खेलमैदान नभएको डडेल्धुरा सदरमुकाम

Image

डडेल्धुरा । जिल्ला सदरमुकाममा उपयुक्त खेल मैदान नहुदा प्रतियोगिता संचालनमा निकै ठूलो चुनौती हुने गरेको छ । जिल्ला सदरमुकाम क्षेत्र अमरगढी नगरपालिका भित्र पर्छ । अमरगढी नगरपालिका ४ मा टुडीखेल मैदान छ । करिब १०० मिटर लम्बाई र ५० मिटर चौडाई भएको टुडीखेलमा क्रिकेट र फुटबल प्रतियोगिता गर्न मुख्य चुनौती छ । वातावरणिय हिसाबले १२ महिना खेलकुद प्रतियोगिता संचालन गर्न मिल्ने भए पनि मैदान र आवश्यक भूर्वाधारको अभावमा खेलकुद प्रतियोगिता आयोजना गरिदैनन् भने यहाँका खेलाडी पलायन हुनु पर्ने अवस्थाको सिर्जना भएको छ ।

अमरगढी नगरपालिका ३ को घटालथान नजिक रामलिला मैदान छ । डोटी खोला किनार प्राकृतिक मैदानमा पनि क्रिकेट र फुटबल बाहेका अन्य प्रतियोगिता गर्न मिल्छन तर पूर्वाधारका संरचना कुनै छैनन् । गत असोजको अबिरल वर्षा पछि खोलाको बाढीले मैदानमा माटो भरिदिएको छ । यी दुई स साना खेल मैदान बाहेक अन्य कुनै पनि मैदान नहुदा राष्ट्रपति रनिंग शिल्ड प्रतियोगिता गराउन पनि निकै चुनौती छ । जेनतेन यी दुई वटै मैदानमा राष्ट्रपति रनिंग शिल्ड प्रतियोगिताको आयोजना गर्दै आईरहेको जिल्ला खेलकुद विकास कार्यालयका कार्यालय प्रमुख डम्बर बहादुर भण्डारीले बताए ।

उनका अनुसार भित्रिमधेशको जोगबुडा परशुराम नगरपालिकामा भने रंगशाला निर्माण गरिएकाले क्रिकेट र फुटबलको आयोजनासमेत गर्न मिल्छ । एक वर्ष जोगबुडामा र एक वर्ष अजयमेरुमा राष्ट्रपति रनिंग शिल्ड प्रतियोगिता संचालन गरिएको थियो । टुडीखेलकै छेउमा जिल्ला खेलकुद विकास समितिको कार्यालय छ । २०४० सालमा बजेट आएपछि निर्माण थालिएको टिटी कभर्डहल २०४२ सालमा निर्माण सम्पन्न गरिएको थियो ।
२०७५ असार महिनामा परेको वर्षाले उक्त टिटी कभर्डहल भत्कियो ।

२०७७ मा १० लाख रुपियाँ विनियोजित भए पछि कभर्डहल निर्माणका लागि जग खनेर पिल्लर हालियो तर बजेट अभावले काम पूर्ण रुपमा रोकियो । २०८९ सालमा सुदूरपश्चिम प्रदेशको सामाजिक विकास कार्यायलबाट करिब दुई करोड रकम विनियोजन भई कार्यालय र टिटी कभर्डहल निर्माणका लागि टेण्डर भए पछि हाल निर्माण कार्य सम्पन्न भएको उनले बताए । तर कार्यालय भवन र कभर्डहल निर्माण भए पनि हस्तान्तर भएको छैन ।

टिटि कभर्डहलमा टेनिस, कराते, तेक्वान्दो, बक्सिंगका प्रतियोगिताहरु गर्न मिल्ने उनले बताए । खेल मैदान र कभर्डहलको अभावमा खेलाडी उत्पादन हुन नसकेको उनको भनाई छ । तेक्वान्दोका चर्चित खेलाडी दीपक विष्ट, दिपेन्द्र देउवा, बक्सिङ खेलाडी डम्बरदत्त भट्ट, भारोत्तोलन खेलाडी भरत साउद, एथलेटिक्सकी सरस्वती भट्टराई, क्रिकेट खेलाडी दिलीप नाथ, सन्दिप जोरा, सन्तोष भट्ट, भलिबलकी कविता भट्ट, टंक अवस्थी, सुरेन्द्र बम, सन्तोष खत्रीजस्ता खेलाडी डडेल्धुराका हुन् । उनले भने, यी यस्ता सयौँ अन्य खेलाडी जन्मिन्थे होलान सायद राम्रो खेलमैदान, रंगशाला, कभर्डहल र प्रशिक्षकहरु भएको भए जिल्लामा ।

