काठमाडौँ । चर्को सार्वजनिक विरोधपछि आन्तरिक वायु सेवा प्रदायकले तीन दिनका लागि नियमित दरमै हवाई टिकट बिक्री गर्ने भएका छन् ।
शुक्रबार र शनिबारको भीषण वर्षापछि देशभरका प्रमुख सडक अवरुद्ध हुँदा लामो दुरीका लागि हवाई यात्रा एक मात्र विकल्प बनेको थियो । हवाई सेवाप्रदायकले यसको फाइदा उठाउँदै आइतबार बिहानदेखि नै नियमित दरभन्दा ५० प्रतिशतसम्म बढीमा टिकट बेचेका थिए । विपदको समयमा पनि चर्को दरमा टिकट बेचेपछि आइतबार सार्वजनिक रूपमा आलोचना बढेको थियो ।
निजी क्षेत्रका आन्तरिक हवाई सेवाप्रदायकको संस्था वायु सेवा सञ्चालक सङ्घ, नेपालले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै सोमबारदेखि बुधबारसम्मका लागि सरकारले तोकेको सबैभन्दा माथिल्लो दरमा टिकट नबेच्ने निर्णय सार्वजनिक गरेको हो ।
उच्च दरमा टिकट नबेच्ने निर्णय गरेको सङ्घले विज्ञप्तिमा सरकारसँग सुविधाहरू माग गर्न भने छुटाएको छैन । विपत्मा सहयोगी बन्नुपर्ने अवस्थामा सङ्घले उच्च दरमा टिकट बेचेको आफ्नो कदमलाई ढाकछोप गर्ने गरी सरकारसँग उल्टै मागहरू थपेको हो ।
विज्ञप्तिमा सङ्घले परल मूल्यमा हवाई इन्धन अविलम्ब उपलब्ध गराउनुपर्ने र वायु सेवा कम्पनीलाई लगाउँदै आएको ल्यान्डिङ, पार्किङ, नेभिगेसन, यात्रु सुविधा शुल्कलगायत अन्य दस्तुरमा छुट दिनसमेत माग गरेको छ ।
सङ्घले विज्ञप्ति जारी गर्नु अघि प्रधानमन्त्री केपी शर्मा ओलीले फेसबुकमा स्टाटस लेख्दै सहुलियत दरमा टिकट उपलब्ध गराउन एयरलाइन्सहरूलाई अनुरोध गरेका थिए । “हवाई भाडा अरूबेलाभन्दा महँगो भएको गुनासो सामाजिक सञ्जालमा सुनिएको छ । हवाई सेवा दिँदै आएका एयरलाइन्सलाई यस्तो विपत्तिको समयमा यात्रुहरूसँग पहिलेभन्दा सहुलियत मूल्यमा या पहिलेकै दरमा भाडा लिएर सहयोग गर्नुहुन अनुरोध छ,” प्रधानमन्त्रीले लेखेका थिए ।
सरकारले आह्वान गरेको सर्वदलीय बैठकमा पनि हवाई टिकटको मूल्य अत्यधिक बढेको सन्दर्भमा आवश्यक परिमार्जन र नागरिकको सहजतालाई दृष्टिगत गरी संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले विमान कम्पनीसँग समन्वय गर्ने निर्णय भएको थियो ।
प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले पनि आइतबार प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयलाई पत्र लेख्दै हवाई सेवाको भाडा बढाउँदा यात्रुलाई समस्या परेको उल्लेख गर्दै त्यसलाई नियन्त्रण गर्न निर्देशन दिएको थियो ।
“यस विकराल तथा प्रतिकूल परिस्थितिमा आवतजावतको विकल्पका रूपमा रहेको हवाई यातायातसमेतमा आन्तरिक उडान गर्ने विमान सेवा कम्पनीले आफूखुसी हवाई भाडा बढाउँदा आमनागरिकमा यसले ठुलो असर पारेको देखिन्छ,” पत्रमा लेखिएको छ, “तसर्थ हवाई भाडादरमा नियन्त्रण गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयमा आवश्यक निर्देशन हुन निर्देशानुसार अनुरोध छ ।”
हवाई क्षेत्रको नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणले आइतबार नै एक विज्ञप्ति जारी गर्दै नेपालमा उडान गरिरहेका अन्तर्राष्ट्रिय हवाई सेवाप्रदायकलाई असोज ११ गतेदेखि १६ गतेसम्मका लागि टिकट लिएका यात्रुलाई मिति परिवर्तन शुल्क, नो सो शुल्क र भाडा यथावत् राख्न विशेष सहुलियत प्रदान गर्न अनुरोध गरेको छ ।
प्राधिकरणको विज्ञप्तिपछि राष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगमले यात्रुलाई कुनै शुल्क नलाग्ने जनाएको छ । निगमले असोज ११ गतेदेखि १६ गतेसम्मको अन्तर्राष्ट्रिय उडानका लागि टिकट लिएका तर अविरल वर्षाका कारण उडान छुटेका यात्रुले असोज २५ गतेसम्म निगमको उडानबाट यात्रा गर्न चाहेमा कुनै शुल्क नलाग्ने व्यवस्था गरेको हो । त्यसका लागि निगमको कार्यालयमा सम्पर्क गरेर उक्त सेवा लिन सकिने छ ।












