आज उग्रतारा मेला देहिजात

Image

डडेल्धुरा । सुदूरपश्चिम प्रदेशकै प्रसिद्ध शक्तिपीठ उग्रतारा भगवती मन्दिरमा हरेक वर्ष मनाइने ‘देहिजाँत’ आज लागेको छ । उग्रतारा भगवति मन्दिरमा कात्तिक शुक्लपक्ष पुर्णिमाका दिन रतेडी र अर्काे दिन दिउसेडी हुने गरेको छ ।

यस क्षेत्रका चारवटा गाउँबाट उग्रतारा मन्दिरमा देउरो ल्याईन्छ ।(छचोडा, खनमडा, दुमडा र जिलोडागाउँका भ्राण (भण्डार घर) रहेको उग्रतारा भगवती मन्दिरमा यी चारवटै गाउँबाट रतेडी मेलामा बिहान चार बजेको समयमा ‘देउरो’ मन्दिर पुगेपछि ‘दिउसेडी’ मेला सुरु हुन्छ ।

डडेल्धुरा सदरमुकामबाट ४ किलोमिटर टाढा अमरगढी नगरपालिका–८ को सुन्दर डाँडामा अवस्थित महाशक्तिपीठ उग्रतारा भगवतीको मन्दिरमा लाग्ने मेलामा हजारौं दर्शनार्थी पूजा–आराधना गर्न पुग्ने गर्दछन ।

भगवती माताको पूजा बिहान चार बजे धार्मिक परम्परागत रूपमा दाइन दमाह, रुइसिंग, विकुल, भोकर, शंक, घण्टा इत्यादी बाजागाजाका साथ चारवटै गाउबाट माता भगवतीको डोलीसहित देउरो उग्रतारा मन्दिरमा पुगेसँगै भगवती माताको पूजा सुरु हुने अध्यक्ष साँकीले बताए ।

‘बिहानको पूजाआजा पछि दिउँसो भगवती माताको गाँज मन्दिरलगायत सयौँ एकडमा फैलिएको मैदानको विषेश चार स्थानमा बाजागाँजाका साथ घुमाइन्छ । बिहान चारवटै गाउँको भ्रणबाट ल्याइएको माताभगवतीको देउरो बेलुका पुनः चारवटै गाउँको भम्रणमा लगिमेला सम्पन्न हुन्छ ।’ उनले भने ।

किम्बदन्तीअनुसार २५ सय वर्ष पहिला हालको अमरगढी नगरपालिका लटाउली बस्ने साँकी जातिका स्थानीयले हलो जोत्दा ढुंगामा हलोको फाली लागेर रगत बगेपछि देवी उत्पन्न भएर दर्शन दिएपछि त्यस दिनदेखि महागौरी दुर्गा र कालीको स्वरुपमा उग्रतारा भगवतीको पूजा गरिँदै आएको जनविश्वास छ ।