डडेल्धुरा । सूदूरपश्चिम प्रदेशमा रहेका नौ वटा भगवतीका मन्दिरहरू मध्येको एक मन्दिर उग्रतारा मन्दिरमा बिहिबार अष्टिमी मेला लागेको छ । पात्रो अनुसार शुक्रबार महाअष्टमी भए पनि उग्रतारा मन्दिरमा घटस्थापनाको दिन देखी दिन गन्तिले बिहिबार नै पूजाआजासहित मेला लागेको मन्दिरका पुजारी लोकराज भट्टले जानकारी दिए ।
बुधबार साँझपख मन्दिरमा पूजाआजा गरिएपछि बिहिबार बिहानै देखि मेला लागेको उनले बताए । अष्टमीका दिन उग्रतारा भगवती मन्दिरमा राँगा र बोकाको बली चढाउने धार्मिक परम्परा रहिआएको छ । भाकल गरेकाहरुले दाईन, दमाह बाँजागाँजासहित राँगा मन्दिरमा पुगाउने परम्परा रहेको उनले बताए ।

किम्बदन्ति अनुसार करिब २५ सय वर्ष पहिले हालको अमरगढी नगरपालिका–८ लटाउली गाउँबस्ने साँकी जातिका स्थानीयले गह््रामा हलो जोत्दै गर्दा हलोको फालीलागेर शिलाबाट रगत बग्न थाल्यो । माटोले रगत रोक्दा रोकिएन । आफुलाई खान ल्याएको खिचडीले रगत रोक्दा रोकियो । त्यसपछि यस स्थानमा देवी उत्पन्न भएर दर्शन मिलेको थियो । त्यस दिनदेखि महागौरी दुर्गा र कालीको स्वरुपमा उग्रतारा भगवतीको पूजागरिँदै आएको छ । तिनै लटाउली गाउँका साँकी र भट्ट जातीका पण्डित अहिले पुजारी रहेका छन ।
साँकी जातीले अमरगढी नगरपालिका–तिलाडी पोखराका पार्की हाल कैनी जातीलाई अनुमतीदिई राँगा काट्न भनेपछि अष्टमीका दिन भगवतीको पूजाआजासहित मेला लागी राँगाको बली सुरुहुन्छ । बली दिईएका राँगाको मासु पार्की कैनीजातीले उपभोग गर्ने गरेको उग्रतारा क्षेत्र विकास समिति अध्यक्ष तेज बहादुर साँकीले बताए । भाकलका आधारमा मनोकामना पुरा भए पछि राँगा र बोकाको बलीदिईने धार्मिक परम्परा रहिआएको उनले बताए ।
उग्रतारा भगवतीको उत्पति हुदा साँकी जातीको खेतमा पार्की जातीका व्यक्तिले हलो जोतिरहेको र रगत कुनै हातलतमा नरोकिए पछि आफुले खान ल्याएको खिचडीले रगत रोक्ने प्रयास गरेपछि रोकिएको किम्बदन्ति छ । त्यस कारण साँकीजाती पछि उग्रतारा मन्दिरमा पार्की कैनीजातीको महत्व हुन्छ ।

उहाँकाअनुसार अष्टमी मेलासंगै राँगा र बोकाको बलीदिइ पूजाआजा गरिन्छ भने दशैँको दिन पनि भव्य पूजाआजा गरिन्छ । अष्टमीका दिन बिहान अमरगढी नगरपालिका ६ को दुुमडा र छचोडा गाउँ, अमरगढी नगरपालिका ८ को खनमडा गाउँ र अमरगढी नगरपालिका ५ को जिलोडा गाउँबाट देउरा ल्याउने गरिन्छ ।
यी चार वटा गाउँमा भएका देउरा सुन भाँडीका गरगहना सहितको डोली, भोकर, बिकुल घण्टा संगै दाहिन दमाह बजाउदै नेताध्वजासहित देउरो मन्दिरमा ल्याईन्छ । दशैँका दिन पूजाआजा सकिएपछि टिका लगाई देउरो लगेर पुनः गाउँ फर्किने धार्मिक परम्परा सदियौँ देखि रहिआएको छ ।
उग्रतार मन्दिर बिशाल फाँटमा रहेको छ । डाडामाभि मन्दिर अवस्थित रहेकाले मन्दिर सम्म पुग्न ओरालो झर्नु पर्दैन । यस कारण पनि मन्दिरको गरिमा बढेको अध्यक्ष साँकीको भनाई छ ।
उग्रतारा भगवती मन्दिरमा कार्तिक शुक्ल पूर्णिमाको दिन महापूूजा तथा ठूलो मेलालाग्ने गर्दछ । कार्तिक शुक्ल पूर्णिमामा लाग्ने प्रशिद्ध मेला देइजातमा प्राचिनकालमा गर्खा, गर्खाबाट लडाकुहरुले आ–आफ्नो विरताका साथ लडाई हुँदा रगतको खोला बग्ने र जसलाई यँहा न्वाखोलाको रुपमा नामकरण गरिएको छ ।












