्रस्तुत गर्ने पुरानो परम्परा अहिले पनि छ ।
लाटागन्यापकै दोस्रो देवालयका रुपमा कैलपाल देवालयलाई मानिन्छ । परापुर्वकालमा पस्या भनेर चिनिने गन्यापधुरा गर्खा तथा डोटीको बान्डुंग्रीशैन, थप्सा लगायत क्षेत्रमा बसोवास गर्ने अधिकांस स्थानिय पुजाआजाका समय घर फर्कने गरेका छन । यँहा बाट बसाई सरी अन्यत्र गएकाहरु पनि कैलपाल देवताले नै दिएको एवं हालको अवस्था पनि देवताकै कारणले बनेको वा दिएको भन्ने विश्वासले जाँत मेला पुजाआजाको समय यँहा पुग्ने गरेका छन ।
‘खोलेइ जाँत’ का नामले परिचित जगन्नाथ मेला मंसिर ३ गते
जगन्नाथ देवताको मन्दिरमा लाग्ने (खोलेइ जाँत) मंसिर ३ गते हुने भएको छ । अजयमेरु गाउँपालिका–३ र ४ को सिमानामा रहेको प्रसिद्ध धार्मिक स्थल जगन्नाथ देवताको मन्दिरमा खोलेइ जाँत मेला लाग्ने गरेको छ । जगन्नाथ मन्दिरमा राति लाग्ने मेलालाई ‘रतेडी’ र दिउँसो लाग्ने मेलालाई ‘दिउसेडी’ भनिन्छ। मंसिर २ गते रतेडी र ३ गते दिसेडी हुने गाउँपालिका अध्यक्ष उमेश भट्ट विकासले जानकारी दिए ।
गुनपाल, चौडी, चिपुर र मड यी चारवटै गाउँबाट जगन्नाथ मन्दिरमा ‘देउरो’ आएर मेला सुरु हुन्छ । पूजाआजापछि प्रसादका रुपमा यज्ञमा हवन गरेको जौ, तिलर ध्यूको ‘तिलाख’ ग्रहण गर्नेको बिहानैदेखि भक्तजनको भिड लाग्छ ।












