प्रधानमन्त्री ओली र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टेनियो गुटेर्रेसबिच भेटवार्ता

Image

न्युयोर्क । नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै संयुक्त राष्ट्रसङ्घको ७९ औँ महासभामा भाग लिने क्रममा संयुक्त राज्य अमेरिकाको न्युयोर्क पुगेका प्रधानमन्त्री केपी शर्मा ओली शनिबारदेखि महत्वपूर्ण भेटघाट र कार्यक्रममा सहभागी भएका छन ।

शनिबार दिउँसो स्थानीय समय अनुसार ३ः१५ बजे संयुक्त राष्ट्रसङ्घ भवनमा महासचिव एन्टेनियो गुटेर्रेससँग प्रधानमन्त्री ओलीको भेटवार्ता भएको छ । यस्तै स्थानीय समय अनुसार दिउँसो १ बजे ग्यास हाउस अन पार्कमा आयोजित संसदीय मञ्चको कार्यक्रमलाई सम्बोधन गरेका छन ।

शनिबार दिउँसो संयुक्त राष्ट्रसङ्घका उपमहासचिव रहब फातिमाले प्रधानमन्त्री ओलीलाई भेटेका छन ।

यसैबिच शनिबार साँझ नै राष्ट्रसङ्घका लागि नेपालको स्थायी नियोगले प्रधानमन्त्री ओली र भ्रमण दलमा सहभागी सदस्यका लागि स्वागत समारोहको आयोजना गरेको थियो ।

क्यानडामा रहेकी परराष्ट्रमन्त्री डा. आरजु राणा शनिबार नै न्युयोर्क पुगी भ्रमण दलमा सामेल भएको राष्ट्रसङ्घका लागि स्थायी नियोगका प्रतिनिधि लोकबहादुर थापाले जानकारी दिए ।

प्रधानमन्त्री ओलीलाई परराष्ट्र मन्त्रालयका सचिव सेवा लम्साल, नियोगका प्रतिनिधि थापा, शिष्टाचार महापाल विष्णुप्रसाद गौतमलगायतले राष्ट्रसङ्घका विभिन्न सत्र र नेपालको भूमिकाबारे अवगत गराएका थिए ।

प्रधानमन्त्री ओली कतारको दोहा हुँदै स्थानीय समय अनुसार शुक्रबार राति ९ः४५ बजे न्युयोर्क पुगेका हुन । होटल ग्रान्ड ह्यायातमा बसेका ओलीले अमेरिकास्थित विभिन्न राज्यका अवैतनिक महावाणिज्य दूतहरू, नेपाली समुदायका प्रतिनिधिलगायतले भेट गगरेका छन ।