दीपेन्द्र र इशानको साझेदारीमा सुदूरपश्चिमको पहिलो जित

Image

काठमाडौं । कप्तान दीपेन्द्रसिंह ऐरीको अर्धशतक र इशान पाण्डेसँगको उत्कृष्ट साझेदारीमा सुदूरपश्चिम रोयल्सले तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा पहिलो जित निकालेको छ । सुदूरपश्चिमले पोखरा एभेन्जर्सलाई ६ विकेटले पराजित गरेको हो ।

पोखराले दिएको १४६ रनको लक्ष्य सुदूरपश्चिमले १६ ओभर ५ बलमा चार विकेट गुमाएर पूरा गर्‍यो । सुदूरपश्चिमका कप्तान दीपेन्द्रले ३६ बलमा चार चौका र दुई छक्कासहित अविजित अर्धशतक बनाए ।

सुरुवातमै ओपनर विनोद भण्डारीलाई चार रनमा गुमाएको सुदूरपश्चिमका लागि सैफ अली जैब र ब्रान्डन म्याकमुलेनले दोस्रो विकेटका लागि ३४ रनको साझेदारी गरे । सैफ १४ र ब्रान्डन २२ रनमा आउट भए ।

त्यसपछि दीपेन्द्र र इशान पाण्डेले चौथो विकेटका लागि ७४ रनको साझेदारी गर्दै टोलीलाई जितको नजिक पुर्‍याए । इशानले ३१ बलमा ३७ रन बनाए । शेर्फन रदरफोर्ड आठ रनमा अविजित रहे ।

पोखराका धनञ्जय लक्षन, महेदी हसन र शाकिब अल हसनले एक–एक विकेट लिए ।

त्यसअघि त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १४५ रन बनाएको थियो । पोखराका अर्जुन घर्तीमगरले २५ बलमा चार चौका र एक छक्कासहित अविजित ४० रन बनाए । उनले अन्तिम ओभरमा १५ रन जोडे ।

महेदी हसनले ३२ रन बनाउँदा कप्तान कुशल भुर्तेलले २१ रनको योगदान दिए । शाकिब अल हसनले १४, धनञ्जय लक्षनले ११ र सदिरा समरविक्रमाले आठ रन बनाए । किरण ठगुन्ना एक रनमा आउट भए भने विपिन खत्री पाँच रनमा अविजित रहे ।

सुदूरपश्चिमका अनिल खरेलले तीन ओभरमा २३ रन खर्चेर तीन विकेट लिए । हेमन्त धामी, स्कट कुगेलाइन र दीपेन्द्रसिंह ऐरीले एक–एक विकेट हात पारे ।

एनपीएलअन्तर्गत बिहीबार जनकपुर बोल्ट्स र काठमाण्डु गोर्खाजबीच दिउँसो साढे १२ बजे तथा विराटनगर किंग्स र कर्णाली याक्सबीच साँझ पाँच बजे खेल हुने तालिका छ ।