थारू बस्तीमा अट्वारीको रौनक

Image

दाङ । थारू बस्तीमा अट्वारीको रौनक छाएको छ । हरेक वर्ष थारू समुदायका महिलाहरुले मनाउने अस्टिम्की पर्व (जन्माअष्टिमी) पछिको दोस्रो आइतबारका दिन थारू समुदायले अट्वारी मनाउदै आएका छन् । अट्वारी पर्व थारू समुदायका पुरुषहरुले विशेष रुपमा मनाइने पर्व हो ।

वर्षको एक पटक मात्र मनाइने पर्व भएकाले थारू समुदायले अट्वारी उल्लासमय बातावरणमा मनाउदै आएका छन् । अट्वारीमा अहिले थारू बस्तिहरुमा चहलपहल बढेको छ । कामको शिलशिलामा होस या उच्च शिक्षाका लागि गाउँ र जिल्लाभन्दा बाहिर गएका थारू पुरुषहरु अट्वारी मनाउनका लागि गाउँ फर्कि सकेका छन् । त्यसैले अरु दिनभन्दा अट्वारीमा थारू बस्तिमा थारू पुरुषहरुको उपस्थिति बाक्लो हुन्छ ।

अट्वारीको दिन दिनभरी व्रत बसेर बेलुका भ्याँवा (भीम)को नाममा पूजापाठ गरेर अट्वारी मनाउने गरेको दंगीशरण ३ हेकुलीका भीमबहादुर चौधरीले बताए । ‘‘अट्वारीको पहिलो दिन माछा, गंगता, घोङघी लगायत मिठो मिठो परिकार पकाएर शनिबारको राति भिन्सर्‍या (दर) खान्छौँ,’’ उनले भने, ‘‘भाले नबज्दै भिन्सर्‍या खाइसक्नुपर्छ, यदि भाले बज्यो भने भिन्सर्‍या जुठो हुन्छ, त्यसैले भाले नबज्दै हामी भिन्सर्‍या खाइसक्छौं ।’’

भिन्सर्‍या खाएपछि अट्वारीको दिन दिनभरी व्रत बस्ने चलन रहेको उनले बताए । ‘‘बेलुकी नुहाइधुवाई गरेर गन्यारी काठबाट आगो निकालेर गहु, चामल, अनदी चामल लगायतका पिठोबाट पाँचदेखि सात थरिको रोटी पकाउँछौँ,’’ चौधरीले भने, ‘‘रोटी पकाइसकेपछि व्रत बसेका सबैजना ब्रही कोन्टी (बैठक कोठा)मा बसेर भ्याँवक (पाँच पाण्डव मध्ये भीम) को नाममा पूजा पाठ गरेर आफ्नो भागमा रहेको केही रोटी फलफूल, दहि दिदीबहिनीहरुको नाममा निकालेर खाने गर्छौ ।’’ उनका अनुसार अट्वारीको दिन त्यहि रोटी र फलफुल बाहेक माछामासु खान मिल्दैन ।

‘‘अट्वारीको दोस्रो दिन अर्थात् फह्रारको दिन पनि यसैगरी बिहानै नुहाइधुवाइ गरेर भात तरकारी पकाउँछौ,’’ उनले भने, ‘‘फह्रारको दिन पनि पाँचदेखि सात थरिको तरकारी हुन्छ, मास र पवै साग अनिवार्य हुनुपर्छ, यसरी सबै परिकार पकाएसकेपछि बह्री कोन्टीमा भ्याँवालाई पूजापाठ गरेर आफ्नो भागमा रहेको भात, तरकारी दिदीबहिनीहरुको नाममा निकालेर खान्छौँ । यसरी दिदीबहिनीको नाममा निकालेको खानेकुरालाई थारु भाषामा अग्रासन (कोसेली) भन्ने गरिन्छ ।’’