खेलम मैदानका लागी विभिन्न समयमा रकम नआएको होईन । तर शक्ति र हचुवाका भरमा आउने बजेटले जिल्ला सदरमुकाममा एउटा पनि गतिलो खेल मैदान बनाउन नसकिएको खेलकुद विकास समिति अध्यक्ष डम्बर थापाको गुनासो छ । उनले भने, चालु आर्थिक वर्षमा पछि दुई वटा खेलकुद मैदानका नाममा ४५ लाख रुपियाँ छ । यो रकम एउटा खेल मैदानमा विनियोजन गरिएको भए क्रिकेट र फुटबलसहित सबै खेलकुद प्रतियोगिता संचालन गर्न मिल्ने गरि मैदान बनाउन मिल्थ्यो । विस्तारै भौतिक पूर्वाकारका संरचना निर्माण हुदै जान्थे । उनका अनुसार अमरगढी नगरपालिका ४ बलिया खेलमैदान भनेर सामाजिक विकास कार्यालयको ३० लाख रुपियाँ बजेट छ भने वडा नं. ५ मा रहेको डडेल्धुरा बहुमूखि क्याम्पसमा उग्रतारा खेल मैदान भनेर १५ लाख रुपियाँ रकम छ ।

यस भन्दा अघि पनि संघ, प्रदेश र स्थानीय सरकारले अलग अलग स्थानममा खेल मैदान बनाउने नाममा करोड बढी रकम खर्च गरिसकेका छन । तर खेलकुद प्रतियोगिता संचालन गर्न मिल्ने मैदान एउटा पनि बनिसकेको छैन । यस अधि अमरगढी नगरपालिकाका–२, ३, ४, ६ र ८ मा स्थानीय, प्रदेश र संघ सरकारले अलग–अलग खेलमैदान निर्माण गर्ने भन्दै वनको जमिन खनेर छोडेका छन । तर डिपिआर गरिएका खेल मैदानमा बजेट छैन ।

२०७५ मा अमरगढी नगरपालिका–४ स्थित धोवीखोलामा उग्रतारा रंगशाला र वडा नं. ६मा भटनेउटा क्रिकेट मैदानका नाममा संघीय सरकारले केही बजेट विनियोजन गरि जमिन खनेको छ । त्यस यता बजेट परेको छैन । वडा नम्बर ६ कै ग्वाला खेतमा प्रदेश सरकारले २० लाख रकम विनियोजन गर्दै क्रिकेट खेलमैदान निर्माण गर्ने भनी जमिन खनेको थियो । तर यसमा पनि पछिल्ला वर्षहरुमा बजेट छैन ।

यसैगरी वडा नम्वर ८ खोलाखेतमा अमरगढी नगरपालिकाले क्रिकेट खेलमैदान निर्माण गर्ने भन्दै जमिन खनेको थियो । यी तीनवटै खेलमैदानमा करिब डेढ करोड रुपैयाँ खर्च गरिएको थियो । तर अहिले भूक्षयीकरण हुदा खण्डहरमा परिणत भएको खेलकुद विकास समिति अध्यक्ष थापाले बताए ।

यस्तै वडा नं. २ र ३ मा पनि केही रकम खर्च गरेर अमरगढी नगरपालिकाले जमनि खनेको थियो तर निर्माण सम्पन्न भने हुन सकेका छैनन् ।
क्याप्सनः टुडीखेलमा नवनिर्मित जिल्ला खेलकुद विकास समितिको कार्यालय र टिटी कभर्डहल । तस्बिरः सम्झना पाण्डेय ।