तनहुँमा बाढीको वितण्डा : ११ पुलमा क्षति, आवागमन प्रभावित

Image

तनहुँ । अविरल वर्षापछि आएको बाढीपहिरोले तनहुँका ११ वटा पुल तथा कल्भर्टमा क्षति पुर्‍याउँदा स्थानीय बासिन्दाको आवागमन प्रभावित भएको छ। गत असोज ९ देखि ११ गतेसम्म आएको बाढीले पाँच वटा झोलुङ्गे पुल पूर्ण रूपमा बगाएको छ भने तीन वटा झोलुङ्गे पुल, एउटा पक्की पुल र दुई वटा कल्भर्टमा आंशिक क्षति पुर्‍याएको छ।

जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारीका अनुसार क्षतिग्रस्त संरचनाको पुनर्निर्माण तथा मर्मतसम्भार गरी आवागमन सहज बनाउन सम्बन्धित केन्द्रीय निकायसँग समन्वय भइरहेको छ।

“सुरक्षा निकाय र पालिकाको स्थलगत अनुगमन प्रतिवेदनका आधारमा प्राथमिकता निर्धारण गरी सिफारिस पठाइसकिएको छ,” उनले भने, “झोलुङ्गे पुलका लागि स्थानीय पूर्वाधार विकास विभाग तथा पक्की पुलका लागि सडक विभाग र सडक डिभिजन कार्यालय, दमौलीसँग तत्काल काम अघि बढाउन पहल गरिएको छ।”

पुल तथा कल्भर्ट क्षतिग्रस्त भएपछि स्थानीय बासिन्दा, बिरामी र विद्यालय जाने विद्यार्थीलाई आवतजावतमा समस्या भएको छ। विशेषगरी तनहुँलाई पाल्पा र नवलपुर जिल्लासँग जोड्ने झोलुङ्गे पुलमा क्षति पुगेपछि स्थानीयको दैनिक आवागमनसँगै दुई जिल्लाबीचको सम्पर्कसमेत प्रभावित भएको छ।

पाँच झोलुङ्गे पुल पूर्ण रूपमा बगे

प्रमुख जिल्ला अधिकारी तिवारीका अनुसार बाढीले घिरिङ गाउँपालिका–१ र पाल्पाको रामपुर नगरपालिका जोड्ने झोलुङ्गे पुल, घिरिङ–१ को अत्रौलीबाट कासिवन जोड्ने पुल, घिरिङ–४ को मण्डारबाट नवलपुरको बौदीकाली गाउँपालिका–२ स्थित खरसङघाट जोड्ने पुल, सोही वडाको करुवाटारबाट माइतीघाट–मचेडी जोड्ने पुल तथा देवघाट गाउँपालिका–२ र नवलपुरको बुलिङटार गाउँपालिका–१ जोड्ने खाल्टे–बुलिङटार झोलुङ्गे पुल पूर्ण रूपमा क्षतिग्रस्त भएका छन्।

यसैगरी, घिरिङ–१ र रामपुर जोड्ने पुट्टारघाट–स्याउलीबजार तथा घिरिङ–४ र नवलपुरको बौदीकाली गाउँपालिका जोड्ने जगौलीटार–थोत्रेनी झोलुङ्गे पुलमा आंशिक क्षति पुगेको छ। देवघाट गाउँपालिका–१ र नवलपुरको गैँडाकोट नगरपालिका–३ जोड्ने झोलुङ्गे पुलको लट्ठा, स्ल्याब र जालीमा समेत क्षति भएको छ।

त्यस्तै, घिरिङ–४ र बौदीकाली जोड्ने कालीगण्डकी नदीमाथिको मण्डार–खरसङघाट पक्की पुलमा आंशिक क्षति पुगेको छ। भिमाद नगरपालिका–४ स्थित सिंहाले कल्भर्ट पूर्ण रूपमा क्षतिग्रस्त भएको छ भने घिरिङ–४ स्थित तिरन्दी खोला कल्भर्टमा आंशिक क्षति पुगेको छ।

अस्थायी व्यवस्था गरी पुनर्निर्माण गर्न माग

घिरिङ गाउँपालिकाकी उपाध्यक्ष राधादेवी अधिकारीले पुल क्षतिग्रस्त हुँदा स्थानीय बासिन्दाको दैनिक आवागमन ठप्पप्रायः बनेको बताइन्। उनले आवागमन सहज बनाउन अस्थायी विकल्पको व्यवस्था गर्नुका साथै क्षतिग्रस्त पुलको पुनर्निर्माणलाई प्राथमिकता दिनुपर्नेमा जोड दिइन्।

प्राकृतिक पर्यावरण संरक्षण मञ्चका अध्यक्ष सुदर्शन प्रधानले बाढीले खेतबारी र सिँचाइ कुलोमा समेत ठूलो क्षति पुर्‍याएको बताए। उनले पुनर्निर्माणका काम गर्दा वातावरण संरक्षण र जलवायुमैत्री उपायलाई प्राथमिकता दिनुपर्ने धारणा राखे।

बाढीबाट क्षतिग्रस्त पुल तथा कल्भर्टको मर्मत र पुनर्निर्माण समयमै हुन नसके स्थानीय बासिन्दाको दैनिक जीवन, शिक्षा, स्वास्थ्य सेवा तथा स्थानीय आर्थिक गतिविधिमा थप समस्या आउन सक्ने देखिएको छ।