त्यहि अग्रासन अट्वारीको दोस्रो दिन विवाहित चेलिबेटिलाई दिन जाने चलन रहेको उनले बताए । अट्वारीमा भ्याँवालाई पूजापाठ गरेपछि पाँच पाण्डव मध्ये भीम जस्तै बलियो भइन्छ, भन्ने थारु समुदायमा जनविश्वास भएकोले अहिले पनि अट्वारीमा भ्याँवाको नाममा अग्निमा अट्वारीमा खाने परिकारहरु चढाएर चल र मोहीले पूजापाठ गर्ने परम्परा रहेको उनले बताए ।

वर्षेनी दुई अट्वारी
कृष्ण जन्माष्टमी (अष्टिम्की) पछिको दोस्रो आइतबार अर्थात् शुक्ल पक्षको पहिलो आइतबार थारू समुदायले अट्वारी मनाउने प्रचलन रहँदै आएपनि गाउँ अनुसार फरक फरक मितिथितीमा थारु समुदायले अट्वारी मनाउदै आएकाछन । यो वर्षपनि केही थारु गाउँहरुमा भदौं १५ गते अट्वारी मनाउने भएकाछन ।

यदपी पहिलो वर्षभन्दा यसवर्ष धेरै जिल्लामा भदौ ८ गते नै अट्वारी मनाउन लागेको थारु कल्याणकारिणी सभाका केन्द्रीय सचिवलाय सदस्य भुवन चौधरीले जानकारी दिए । आफुहरुले थारु समुदायको चाडपर्वलाइ एकरुपता बनाउनको लागि थारु कल्याणकारिणी सभा मार्फत लागिरहेको उनले बताए ।

त्यसैअनुरुप अहिले लुम्बिनी र सुदूरपश्चिम प्रदेश सरकारबाट भदौ ८ गते अट्वारीको सार्वजनिक विदा दिएको हो, उनेले भने, केही गाउँमा भदौं १५ गते मनाए पनि हाम्रो भन्ने केहि छैन । तर थारु समुदायको आस अट्वारी भदौ ८ गते नै हो । ‘हाम्रा पुर्खाहरुले अष्टिम्की पर्वको दोस्रो आइतबार अर्थात (ओजरिया रातके पहिला अट्वार) अट्वारी मनाइँदै आउनुभएको थियो, अहिले पनि त्यही नै हो, उनले भने, धेरै जसो ठाउँमा अस्टिम्कीपछि कुस अमाउस (कुशे औंसी) को पहिलो आइतबारलाई अट्वारी मनाउने पहिलाको प्रचलन छ ।’

अट्वारी मनाउने ऐतिहासिक घट्ना
अट्वारी पर्व मनाउने एउटा ऐतिहासिक घटनासँग जोडिएको थारू अगुवाहरु बताउँछन् । प्राचिनकालमा दाङका थारू दंगिशरण राजा र पाँच पाण्डवमध्ये भीमसँग सम्बन्धित छ । महाभारतका पाँच पाण्डव र दाङक थारू राजा दंगिशरणबिच लामो घनिष्ठ थियो । यहि बिचमा पाँच पाण्डव र द्रौपदी सबैजना सुर्खेतको काँक्रेविहारमा घुम्न आएका थिए ।

त्यहि क्रममा दंगिशरण राजाको दरबारमा शत्रुहरुले आक्रणम गर्न लागेको थाहा पाएपछि भीमले आफूले खानको लागि तावामा पकाउँदै गरेको रोटी छोडेर भीमले भोकै पेटमा दंगिशरणको पक्षमा लड्न आए । दंगिशरणको पक्षमा लड्न आएका भीमले विजय हासिल गरेका थिए । संयोगवश उक्त घटना आइबार परेको थियो । त्यही मान्यता र विश्वासको आधारमा भीम जस्तै बलियो भइन्छ भनेर थारू समुदायले भीमको नाममा पूजा गर्ने र अट्वारी पर्व मनाउँदै आएका छन् ।