चक्रवात ‘अरनब’को प्रभावले वर्षा र हिमपातको जोखिम, सतर्क रहन आग्रह

Image

काठमाडौँ । बङ्गालको खाडीमा विकसित भइरहेको चक्रवात ‘अरनब’को प्रभावले नेपालका विभिन्न क्षेत्रमा वर्षा, चट्याङ र हावाहुरीको सम्भावना रहेकाले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

प्राधिकरणका अनुसार यही कात्तिक १३ र १४ गते कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित मध्यम वर्षा तथा केही स्थानमा भारी वर्षा हुन सक्ने सम्भावना छ ।

प्राधिकरणका प्रवक्ता रामबहादुर केसीका अनुसार जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमानअनुसार चक्रवात ‘अरनब’को प्रभाव कात्तिक १३ गते शुक्रबारदेखि नेपालमा पर्न सक्ने अनुमान गरिएको छ ।

चक्रवातको प्रभावले कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा समेत वर्षा हुन सक्नेछ । त्यस्तै, उच्च पहाडी तथा हिमाली क्षेत्रमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको जोखिम रहेको प्राधिकरणले जनाएको छ ।

सम्भावित विपद्बाट जोगिन प्राधिकरणले उच्च पहाडी तथा हिमाली क्षेत्रमा यात्रा नगर्न, अत्यावश्यक कामबाहेक यात्रा नगर्न तथा नदी, खोला किनार र बाढीको जोखिम भएका क्षेत्रमा नबस्न अनुरोध गरेको छ ।

त्यसैगरी, मौसम पूर्वानुमान तथा आधिकारिक पूर्वसूचनालाई नियमित रूपमा अवलोकन गर्न र विपद्को जोखिम देखिएमा तत्काल सुरक्षित स्थानमा जान प्राधिकरणले आग्रह गरेको छ ।

प्राधिकरणले आपत्कालीन अवस्थामा आवश्यक सहयोग लिन मौसमसम्बन्धी जानकारीका लागि ११५५, विपद् सहायताका लागि १२३४, नेपाल प्रहरीका लागि १०० र पर्यटक प्रहरीका लागि ११४४ मा सम्पर्क गर्न अनुरोध गरेको प्रवक्ता केसीले जानकारी दिए ।