भागेश्वरको देउरो स्नानका लागि परशुरामधाम लगिदै

Image
फाईल तस्बिर

पदम जोरा, डडेल्धुरा । महाभारत पर्वत (धुन्ध)मा अवस्थित भागेश्वर देवताको देउरो स्नानका लागि परशुरामधाम लगिदै छ । भागेश्वर देवताको मन्दिर समुद्री सतहदेखि दुई हजार दुई सय मिटिर उचाईमा रहेको छ । भागेश्वरको देउरो परशुराममा स्नानका लागि आज (आइतवार) बिहान ११ बजेको समयमा ज्ञ्वानीको तोलीमा रहेको देउघर (भ्राण) बाट हिडाईएको थियो ।

आज राती परशुराम नगरपालिका ४ कटाल स्थित भागेश्वर मन्दिर लटेरोडामा बास बसेको भागेश्वरका टिकैटी भिमसिंह बोहराले जानकारि दिए । उनका अनुसार भोली सोमवार बिहान ११ बजे गाँज, देउरो, भाणाकुणा, साजवाजसहित स्नानका लागि तयारी गरिएको छ । ज्ञ्वानीदेखि शिर्ष, कटालसम्म बाँजागाँजा, साजवाजसहित देउरो स्नाका लागि लैजाने धार्मिक चलन रहिआएको छ । पुस मसान्तको साँझ देउरो परशुरामधाममा पुगाई भजन किर्तन गरिन्छ ।

रातिको मेलामा खाना, बसोवाको व्यवस्थापनसंगै बाटो सरसफाइसमेत गरिएको परशुराम नगरपालिका वडा न.२ का अध्यक्ष रमेश बहादुर बोहराले जानकारी दिए । परशुरामधाममा मकर स्नानका लागि सुदूरपश्चिम क्षेत्रका २२ वटा शिवालयका देउराहरु आउने धार्मिक परम्परा थियो । तर पछिल्लो वर्षहरुमा सबै शिवालका देउरा ल्याउन सकिएको छैन ।

जमदग्नि ऋषि पुत्र परशुरामले आततायी क्षेत्रीयहरु वंश नाष गरि परशुराधधाममा तप गरेकाले परशुराम तपस्थलीमा मकर स्नान गरेमा पुण्य लाभ पाइने धार्मिक मान्यता रहिआएको छ ।

भागेश्वर देवताको इतिहांस
पौराणिक इतिहांस बोकेको भागेश्वरको मन्दिर धुरामा मूख्य पूजा वर्षमा दुई पटक हुने गर्दछ । पहिलो पूजा ‘श्रावण शुक्ल पूर्णीमा’का दिन अर्थात् रक्षाबन्धनका दिन दिउँसो हुन्छ भने दोस्रो पूजा ‘कार्तिक शुक्ल चतुर्दशी अथवा वैकुण्ठ चतुर्दशीका दिन राती हुन्छ ।
भागेश्वर देवता भगवान शिवका पार्षद हुन् । भागेश्वर देवतासँग ‘पासो, ‘कैलपाल, ‘कनबेताल’ ‘कालशैनी’ ‘कल्तडे’ ‘छडी’ र ‘समैजी’ लगायत अन्य सहयोगी देवताहरु पनि रहन्छन् । ‘पासो’ देवता भागेश्वर देवताको प्रमुख द्वारपाल मानिन्छ ।

ग्वान्नी गाउँलगायत अन्य कैयौं स्थानमा रहेका ‘असिउँ’ देवता भागेश्वरका आफ्नै दाजु हुन् भने कञ्चनपुर जिल्लाको चुरे क्षेत्रमा विराजमान ‘बैजनाथ’ देवता भागेश्वरका भान्जा नाता पर्ने देवता हुन् भन्ने मान्यता रहिआएको छ । माहाभारत पर्वत स्थित भागेश्वरको मन्दिरमा २२ वटा खम्बा (खाम) छन् । द्वापरयुगको अन्त्यतिर यस उच्च शैल शिखर क्षेत्रमा भागेश्वर आउँनु भन्दा अगावै आफ्नो वनबासकालको क्रममा पञ्चपाण्डवहरु यसै भागेश्वरको धुरा हुँदै जाँदै गर्दा पानी पाइएन । त्यसपछि त्यसै धुरामा वीर पाण्डव भ्राता अर्जुनले खड्ग प्रहार गरेर पानी निकालेका थिए भन्न्ने कथान छ ।

