डडेल्धुरा । नेपालका चार वटा धाम मध्येको एक धाम काली नदी किनाकारमा रहेको परशुराम धाम हो । यहाँ प्रत्येक वर्ष मकर सक्रान्तिका दिन लाग्ने मेलामा स्नान गर्नेको घुईचो लाग्ने गर्छ । भित्रिमशेध क्षेत्र जोगबुडाको परशुराम नगरपालिका वडा नं ५ परिगाउँ स्थित नेपाल भारत सिमा कालीनदी किनारमा रहको परशुराम धाम भगवान परशुरामले ध्यान गरेको हुनाले प्रशिद्ध रहेको छ ।
हिन्दु मान्यताअनुसार भगवान विष्णुका दश अवतारमध्ये परशुराम छैटौँ अवतार भएको विश्वास छ । सप्त ऋषिमध्येका एक जमदग्नीका छोरा परशुराम भएको मानिन्छ । उनले शिवको तपस्या गरे । भगवान खुसी भएर बन्चरो उपहार दिएको किंवदन्ती छ । त्यसैले परशुरामलाई बन्चरो बोक्ने राम पनि भनिन्छ ।
विष्णु पुराणमा तपस्या गरेर परशुराम चिरञ्जीवी बने । त्यहाँ उनले भीष्मपितामह, द्रोणाचार्य र कर्णलाई धनुर्विद्या सिकाएका थिए । भगवान रामले पनि त्यहीँ समाधि लिएको विश्वास गरिन्छ । कालीनदी किनारको बामघाट बनारस सरह पवित्र मानिन्छ ।
मकर सङ्क्रान्ति र सूर्यग्रहण लागेका बेला डडेल्धुराबाट मात्रै १६ वटा शिवालयका देउरा लगिन्छ । (देउरा भनेका चल देवता अर्थात सुनचाँदीका आभूशणसहित शंक घण्टा, नेजाध्वजा हुन) । देउरालाई स्नान गराइन्छ । खिट्केश्वर, भागेश्वर, असिग्राम, वैद्यनाथ, घटाललगायतका देउरा लगिन्छ । देउराहरू स्नान गर्ने अलग–अलग घाट छन । देउरालाई देवघाटमा सामूहिक स्नान गराइन्छ ।
त्रेतायुगमा विष्णुको छैटौं अवतारको रुपमा परशुरामले हैयवंशी क्षेत्रीहरूको २१ पटक सम्म संहार गरे पछि यस क्षेत्रमा आएर तपस्या गर्दै यज्ञ गरेको स्कन्दपुराणमा उल्लेख रहेको परशुराम क्षेत्र विकास पूर्व अध्यक्ष पण्डिडत कैलाश कुमार पाण्डेयले बताए । यसका अतिरिक्त सती देवीको पूर्ण अंग पतन भइसके पछि भगवान शिव यही धाममा आएर तपस्या गरेको पनि बताइन्छ । धर्मराज युधिष्ठिरले यज्ञसहित द्वार समेत निर्माण गरेको जनविश्वास रहि आएको छ ।
धार्मिक महत्वका दृष्टिले धनी परशुरामधाम श्रद्धालुहरूको आकर्षक गन्तव्य बनिरहेको छ । खासगरी माघे संक्रान्तिको बेला यहाँ ठूलो मेला लाग्छ । यो बेला डडेल्धुरा, डोटी, बैतडी, दार्चुला, अछाम, बाजुरा, कैलाली, कञ्चनपुरलगायतका स्थानहरु बाट २२ वटा देवताका देउरालाई स्नान गराउन यहाँ ल्याउने चलन पनि छ ।
डडेल्धुराको घटाल बाबा, भागेश्वर, बैतडीको त्रिपुरा सुन्दरी, उदयदेव, दार्चुलाको मालिकार्जुन, डोटीको शैलेश्वरी, अछामको बैजनाथ, शिद्धनाथ, बाजुराको बडिमालिका, कैलालीको घटेश्वर र कञ्चनपुरका बैजनाथ, शिद्धनाथ देवताका देउरा ल्याई धार्मिक बिधिवत रुपमा स्नान गर्ने परम्परा रहेको छ ।
माघे सक्रान्ति लगायत औँसी, पुर्णिमा, चन्द्र, सुर्य ग्रहणका समयमा पनि देवि देवताका देउरा र देवताका धामिले स्नान गर्ने चलन छ । महाकाली नदीमा स्नान गर्नाले शुद्धता प्राप्त हुने भन्ने मान्यता रहिआएको छ । विभिन्न रत्वहरु द्धारा प्रशोधित भएर महाकाली नदी बग्ने भएकाले त्यसको जल सेतन हुदा स्वास्थ्यलाई वाद असल उर्जा प्राप्त हुन्छ । सक्रान्ति, मसान्ति, औँसी, पुर्णिमा, चन्द्र, सुर्य ग्रहणका समया गरिने स्नानलाई महास्नान भनिने गरेको छ ।
दार्चुलाको लिम्पियाधुरा, लिपुलेक हिमालबाट बग्ने महाकाली नदी नेपालको कञ्चनपुर भएर बग्छ । महाकाली नदीको महिमा बराबार अरु कुनै गंगा नदीको भएको कहि पनि उल्लेख नभएको जानकारहरु बताउछन । महाकाली नदीमा बाँया बाट निस्केर मिसिने प्रत्येक खोला नदी तिर्थ स्थल हुन भनि स्कन्द पुराणको मानसखण्डमा उल्लेख गरिएकोछ । यी स्थानहरुमा साध्य, तर्पण, स्नान गर्नाले कोटी कुलको उद्दार हुने गरेको भन्ने उल्लेखसमेत गरिएको छ ।
करीब ८५ बिघा क्षेत्रफलमा फैलिएको परशुराम धाम क्षेत्रमा परशुरामकी आमा रेणुकाको मन्दिर, धर्मद्वार, सत्ययुग देखि रहेको बताइने वर–पीपलको रुखसमेत देख्न पाइन्छ ।
जनमानसमा भगवानको पुण्यभूमि यो धाम अर्का पुस्ता सम्म यस्तै नरहला कि भन्ने डर बुढापाकामा छ । एकातिर चूरे पर्वत शृंखला र अर्काे तिर महाभारत पर्वत सँगै भारतको पूर्णागिरि पर्वतको मध्य भागमा रहेको परशुरामधाम डडेल्धुराको सदरमुकाम खलंगादेखि देखि ९० किलोमिटर र कञ्चनपुरको महेन्द्र नगरबाट ३९ किलोमिटरको दूरीमा सडक मार्ग बाट पुग्न सकिन्छ ।