खड्ग बाट जल निकालिएको हुनाले त्यो जल भएको ‘न्वालो’ लाई आजभोली ‘खड्गेन्वालो’ पनि भन्ने गरिन्छ । त्यो न्वालाको पानी काँसीको जल समेत भन्ने गरिन्छ र गँगोत्रीको जल समान पवित्र मानेर यसै जलले भागेश्वरको पुजा तथा अन्य आवश्यक कार्यहरु गर्ने गरिन्छ ।
त्यसैगरी भागेश्वरको ‘रतीघाट’ भन्ने स्थानमा पनि पूजा हुने गर्दछ । यो स्थान भागेश्वर गाउँपालिका २ रुपाल नौतडीका भारद्वाज गोत्रीय जोशी ब्राह्मणहरुको जमिनमा पर्दछ । हाल भागेश्वर देवताको पूजा डोटीको निरौली, गड्सेरा र बेल्टुक्रा गाँउमा पनि हुने गर्दछ ।

भागेश्वर देवताको उत्पती
लगभग चौधौं शताब्दी तिर डोटी क्षेत्रमा पर्ने अजयमेरु कोट राज्यमा राजा नागी मल्लको शासन चलिरहेको थियो । यो राज्य जुम्ला राज्य अन्तर्गत पर्ने सामन्त राज्य थियो । त्यतिबेला अहिलेको डडेलधुरा जिल्लाको साविको रुपाल गाविस हालको भागेश्वर गाँउपालिकामा पर्ने ‘रोल्ली’ र ‘ग्वान्नी’ गाउँबाट ‘गुणाकर जोइसी’ र ‘कमलाकर भाट’ नाम गरेका दुई जना मित भाईहरु ‘गयाँ’ तीर्थमा स्नान गर्न भनी हालको भारतको विहार राज्यमा पर्ने गयाँका लागी प्रस्थान भए ।

साइँत गर्दा पहिलो दिन पालुङ्गोको तरकारी बारीमा बास बसेर दोस्रो दिन गयाँका लागि प्रस्थान गरे । गयाँ तीर्थमा उनिहरुलाई त्यहाका पण्डितहरुले प्रसाद दिदै गर्दा एउटा सुनको कचौरा (प्याउली) पनि प्रसाद संङ्गै उनिहरुको हातमा आयो । त्यहाँ भागेश्वरदेवतासंङ्ग पनि उनिहरुको साक्षत्कार भयो । त्यतिबेला गयासुद्दीन तुगलक नाउगरेको मुसलवान शासक दिल्लीको बादशाह थिए ।

उत्तर भारतका समस्त राज्यहरु दिल्लीराज्य अन्तर्गत पर्दथे । त्यतिबेला भारत विजय गरिसकेका मुसलवान शासकहरुले हिन्दुहरु माथि धर्मान्तरणको निहुमा चरम अत्याचार गरिरहेका थिए । त्यसैले हिन्दुहरु आफ्नो सनातन धर्म र संस्कृति बचाउँन कैयौँ ठुल–ठुला नदीहरु पार गर्दै यस हिमालय प्रदेशमा आइरहेका थिए । तिनिहरुकासंगै ती स्थानमा रहेका देवी–देवताहरु पनि आफ्ना भक्तहरुकासाथ नेपाल तथा भारतमा पर्ने दुर्गम हिमाली प्रदेशमा आइरहेका थिए ।

ती दुई जना भाइहरु घर फर्किदा त्यसै सुनको कचौरा (‘प्याउलि’)मा भागेश्वर, असिउ र बैजनाथ देवताहरुपनि उनिहरुसंगै यस क्षेत्रमा आएका थिए भन्ने भागेश्वरको ‘चैत, (गौरा तथा अन्य पर्वमा गाइने र खेलिने सांस्कृतिक गीत) बाट थाहा पाउँन सकिन्छ । ति दुबै भाइहरुले घर पुग्नुभन्दा अगाडी परशुरामधाम तीर्थ क्षेत्रमा पञ्चरात्रि बिताएका थिए ।

पञ्चरात्रि बिताउँदै गर्दा उनिहरुका साथमा आएका ‘भागेश्वर’ ‘असिउँ र ‘बैजनाथ’ देवताहरुले पनि अब कस्ले कहाँ–कहाँ निवास गर्ने भन्ने विषयमा सर–सल्लाह भयो । असिउँ देवता भागेश्वरका जेठा दाजु मानिन्छन् भने बैजनाथ देवता यि दुबै देवताहरुका भान्जा नाता पर्ने देवता हुन् । सल्लाह अनुसार भान्जा बैजनाथ देवताले कञ्चनपुर जिल्लाको उत्तर चुरे क्षेत्रमा बस्ने भए भने असिउ देवताले डडेलधुरा जिल्लाको ग्वान्नी भन्ने ठाउँमा बसोबास गर्ने सल्लाह भयो ।

त्यसैगरी भागेश्वर देवताले भने सल्लाह भए अनुसारको आफुले जानुपर्ने ठाउमा नगई खुसुक्क भागेर अहिलेको धुन्धुपर्वत भागेश्वर शिखर स्थानमा गएर शिलारुपमा परिणत भइ निवास गर्न थाले । यसरी अज्ञात किसिमले भागेर शिखर स्थानमा गएका हुना भन्ने कथन सुन्नमा आउछ ।